समालोचना
१. विषयप्रवेश
कविता जीवनकै अभिव्यञ्जना हो । जीवन भोग्ने क्रममा मान्छेले सामना गरेका अनुकूलता–प्रतिकूलता, जीवन बाँच्ने उपक्रममा उसले गरेका सङ्घर्षहरु, त्यस क्रममा निर्मित अनेक स्तर र प्रकारका मानवीय सम्बन्धहरु अनि यी सबै परिवेशमा प्राप्त भएका अनुभूतिहरुकै रागात्मक अभिव्यक्ति कवितामा हुन्छ । जीवनको कुरा गर्दा हाम्रो राष्ट्रिय जीवनका परिप्रेक्ष्यमा भिन्न भूगोलको जीवनका आफ्ना विशिष्टताहरु छन् र केन्द्रीकृत राज्यप्रणालीबाट भूगोल र भूगोलविशेष उपेक्षित रहँदै आएको विशेष परिस्थिति पनि त्यत्तिकै महङ्खवपूर्ण सन्दर्भ छ । यी सन्दर्भहरु साहित्यमा अभिव्यक्तिका विषय बन्छन् र खास गरी कवितामा संवेदना र सम्वादका स्रोत बनेका छन् । नेपाली कविताको कुरा गर्दा आरम्भदेखि नै यसमा जीवनका यस्ता विभिन्न सन्दर्भहरु अभिव्यक्त हुँदै आएका छन् । त्यसमा पनि २०५० यता अथवा भनौं जनयुद्धको परिघटनायता यस्ता सन्दर्भहरु बढी महङ्खवका साथ मुखरित भएका छन् । यस क्रममा मधेसको जीवन, मधेसी समाजमा व्याप्त वर्गीय, जातीय, लैङ्गिक लगायत विविध प्रकारका उत्पीडनहरु र केन्द्रीकृत राज्यबाट हुने ÷हुँदै आएको उपेक्षा र उत्पीडनका मुद्दाहरुले यस समयका कवितामा विशेष स्थान पाएका छन् । यस सन्दर्भमा मधेसका उत्पीडित जनताको मुक्तिको प्रश्न पनि त्यत्तिकै महङ्खवपूर्ण रहेको छ र कवितामा यस बारेका सरोकार र सञ्चेतना पनि उक्त सन्दर्भमा प्रासङ्गिक रहेको छ । यस पृष्ठभूमिमा प्रस्तुत आलेखमा २०५० यताका नेपाली कवितामा प्रतिबिम्बत मधेसको अवलोकन गर्दै यसका विषयगत बहुआयामिकता र त्यसले संवहन गरेको वैचारिकताका साथै प्रतिबम्बनको शिल्पगत वैशिष्ट्यको समीक्षा गर्ने काम गरिएको छ ।
२. विधि तथा परिसीमा
प्रस्तुत पत्रमा समीक्षाको विषय बनाइएको मधेसको प्रतिबिम्बनलाई २०५० यताका कवितामा हेर्ने काम गरिएको छ । यो नेपाली कविताको एक प्रकारले समकालीन अवधि पनि हो भने नेपाली राष्ट्रिय जीवनमा घटेका उथलपुथलकारी सामाजिक राजनीतिक घटनाको कालखण्ड पनि हो जसले कविता लगायत सिङ्गो नेपाली साहित्यलाई प्रभावित तुल्याएको छ । जनयुद्धले विकास गरेको वर्गीय, जातीय, लिङ्गीय तथा क्षेत्रीय उत्पीडन विरोधी चेतनासँगै केन्द्रीकृत राज्यप्रणालीसिर्जित विभेदविरुद्धको चेतना यस अवधिका कवितामा ज्यादा मुखर रुपले अभिव्यक्त भएकाले अध्ययनका लागि यस अवधिका कविताको चयन गरिएको हो । मधेसको जीवन र अनुभूति मैथिली, भोजपुरी, अवधि, थारू आदि मधेस क्षेत्रमा प्रचलित भाषामा हुनु स्वाभाविक छ तर ती सबै भाषाका कवितासम्म तात्कालिक पहुँचको अभाव यस लेखकको सीमा हो । यी मध्ये कुनै एक भाषाका कवितालाई मात्र लिनु र कसैलाई छोड्नु पनि न्यायपूर्ण हुँदैन । त्यसैले प्रस्तुत आलेखमा प्रचलित नेपाली भाषामा लेखिएका कवितालाई विवेच्य विषयको समीक्षाका लागि चयन गरिएको छ । नेपाली भाषाका कविताको कुरा गर्दा पनि २०५० यता झन्डै तीन दशकको अवधि पुरा हुन लाग्दै छ र यस अवधिमा सम्बद्ध विषयका कविताको सङ्ख्या धेरै छ । अतः प्रस्तुत अध्ययनमा मधेसको सन्दर्भ÷मुद्दालाई मुखर रुपमा र बढी महङ्खवका साथ अभिव्यक्त गर्ने केही विशिष्ट कवितालाई नमुनाका रुपमा चयन गरी तिनको विश्लेषण गर्दै निष्कर्षमा पुग्ने प्रयत्न गरिएको छ । यस क्रममा विश्लेषणलाई व्यवस्थित र शृङ्खलित बनाउनका लागि सम्बद्ध कवितामा अभिव्यक्त कथ्यलाई आधार बनाई भिन्न–भिन्न खण्डमा छलफल गरिएको छ ।
३. मधेसमा व्याप्त वर्गविभेद, वर्गीय उत्पीडन तथा अभाव र आर्थिक विपन्नताले सङ्कटग्रस्त जीवनको अभिव्यक्ति
नेपालमा सामन्तवादले निर्माण गरेको केन्द्रीकृत राज्यप्रणालीका शासनकालमा पहाड र मधेस समान रुपले सामन्तवादी उत्पीडनको चपेटामा परेका हुन् । पहाडमा बसोबास गर्ने निम्नवर्गीय जनताले स्थानीय सामन्तहरुको आर्थिक सामाजिक शोषण–उत्पीडनसँगै सामन्तवादी राज्यव्यवस्थाबाट पनि शोषण र उत्पीडन बेहोर्दै आएका हुन् । विपन्नताको, अभावको, दुःखको र उत्पीडनको चक्र पहाडमा जस्तै मधेसमा पनि थियो, छ । यो विषय कविहरुका लागि ज्यादै सरोकार र संवेदनाको विषय बनेको हो र बन्दै आएको छ । विशेष गरी नेपाली प्रगतिवादी कविहरुले यस विषयलाई बहुआयामिक ढङ्गले प्रस्तुत गरेका छन् । कवि कृष्ण सेन ’इच्छुक’ले ’आदिवासी दिवस र भिखारीदास सदा’ शीर्षकको कवितामा लेखेका छन्–
पहाड जस्तै गरिब रहेछ मधेस
मधेस जस्तै दुःखी रहेछ पहाड
… … …
कालापार जाने पहाडजस्तै
मधेस पनि जाँदो रहेछ परदेश
र एउटा मजदुरलाई
हुँदो रहेनछ कहीँ पनि विदेश । (इच्छुक रचनावली, भाग २, पृ. १६४)
जीवन धान्नका लागि पहाडका विपन्न मानिस मात्र परदेश जाँदैनन्, मधेसका दुःखी मानिस पनि मजदुरी गर्न परदेश जानै पर्ने विवशता छ । परदेशका गन्तव्यहरु फेरिएका छन्, कालापारका नाम र सीमाना परिवर्तित भएका छन्, कालापार जाने साधन फेरिएका छन् तर आज पनि पहाड र मधेसका युवाहरु मजदुरी गर्न परदेश जानै पर्ने विवशता विद्यमान छ । तिनका लागि देश र विदेशबिचको तात्विक भिन्नता छैन इच्छुकले भनेझैँ ।
भिखारीदासहरु सदाहरु आदिवासी ÷भूमिपुत्र हुन् तर तिनको आफ्नो भूमि छैन खन्नका लागि । उनीहरु अर्काकै खेत खन्न र सम्याउन बाध्य छन् । मालिकको खेत सम्याउँदै उनीहरुले आफ्नो यौवन बिताए तर विषमता र दुःखको पहाड तिनका जीवनमा कहिल्यै सम्मिएन । निकै मार्मिक जीवनदशा हो यो मधेसी विपन्न वर्गीय मानिसहरुको र इच्छुकले त्यही मर्मको जीवन्त अभिव्यक्ति दिएका छन्–
भिन्सारै उठ्यो÷बोक्यो खर्पन र कोदाले
निस्कियो मजदुरीमा
माटो काट्यो÷सम्यायो खेतबारी
तर जति सम्याए पनि÷धर्तीको माटो
सम्मिएन कहिल्यै÷हिमचुलीजस्तै अग्लो
विषमता समाजको । (पृ. १६३)
समय बदलिएको छ । व्यवस्थाहरु बदलिएका छन् तर इच्छुकले भनेझैँ औरही दरबार, खिडौना दरबार, माडर दरबार र बेलहा दरबारको रमझम र तामझाम उस्तै छ, र उस्तै छन् भिखारीदास सदाहरुका दुःख, एकबिहानै तिनले टन्टलापुर घाममा कोदालो र खर्पन बोकेर खेत सम्याउन जानुपर्ने र तिनका छोरानातिले रेल चढेर पुरानो कालापार अथवा हवाइजहाज चढेर नया कालापार जानुपर्ने नियति । वि. सं. २०५७ मा लेखिएको यस कवितामा चित्रित मधेसका विपन्न श्रमजीवी वर्गको अवस्था आज पनि उस्तै छ । त्यसमा आधारभूत परिवर्तन आएको छैन ।
मधेसका भूमिहीन विपन्न मानिसहरुको यस्तो जीवनदशाको मार्मिक अभिव्यक्ति विवश पोखरेलको ’बग्दै बग्दै जाने छोरासित’ शीर्षकको कवितामा पनि देख्न सकिन्छः
जीवनभरि माटोसँग खेले पनि
माटोमै हुर्किए पनि
हामीसँग आफ्नो भन्ने
माटो नै कहाँ थियो र तँलाई गाड्नू ?
तैंले नाङ्गै भुतुङ्गै खेल्ने ऐलानी आँगन
सरकारको थियो
तेरो बाबुले बर्खामा जोतेर
हिउँदमा धानको सिला खोज्ने गरेको खेत
मालिकको थियो
हामीसँग माटो त त्यति मात्र थियो
जुन श्रमको पसिनासँगै
हाम्रो आङमा टाँस्सिएर आएका थिए । (कान्तिपुर कोसेली, २०७४ भदौ १७)
वि. सं. २०७४ को बर्खामा कोशी नदीमा आएको भीषण बाढीले त्यस वरिपरिको जनजीवनलाई अस्तव्यस्त बनायो, धनजनको क्षति भयो र त्यसबाट सबभन्दा बढी प्रभावित विपन्न भूमिहीन परिवारका मानिस भए । उपर्युक्त कवितांशले त्यति बेलाको त्यस दृश्यलाई प्रस्तुत गरिरहेको छ, जहाँ भोक र बाढीको प्रकोपका कारण भूमिहीन परिवारको सानो छोराको मृत्यु हुन्छ तर उसको अन्तिम संस्कारका लागि परिवारसँग भूमि हुँदैन र विवश बाबुले उसलाई एक टुक्रा पुरानो लुगामा बेरेर उर्लिरहेको कोशीमा बगाइदिन्छ । आफ्नो भन्ने माटो नभएको यो परिवार खेतमा खनजोत र रोपाइँ त गर्छ तर मालिकको खेत भएकाले बालीमा उसको अधिकार हुँदैन र हिउँदमा आफै उम्रेका सिला खोज्न बाध्य छ ।
इच्छुक र विवश पोखरेलका उपर्युक्त कविताले मधेसमा रहेको वर्गीय भिन्नता, वर्गीय उत्पीडन तथा त्यस उत्पीडनले विपन्न वर्गका मानिसका जीवनमा सिर्जना गरेका सङ्कट र सन्तापको अवस्थालाई निकै प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । यस्तै वर्गविभेदमय जीवन र त्यसले मान्छेका पहिचान र अस्तित्वमै पारेको सङ्कटको प्रतिबिम्बन रोशन जनकपुरीले ’जनकपुर र जनकपुर’ शीर्षक कवितामा यसरी गरेका छन्–
यो हो हाम्रो जनकपुर
सीताको जनकपुर
त्यो जनककी छोरी सीताको होइन
सीता मरिक डोमिनियाँको
सीता हलखोरनियाँको
र सीता सडकछापको
जसका सन्तानहरु
श्रीमती सीतादेवीहरु
र श्रीमान् रामचन्द्रहरुले
गरेको फोहोर सफा गर्नलाई जन्मन्छन्,
महाभारतमा कवच र कुन्डलसहित
जन्मेको कर्णझैँ
यिनीहरु कुचोसहित जन्मन्छन्, हुर्कन्छन्
र श्रीमान् र श्रीमतीजीहरुको शहर
सफा गर्छन्, टल्काउँछन् ।
कविताको शीर्षकले सड्ढेत गरेजस्तै यसमा दुई वटा जनकपुरको परिवेशलाई प्रस्तुत गरिएको छ । एउटा जनकपुर अभिजातहरुको जनकपुर हो । सीतादेवीहरु र श्रीमान् रामचन्द्रहरुको जनकपुर एउटा छ । यो नेपथ्यमा छ । (जनकनन्दिनी सीताको जनकपुर त झन सुदूर नेपथ्यमा छ) । कविले दिनहुँ साक्षात्कार गर्ने र भोग्ने जनकपुर होः सीता मरिक डोमिनियाको, सीता हलखोरनियाको र सीता सडकछापहरुको अर्थात् दलितहरुको, समाजका तल्लो तहका सीमान्त अवस्थामा पु¥याइएका श्रमजीवी मानिसहरुको । यो त्यो जनकपुर हो जहाँ यिनै सीता डोमोनियाका सन्तानहरु सीतादेवीहरु र श्रीमान् रामचन्द्रहरुले गरेको फोहोर सफा गर्न जन्मिन्छन्÷जन्मिएका छन् । महाभारतका कर्णको कवच र कुण्डलजस्तै यी जन्मिँदै कुचो बोकेर जन्मिन्छन्÷हिँड्छन् । यिनीहरु छातीमा फोहोर निलेरै जन्मिन्छन्, त्यसले छातीलाई पीडा दिन्छ र त्यो पीडा मेटाउन यिनीहरु सस्तो दारू पिउँछन् र पीडा मार्न पिएरै मर्छन् । यो नियति हो एउटा जनकपुरको, खास जनकपुरको, सीमान्तहरुको जनकपुरको । जनकपुरको यस दृश्यले त्यहाँ व्याप्त विषम वर्गभेद, त्यसले सिर्जना गरेका कुरुप परिवेश र समाजको संवेदनहीनतालाई उद्घाटित गर्दछ । कविता भावमय छ र पाठकमा संवेदना जगाउन सक्षम छ । त्यति मात्र छैन, तीव्र वर्गबोधी सञ्चेतनाको यस कविताले सामाजिक विडम्बना र बेथितिप्रति सोच्न र चिन्ता गर्न पनि बाध्य बनाएको छ ।
मधेसको जीवनलाई कवि रोशनले नजिकबाट हेरेका छन् किनभने उनी स्वयं मैथिलभाषी र मिथिलावासी हुन् । त्यसैले मधेसको तीव्र वर्गभेदी समाजको गहिरो बोधबाटै उनका कविता र वैचारिकीसमेतको निर्माण भएको छ । मातृभाषी समुदाय भिन्न भए पनि मधेसको जीवनसँग निकट रुपले गाँसिएका र त्यसका संवेदनासँग जोडिएका अर्का प्रखर कवि हुन् विमल निभा । उनको आगोनेर उभिएको मानिस (२०३९) पहिलो कवितासङ्ग्र्रहका ’घुर’ जस्ता कवितामा वर्गविषमताले निर्माण गरेको मधेसको दुःसाध्य जीवनको चित्रण छ नै, २०७० को दशकमा आइपुग्दा पनि उनका कवितामा मधेसको संवेदना अभिव्यक्त भइरहेकै छ । जीवन सङ्घर्ष हो, मधेसको जीवन पनि यो सङ्घर्षदेखि मुक्त छैन । त्यसैले कवि विमल निभाले स्वयं घोषणा गरेझैं उनका कवितामा जीवन सङ्घर्षको अभिव्यञ्जनाको समाप्ति सम्भव छैन । उनले आफ्नो पछिल्लो कविता ’चमरी गाई’ (२०७७) मा मधेसको जीवनलाई उच्च पहाडको चमरी द्धज्ञ प्रवर्तक
गाईसँग तुलना गरेका छन् । चलचित्रमा चमरी गाई देखे पनि प्रत्यक्ष नदेखेका निभाले मधेसमा (त्यहाँको जीवनमा) चमरी गाई देखेर चकित भएका छन् । उनी लेख्छन–
आफ्नो पिठ्युँमा
अजङको पहाड बोकी
उभिएको चमरी गाईलाई
देखेर मधेसको भूमिमा
चकित छु आज म
र, हेर्छु गएर वर
त्यो कुनै पहाड नभएर
ठुलो खाले टोकरी–
जसमा भोको थाल, कोदालीको धार, खाली खरिहान, हँसियाको मुठ, घाँसको बोझा, बाँसको भित्ता, पसिनाको लोकगीत, बन्चरोको फलाम, बयलगाडीको थकान, खपडाको छानो, हलोको सास, ढोलकको थाप, माटोको रोटी, गुइँठाको आगो–
… … …
कुनै सपना होइन
साँच्चै भनिरहेछु,
मैले मधेसमा देखें
चमरी गाई । (डेगेन्द्र राजवंशीको आत्महत्या, पृ. २८)
सुन्दर कविकल्पना । चमरी गाईको एउटा सकल बिम्ब, जसमा प्रतिबिम्बत छ निम्नवर्गीय मधेसको सकल जीवन । कविताको ढाँचा÷शैली परम्पराभन्दा केही भिन्न अवश्यै छ– तर यसमा संवेदना छ र बिम्बको कला छ, अनि कथनको विदग्ध शैली जसले यसलाई कविताको हैसियत प्रदान गर्छ । मुख्य र महङ्खवपूर्ण कुरा, यसमा अथक परिश्रम गरेर पनि भोक र दुर्भिक्ष भोग्न विवश थकित र गलित श्रमजीवी मान्छेको त्यस्तो जीवनको बिम्बाड्ढन छ, जसले चमरी गाईको उँचो पिठ्युँजस्तै आफ्नो पिठ्युँमा भोक, अभाव, श्रम, थकान, श्रमका औजार र निरन्तर श्रमको टोकरी बोकेर जीवन बाँचिरहेको छ । मधेसको महलमा बस्ने जमिन्दारको जीवनभन्दा नितान्त भिन्न अहोरात्र दश नङ्ग्र्रा खियाउन बाध्य र त्यसो गर्दा पनि भोक र अभावमा, चुहिने छानामुनि रात बिताउन विवश मधेसका भुइँमान्छेको चित्रको प्रतिबिम्बन यस कविताले गरेको छ ।
तराईमा निम्नवर्गीय श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने एउटा समुदाय कमैयाहरुको पनि हो । अत्यन्त विपन्न आर्थिक जीवन बाँचिरहेको यो समुदाय कस्ता कमजोर छाप्राहरुमा जीवन गुजार्न बाध्य छ भन्ने कुरालाई सुमन पोखरेलले ’कमैया बस्तीमा’ शीर्षकको कवितामा यसरी प्रस्तुत गरेका छन्–
म छुट्याउन सकिरहेको थिइन
उनीहरुका भाग्य र उनीहरुका छाप्रा अड्याइरहेका
ती झिना झिक्राहरुमध्ये
कुन बढी विश्वासयोग्य थिए ।
उनीहरुले पछारेको घिनलाग्दो इतिहास
र, उनीहरुलाई जिस्क्यारहेको निर्लज्ज वर्तमानमध्ये
कुन अधिक वीभत्स थियो
मैले बुझ्न सकिरहेको थिइन । (जीवनको छेउबाट, पृ. ३२)
एकातिर साहुको सुन्दर भव्य महल छ, तिनकै छायामा चुहिने र हावाले उडाउने कमैयाहरुका छाप्रा छन् जसले न पानी छेक्छ, न हुरी थाम्छ । कविले कमैयाका छाप्रा अड्याइएका झिना झिक्रा र तिनका भाग्यमध्ये कुन बढी विश्वासयोग्य छन् भन्ने प्रश्न र संशय दुबै खडा गरेर दुबै विश्वासयोग्य नभएको ध्वन्यार्थ प्रस्तुत गरेका छन् । झिना झिक्राले अड्याइएका भाग्य र छाप्राको बिम्ब र यससँग जयडिएर आएको सन्देह अलड्ढारयुक्त यस कविताले तराई मधेसमा वर्गीय विभेदका साथै आर्थिक रुपले अत्यन्त विपन्न कमैयाहरुको कष्टकर एवं असुरक्षित जीवनलाई निकै प्रभावकारी ढङ्गले अभिव्यक्त गरेको छ । कमैयाहरुको यस्तै दयनीय अवस्थालाई कवि निभा शाहले ’अनिदो बस्ती’ कवितामा यसरी प्रस्तुत गरेकी छन्–
दलदलमा घर बनाउँदै छन् ती, दलदलमा
दलदलमा कहीँ घर बन्छ ?
… … …
आँसु बेच्छन् ती, आँसु
आफ्नै आँखाको आँसु
आँसु बेचेर कहीँ जीवन चल्छ ? (समकालीन प्रतिनिधि नेपाली कविता, पृ. ९७)
दलदल प्राकृतिक पनि हो र आर्थिक पनि हो । घर नाउँको छाप्रै बनाउनका लागि पनि सुरक्षित जमिन छैन सुकुम्बासी कमैयाहरुसँग । ती कमजोर दलदलमा छाप्रो बनाउन विवश छन् । अनि आर्थिक रुपले पनि शोषण र अभावको दलदलमा सधैं डुबेका छन् जसबाट ती कहिल्यै बाहिर निस्किन सक्दैनन् । आफ्नै आँखाबाट बगेका आँसुले त्यो दलदल झन भासमय बन्दो छ र जीवन त्यही भासमा डुबेको छ । सुकुम्बासी कमैयाहरुको यस्तो त्रासद जीवनका कारकप्रति कविको आक्रोश छ र आवेगपूर्ण भाषामा कवितामा व्यक्त भएको छ ।
दिनरात परिश्रम गरेर पनि दुई छाक टार्न नसकेर जीवनमा अभाव र दुःख झेलिरहनु मधेस तराईका बहुसङ्ख्यक निम्नवर्गीय परिवारको नियति जस्तै बनेको छ । विशेषतः प्रगतिवादी कविहरुले यस पीडाको सवर्गीय बोध गरेर कविता लेखेका छन् । माथिका कविता यसकै उदाहरण हुन् । यसै पङ्क्तिमा कवि प्रथाको ’शिरपटियाको शिर’ कवितालाई पनि लिन सकिन्छ । शिरपटिया त्यस्तो भुइँमान्छे हो जो जमिनमा निष्ठापूर्वक श्रम गर्छ, पसिना बगाउँछ तर प्रतिफलमा ऊ सधैं ठगिन्छ । उसको दैनिकीबारे कवि लेख्छन्–
ऊ बयल नार्छ
र हिउँद–बर्खा नभनी खेत जोत्छ
थाहा छैन शिरपटियालाई
कसले तर मारिरहेछ श्रमको बजारमूल्यमाथि ?
उसलाई त रटाइएको छ
’श्रम गर तर फलको आशा नगर !’
पुस्तौंदेखि नै
यसैगरी सुकिरहेछ–पसिनाको बिरिङ खोला ! (युद्धशिविरमा हिँडेको मान्छे, पृ. ३९–४०)
सदियौंदेखि शिरपटियाजस्ता मानिसहरु र तिनको परिवारले यही दैनिकी भोगिरहेका छन् । श्रमको मूल्यबाट ठगिएका शिरपटियाहरु आदर्शवादी सामाजिक भाष्यबाट निर्देशित छन् र निष्काम पसिनाको बिरिङ–खोला बगाएर पनि शान्त छन् । वर्गभेदी र उत्पीडनकारी सामाजिक व्यवस्थाप्रतिको चेतना जागृत भइनसकेका शिरपटियाहरु उक्त व्यवस्थाप्रति प्रतिरोधी भइसकेका छैनन् तर कविलाई आशा छ, एक दिन यी शिरपटियाहरु आफूमाथि भइरहेको र हुँदै आएको उत्पीडन र ठगीको हिसाबकिताब माग्ने छन् र त्यस दिन देशको नयाँ इतिहास लेखिनेछः
कति जूनहरु अस्ताए
यो दमलाको अग्लो छायाँमा डुबेर
सम्झनाको कुनै हिसाब किताब छैन–
शिरपटियासँग
जुन दिन शिरपटियाले शिर उवठाएर
खोल्नेछ– पटियाँभित्रको आफ्नै बहीखाता !
सायद
त्यही दिन लेखिनेछ
यो देशको नयाँ इतिहास पनि ! (पृ. ४३)
कवि प्रथाको शिरपटिया होस्, इच्छुकको भिखारीदास सदा होस्, रोसन जनकपुरीको सीता डोमोनिया र तिनका सन्तानहरु होऊन् अथवा विमल निभाले देखेको पिठ्युँमा भोक, अभाव, थकान र निरन्तर श्रमको टोकरी बोकेर जीवन बाँचिरहेको विपन्न श्रमजीवी मधेसी होस्– यी सबै मधेसका त्यस्ता श्रमजीवी हुन्न जो चरम आर्थिक विपन्नताका सिकार छन् र राज्यद्वारा सधैं उपेक्षित छन् । आफ्नै देशमा सहज जीवन बाँच्न जब उनीहरु असमर्थ हुन्छन्, मिटर ब्याजले भएको सानो आँगन पनि खोसिने र टेक्ने थलो पनि मेटिने खतरा जब विकराल बन्दै जान्छ, तब कवि इच्छुकले भनेझैं कसरी एउटा निरीह बाबु आफ्नो छोरालाई अरबको कालापार पठाउन बाध्य हुन्छ, यो जान्दाजान्दै कि उसको प्रत्यागमन यस्तै सजीव नहुन पनि सक्छ । यस त्रासदीको बोध र स्वीकारोक्तिका जगमा छोरालाई ’भोग’ चढाउन बाबुआमाहरु विवश रहेको विडम्बनालाई कवि हेमन्त गिरीले ’भोग’ शीर्षकको कवितामा यसरी प्रस्तुत गरेका छन्ः
गरीबहरु रहर गर्दैनन् छोरा,
गरीबहरु भाकल गर्छन !
ती निर्दोष परेवाहरु,
ती पेट काटेर चढाइएका भेटीहरु
अनि
ती रगत र पसिनासँग मुछिएका सपनाहरु
सबको साउँ–ब्याज चुकाउन भनी !
आज उपस्थित छु विमानस्थलमा
सिंगो छोरो नै ‘भोग’ चढाउन भनी ! (फेसबुक वालबाट)
जिन्दगीको चर्को विपन्नतालाई शान्त पार्न छोराको भाकल गर्दै आएको भुइँमान्छे भाकल गर्दागर्दै आज छोराकै ’महाभोग’ चढाउन विमानस्थलमा उपस्थित भएको छ किनभने अब भोग चढाउनका लागि उससँग बाँकी केही छैन । यो सामाजिक परिपाटी, यो राज्यव्यवस्था विपन्न÷भुइँमान्छेहरुको भोगमा अडिएको छ । यिनको भोग लिएरै उसको क्षुधा शान्त हुन्छ । पटपटी फुटेका पैतालामा चप्पल दिलाउन नसक्ने यस्तो व्यवस्थाका विरुद्ध मधेसको विपन्न बाबु पुस्ता विद्रोही बनिसकेको छैन; यद्यपि छोरो पुस्तामा मौन विद्रोह अङ्कुुरित भएको देख्छन् कवि र बाबु–छोराको संवाद लेख्छन् यसरी–
तेरा कलिला आँखाले हेरिरहन्थे
मेरा पटपटी फुटेका पैतालाहरु
र
सोधिरहन्थे मौन प्रश्नहरु–
‘बाको खुट्टामा चप्पल
कुन व्यवस्थाले दिलाउँछ ?’
प्रश्नहरु विद्रोह रहेछन्
त्यतिबेला बुझ्न सकिन मैले !
ढाँटिरहें इशारै इशारामा तँलाई–
‘मेरा खाली पैतालाले
देशको माटो टेकिरहेछन् बेटा,
म यसैमा खुसी छु !’
बनिन विद्रोही र गरिन प्रश्नहरु
खनिरहें एकोहोरो
आशाको बाँझो जमीन !
हिसाब नै गर्ने हो भने
आधा पृथ्वी खनें हुँला पुरै जीवन
तर
एक इन्च पनि बढेन तँ खेल्ने आँगन !
र त
बनिस् होला तँ बिद्रोही
र अटाइनस् होला आँगनमा !
जीवनभरिको श्रमको हिसाब गर्दा आधा पृथ्वी खन्न भ्याएको तर त्यति माटो खनिसक्दा छोरो खेल्ने आँगनको क्षेत्रफल एक इन्च पनि नबढेको यस बिम्बले श्रमजीवीका जीवनको दारुण यथार्थलाई संवेदनाका चरममा पु¥याएर अभिव्यक्त गरेको छ । कविले यहाँ शब्द र संवेदनालाई निकै कुशलतापूर्वक संयोजन गरेका छन् । यहाँ विद्रोहको सन्दर्भ पनि छ । बाबुका दृष्टिमा यो आँगन, यो निर्दयी माटो (व्यवस्था ?) छोडेर जानु एक प्रकारको विद्रोह हो र त ऊ छोराको बहिर्गमनलाई विद्रोह ठान्छ तर उसलाई यो पनि थाहा छ, छोराको यो बहिर्गमन एक प्रकारको महाभोग हो, यस पीडक परिपाटीका लागि । त्यसैले ऊ अनुभव गर्छः
मलाई थाहा छ छोरा,
यो ‘महाभोग’को लागि
म सकिनसकी ‘उभिएको’ तस्वीर
कसैले खिचिरहेछ पछाडिबाट !
कसले खिच्ला त्यो दिनको तस्वीर
जुन दिन तँ, म वा तेरी आमा
बन्धकी आँगनमा
कहिलै ‘नउभिने’ गरी निदाइरहेका हुनेछौं !
कविले बोध गरेको जीवनका पीडाको चूडान्त अवस्था हो यो । देश छाडेर जाने विमानस्थलको दृश्य त कसैले खिचिरहेको छ (जो पछि राष्ट्रिय पत्रिकामा पनि छापियो) तर सायद त्यस माटोमा त्यति बेला त्यो तस्विर खिच्ने कोही हुने छैन, जतिबेला ’बन्धकी आँगन (माटो) मा कहिल्यै नउठ्ने गरी त्यो छोरो, उसको बाबु वा उसकी आमा चिरनिद्रामा सुतिरहेका हुनेछन्’ । यो विपन्न नागरिकको महाभोग हो, जीवनका लागि व्यवस्थालाई चढाइएको जीवनको महाभोग । कविले यी पङ्क्तिका माध्यमबाट विभेद र अन्यायका जगमा अडिएको सामाजिक राजनीतिक परिपाटी÷व्यवस्थाप्रति निकै ठुलो प्रहार गरेका छन् । यहाँ संवेदनाको मर्मभेदी शीत पनि छ र मानवद्वेषी कुरुप परिपाटीमाथि उष्ण प्रपात पनि छ ।
४. मधेसमा विद्यमान नारीमाथिको लैङ्गिक विभेद र उत्पीडन
नारीमाथिको लैङ्गिक उत्पीडन संसारकै समस्या हो, हाम्रो देशको पनि ज्वलन्त समस्या हो र मधेसका सन्दर्भमा पनि यो त्यतिकै ज्वलन्त समस्या हो । महिलाहरुको कुरा गर्दा तराई मधेसमा महिलामाथिको उत्पीडन बहुआयामिक छ र बढी गम्भीर पनि छ । महिलाहरुलाई र खास गरी विपन्न वर्गका तथा जातीय श्रेणीकरणमा तल्लो ठानिएका जातिका महिलाहरुलाई बोक्सीका आरोपमा शारीरिक यातना दिने, गाउँनिकाला गर्ने जस्ता अमानुषिक उत्पीडनका घटनाहरु तराई मधेसमा ज्यादा घट्ने गरेका छन् । समकालीन कविहरुको चासो यसतर्फ पनि गएको छ र यसलाई संवेदनशील रुपमा उनीहरुले कवितामा प्रस्तुत गरेका छन् । ’सत्यदेवी बोल्छिन’ कवितामा कवि केशव सिलवाल लेख्छन्ः
अब सत्यदेवी बोल्छिन्–
यो देशमा
के मानिसको बिष्टा खाएर
अपमानित हुन जायज छ ?
के तिमी कल्पना गर्न सक्छौ ?
कसरी खाँदै छु म
मानिसको बिष्टा ?
त्यसको स्वाद कस्तो हुन्छ
के तिमी सोध्ने हिम्मत गर्छौ मलाई ? (धारिला मानिसहरु, पृ. ८)
बोक्सीका आरोपमा मान्छेको बिस्टा खुवाइएकी सत्यदेवीलाई नै वाचक बानएर प्रस्तुत गरिएको यस कवितामा प्रश्नैप्रश्न छन् । आजको सभ्य भनिएको समाजले कसरी महिला र त्यसमाथि विपन्न तथा सामाजिक दृष्टिले शक्तिहीन सीमान्त अवस्थाकी महिलालाई मानिसको बिस्टा खुवाउने दुष्कर्म गर्छ ÷गरिरहेको छ भन्ने यथार्थको अभिव्यक्ति मात्र छैन, यसमा त्यस समाज र सत्तामाथि कठोर व्यङ्ग्य, प्रश्न र प्रहार पनि छ।
मधेसी समाजमा महिलाहरु पुरुषका अधीनस्थ बनाइएको र तिनका जीवनबारे निर्णय गर्ने अधिकार तिनमा नभई पुरुषहरुमै रहेको सन्दर्भलाई आहुतिले ‘लक्ष्मिनिया ! तिम्रो लोटा खोइ’ कविताले यसरी प्रस्तुत गरेका छन्ः
तिम्रो बाबु र बाबुकै उमेरका बुज्रुकहरु
उनीहरु हत्केलामा निर्दयतापूर्वक सुर्ती माडिरहन्छन्
तिमी लहरीको झाङ पन्छाएर
उनीहरुलाई हेरिरहन्छे ऊ
सुर्तीको धुलो फाल्न जब
प्याट प्याट बज्दछ बुज्रुकहरुको हत्केला
अलिकति धुलो गिर्दछ भुइँमा, उड्दछ हावामा
सुर्तीको धुलोसँगै गिर्दछ तिम्रो आधा अस्तित्व
र, बिलाउँछ मधेसको तातो हावामा !
तिम्रो बाबु हत्केला अघि सार्छन्
बुज्रुकहरु हत्केलाबाट सुर्ती टिप्छन्
तिम्रो जिन्दगीको फैसला सकिन्छ
सुर्ती माडेर फाँको मार्दा
तिलक र दाइजोमा
तिम्रो मोलतोल पनि सकिन्छ । (गहुँगोरो अफ्रिका, पृ. १७–१८)
मधेसको समाजमा (खास गरी मधेसी समुदायमा) विवाह सम्बन्ध स्थापित गर्दा सम्बन्धित महिलाको (र घरका महिला सबैको) कुनै भूमिका हुँदैन, तिनलाई कुनै सोधनी हुँदैन । सुर्ती माड्दामाड्दै र फाँको हाल्दाहाल्दै अडहर बारीमा दुई थरी पुरुष कुटुम्बहरु बसेर निर्णय गर्छन् र महिलाले शिरोधार्य गर्नुपर्छ । घरका छोरीबुहारी सधैं पुरुष आँखाका निगरानीमा रहनुपर्छ र पर्दाबाहिर आउनु हुँदैन । पुरुषहरु आफूलाई घर परिवारको मुली, मालिक, निर्णयकर्ता ठान्छन् र महिलाको काम वा हैसियत भनेको तिनको इज्जत राखिदिने र तिनको वंश धान्नका लागि सन्तान (त्यसमा पनि छोरा) जन्माइ दिने मात्र हो । कविकै शब्दमा “पुरुषहरुका भाला जस्ता आँखाहरु महिलामाथि निगरानी गरिरहेका हुन्छन्” । उनीहरु घरका लक्ष्मी ठानिए पनि दोस्रो दर्जामा उनीहरुलाई राखिएको छ । उनीहरु पर्दाभित्र बस्नुपर्छ । पर्दाबाहिर आउन अर्थात् घरबाहिर आउन, आफ्ना इच्छा, विचार, चाहना, अभिमत व्यक्त गर्न उनीहरुलाई छुट छैन । त्यसो भयो भने पुरुषहरुका दृष्टिमा घरपरिवारको इज्जत जान्छ । लोग्नेका, ससुराका, ससुराको सारा खानदानको नाक उनीहरुले होइन, बुहारीले÷महिलाका आचरणले राखिदिनु पर्छ । पुरुषहरुका कुनै कृत्यले खानदानको इज्जत जाँदैन तर महिला घुम्टोबाहिर आए भने इज्जत जान्छ । यसले पुरुषप्रधानतालाई सङ्केत गर्दछ । साथै पितृसत्ताले लादेको विभेदजन्य लैङ्गिक संस्कृतिको व्याप्ति र वर्चस्वलाई पनि यसले उद्घाटित गरेको छ ।
मधेसी समाजमा महिलाहरु मध्ययुगीन सामन्तवादी सामाजिक संस्कृतिबाट दमित रहेको अर्को उदाहरणका रुपमा त्यहाँ शौचसंस्कृतिमा महिलामाथि गरिने भेदभावलाई प्रस्तुत गरिएको छ । कवितामा गरिएको वर्णन अनुसार महिलाहरु पनि खुला शौचमै जान्छन् तर उनीहरुलाई पुरुषहरुले जस्तै लोटा लिएर जाने अधिकार छैन । उनीहरु घर पछाडि आएर सरसफाइ गर्नुपर्छ । यो सामान्य प्रसङ्ग होइन, त्यस समाजमा व्याप्त विभेदकारी संस्कृति हो जसले महिलालाई पुरुषका तुलनामा कसरी तल्लो दर्जा दिइएको छ भन्ने स्पष्ट हुन्छ । यसरी प्रस्तुत कविताले मधेसमा महिलामाथि महिला हुनुकै कारणले गरिने भेदभाव र तीप्रति पुरुषसमाजको संवेदनहीनतालाई निकै प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ।
५. बाढीको प्रकोप र सीमा अतिक्रमणको पीडा खेपिरहेको मधेस
पहाड जस्तै मधेसले पनि बेलाबेलामा बाढीको प्रकोप बेहोरिरहेको छ, ठुलो धनजनको क्षति बेहोर्न विवश छ । यो केवल प्राकृतिक कारणले मात्र वा जलवायु परिवर्तनका कारणले मात्र भइरहेको छैन, नेपालका नदीनाला र सीमावर्ती क्षेत्रमा भारतले आफ्ना स्वार्थअनुकूल बाँध्ने गरेका बाँधहरुका कारण पनि मधेसको नेपाली जनजीवन धरापमा पारिरहेको छ । यसका लागि नेपाली शासकहरुको अदूरदृष्टि र भारतीय शासकहरुका अगाडिको समर्पणवादी आचरणले उपयुक्त आधार प्रदान गर्ने गरेको छ । कोशी सम्झौताका जगमा निर्मित कोशीबाँध होस् अथवा लक्ष्मणपुर, खुर्दलोटन र राप्तीजस्ता सीमावर्ती भूभागमा भारतीय पक्षले बाँधेका बाँधहरु होउन्, तिनले बर्सेनि नेपाली गाउँबस्तीहरु डुबानमा पारिरहेको घटनाले यही पुष्टि गरिरहेको छ । कवितामा मधेसको कुरा गर्दा कविहरुको ध्यान यसतर्फ पनि गएको छ र विपदाको यस पाटोले पनि कवितामा स्थान पाएको छ ।
कवि कृष्ण सेन इच्छुकको प्रसिद्ध ’कोशी टप्पु’ कविता यस सन्दर्भमा अत्यन्त सान्दर्भिक र अविस्मरणीय छ । कोशी सम्झौताले नेपाली भूगोल र जीवनलाई कसरी एउटा उपनिवेश जस्तो बनायो जहाँ नारीहरुको अस्मिता असुरक्षित बन्यो, परिवारहरु भूमिहीन बने, बनाइए, पराश्रितता र पराधीनतासँगै जलप्रकोपको ताण्डवका कारण समग्र जीवन असुरक्षित बन्न पुग्यो भन्ने यथार्थलाई उनले यस कवितामा बिम्बित गरेका छन् । उनी लेख्छन्ः
देशको छातीमा घनले ठोकेको
अपमानको गहिरो किलोजस्तो
यो कोशी तटबन्ध
असमान सन्धिको रक्षाकवच पहिरेर
जन्माइरहेछ मुलुकभित्र
नौलो उपनिवेशजस्तै
नौलो विस्थापित मुलुक
… …. …
जहाँ बाढी छ, बिजुली छैन
बस्ती छ, विकास छैन
जमिन छ लालपुर्जा छैन
वनको आरक्ष छ
तर जनधनको सुरक्षा छैन
मानौं अझै स्वतन्त्र भइनसकेको
पराधीन र पराश्रित
यो पुर्वी टिमोर हो ÷ या मकाउ द्विप हो
यो कोशी टप्पु । (इच्छुक रचनावली भाग २, पृ. १६७)
कोशी टप्पुको आरक्ष जनतामैत्री छैन र त्यसमा पनि महिलामैत्री त झनै छैन । त्यहाँ महिलाको अस्मिता सधैं असुरक्षित बनिरहेको सन्दर्भलाई यसै कवितामा इच्छुकले यसरी प्रस्तुत गरेका छन्ः
जहाँका महिलाहरु सधैं
नारीअस्मितालाई हत्केलामा राखेर
सन्त्रासमा बाँच्ने गर्छन्
जहाँका बासिन्दाहरु सधैं
अनिश्चित र असुरक्षित जिन्दगीको
त्रासदी बिकेर
कुनै अनागरिक जस्तै
सुनिश्चित ठेगान खोज्ने गर्छन् । (पृ. १६८)
राष्ट्रको मूलधारबाट उपेक्षित र केन्द्रीय शासनका दृष्टिमा महङ्खवहीन ठानिएको कोशी सिमसार क्षेत्रमा व्याप्त आवास, आजीविका, अस्मितामाथिको असुरक्षाले दिएको पीडालाई कविले निकै मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । अझ त्यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन, विपन्न वर्गका मानिस तथा तिनका पनि महिला दोहोरो तेहरो उत्पीडनमा परेको कुरालाई कविताले उद्घाटित गरेको छ । यसले कोशी टप्पु क्षेत्रमा मात्र नभई सीमावर्ती अन्य क्षेत्रमा समेत विद्यमान यस्तै पीडालाई पनि आवाज दिएको छ ।
६. विभेद र अन्यायका विरुद्धको सङ्घर्षचेत र विद्रोहका लागि आह्वान
मधेसमा बहुसङ्ख्यामा विपन्न वर्गीय समुदायको बसोबास छ र तीमध्ये ठुलो सङ्ख्यामा मालिकका खेतमा मजुरी गरेर जीवन निर्वाह गर्ने भूमिहीन परिवारहरु छन् । त्यसपछि सानो आँगनसम्म भएको वा सानो टुक्रो जमिन भएको भए पनि मालिककहाँ बन्धकी राखेर मालिककै जमिनमा पसिना बगाएर मालिककै दयामा जीवन गुजारिरहेका मानिसहरुको समुदाय छ । यी सबै श्रमशोषणका सिकार छन् र निकै हीनतर जिन्दगी गुजारिरहेका छन् । त्यसमाथि जातीय उच्चता र निम्नताको विभेदकारी संस्कृतिले एकथरी यिनै विपन्न वर्गका मानिसलाई अछुतको बिल्ला भिराएर चरम जातीय÷वर्णभेदी उत्पीडन पनि गरिरहेकै छ । यसका साथै लैङ्गिक आधारमा मधेसी समुदायमा महिलाहरु अझ बढी पीडित छन् तेहरो शोषणको मार खेपिरहेका छन् । माथि विवेचना गरिएका कविताले यिनै तथ्यको पुष्टि गर्छन् । मधेसी श्रमजीवी तथा सीमान्त समुदाय राज्यबाट, मधेसी मालिकहरुबाट, कथित उच्चजातीय अहङ्कारबाट र पितृसत्ताबाट– अनेक तहमा, अनेक किसिमले पीडित छ । अब प्रश्न छ, यस अन्यायको अन्त्य कसले कसरी गर्ने ? यस नियतिका विरुद्ध जाग्ने कि नजाग्ने ? सुन्दर, मुक्त जीवनको प्राप्तिका लागि आवाज उठाउने कि नउठाउने ? कविहरु केवल स्रष्टा मात्र हुनु पर्याप्त छ ? कविको सङ्ल्पात्मक भूमिका हुन्छ कि हुँदैन ?
समकालीन कविताको र खास गरी समकालीन प्रगतिवादी कविका कविताको महङ्खवपूर्ण पक्ष के छ भने यिनमा यथार्थबोध (संज्ञानचेत) मात्र छैन, परिवर्तनको तीव्र आकाङ्क्षी विद्रोहचेत पनि छ । संसार बदल्नुपर्ने हुटहुटी छ र त्यस क्रममा मधेसका शिरपटियाहरु वा भिखारीदासहरु वा सीता डोमिनियाहरुको जीवनलाई बदल्नुपर्ने तीव्र चाहना छ । यसका लागि कतिपय कवितामा सीता डोमिनियाहरुलाई विद्रोही बनाइएको छ, कुनै कवितामा कवि स्वयं विद्रोही बनेर शिरपटियाहरुलाई विद्रोहका लागि आह्वान गरिएको छ ।
विद्रोही चेतनाकी अग्रणी कवि निभा शाह आफ्ना कवितामा मधेसका केही ’टिपिकल’ पात्र उभ्यउँछिन् । उनी तिनका दुर्दान्त जीवनदशाको फेहरिस्त प्रस्तुत गर्नतिर लाग्दिनन् । उनलाई तिनको जीवदशा तन्नम हुनु÷बनाइनुमा आक्रोश छ; त्यसका प्रतिकारका लागि उनी ती सबलाई विद्रोही अवतारमा प्रस्तुत गर्छिन् र व्यवस्थामाथि झिर रोप्छिन् । ’चुलिया’ शीर्षकको कवितामा उनी लेख्छिन्ः
चुलिया ! तिमीलाई
जून टेकाउँछु भन्नेहरु
चुलियाकै टाउको टेकेर
जून टेकिरहेछन् ÷तारा छामिरहेछन् ।
चुलिया आफ्नै
सुकेको आन्द्रा छामिरहेछ
आगो छामिरहेछ ।
चुलिया छामोस् पनि के ?
सुकेका आन्द्राहरुले
पानी होइन, आगो छाम्छ । (मनसरा, पृ. १०२)
’बुधवा’ शीर्षकको अर्को कवितामा उनी यस्तो लेख्छिन्ः
खेत रोप्ने भोका पेटहरु
चिच्याइरहेछन्–
आगो… आगो… आगो
कपास छर्ने नाङ्गा आङहरु
चिच्याइरहेछन्–
आगो… आगो… आगो
तिमी नजलेर
को जल्छ बुधवा
तिमी नै दियालो हौ । (मनसरा, पृ. ७५)
निभाका कविताका यी ’टिपिकल’ पात्रहरु र कवि निभाका बिच दूरी छैन । तराई मधेसमा सदियौंदेखि जमिन्दारहरुका शारीरिक आर्थिक शोषणमा परेका यी बुधवा र चुलियाहरुसँग उनको आत्मीय निकटता छ र तिनका पीडाको समबोध छ । त्यसैले कविचैतन्यका अन्तर्तहबाटै आक्रोश र विद्रोहको मुस्लो बाहिर निस्कन्छ र सुनामी मच्चाउन खोज्छ । ’बुधनी’ शीर्षकको अर्को कवितामा उनी यसरी नै प्रस्तुत भएकी छन्–
अचेल जङ्गलबाट
सहर पसेका÷ महल बसेका
लालख्वामितहरु भनिरहेछन्–
बुधनी,
तिमी बुद्ध जन्माऊ !
बुधनी रानी हो र !
बुद्ध जन्माउँछे ?
बुधनी दास हो
दासहरु स्पार्टाकस जन्माउँछन्
बुधनी स्पार्टाकस जन्माउँछे । (मनसरा, पृ. १७)
विद्रोहको र कविताको एउटा विशिष्ट बान्की छ निभाका कवितामा, गजबको फ्युजन भनौं । लयको लम्बेतान आलाप छैन । छोटा पङ्क्तिहरुमा शाब्दिक आवृत्तिबाट लय र व्यञ्जनामा विद्रोहको संश्लेषणबाट विद्रोही कविताको विशिष्ट नमुना बनेका छन् उनका कविता । मधेसी समाजमा नारीमाथि पितृसत्ताको उत्पीडन निकै चर्को छ । जाति, धर्म, देउता, दहेज, सामाजिक संस्कृति आदिका नाउँमा पितृसत्ताले नारीका आचरणबारे निर्माण गरिदिएको साँध सीमाना निकै कठोर छ । त्यो सजिलै लङ्घनीय छैन÷हुँदैन । लङ्घन गर्न खोज्दा जीवनदाह गर्नुपर्ने अवस्था आइपर्छ । निभालाई यस अन्यायले कतिसम्म आक्रोशित र विद्रोही बनाएको छ भन्ने कुरा उनको ’दैया’ कविताका यी पङ्क्तिमा देख्न सकिन्छ–
देउतासँग सारै डराउने÷मेरी दैयाको मुखभित्र
एक दिन मनुस्मृति पसेछ÷मेरी दैया बर्बराउन थालिन्
सिलौटो पखाल सिलौटो÷सिलौटोलाई खुर्सानीले पोल्छ
सिलौटोलाई खुर्सानीले पोले ÷ आइमाई र डोमको जात हाँस्छ
आइमाई र डोमको जात हाँसे ÷ देउता रिसाउँछन् नानी देउता ।
मैले भनेँ ÷ यो के भनेको दैया ?
मेरो दैया बर्बराउन थालिन् ÷तँ पनि दुईचार वटी छोरी पाएस्
ती छोरीलाई पोलेर खाएस् ÷ जसरी मैले मेरी छोरीलाई
धर्मको नाममा ÷ प्रेमको नाममा
जातिको नाममा ÷ दहेजको नाममा
डल्लै संस्कृतिकै नाममा पोलेर खाएँ ÷
तँ पनि मजस्तै दैया भएस् ÷ छोरी पोलेर खाएस् ।
दैया (आमा) पात्रको यस बर्बराहटमा चरम विद्रोह सन्निहित छ । कतिपय समीक्षकले यसलाई नारीवादी कविता मात्र देख्न सक्छन् तर यो विशुद्ध नारीवादी कविता होइन, स्त्रीद्वेषी मनुवादी पितृसत्ताका साथै यो सामन्तवादले निर्माण गरेका धर्म, देवीदेवता र संस्कृतिका मानवद्वेषी मानकहरुका आधारमा नारीहरुमाथि गरिँदै आएका समग्र अन्याय र उत्पीडनका विरुद्धको जेहाद हो यो कविता र यसको सौन्दर्य यही जेहादी हुनुमा छ; स्थापित स्रीद्वेषी र मानवद्वेषी सामाजिक सत्ताका विरुद्ध चरम विद्रोही हुनुमा छ ।
जातीय उत्पीडनका विरुद्ध सशक्त आवाज उठाउने अर्का कवि हुन्– मुक्तान थेवा । मधेसमा डोम जातिलाई सामाजिक वर्णवादी सत्ताले अस्पृश्य बनायो र सदियौंदेखि घृणा र उपेक्षा गर्दै सीमान्त अवस्थामा पु¥यायो । घृणा र उपेक्षासँगै दलन बेहोरिरहेको यो समुदाय आफूमाथिको अन्यायका विरुद्ध अझै पनि सचेत हुन नसकेकोमा कवि तीव्र असन्तुष्टि व्यक्त गर्छन् र सँगसँगै विद्रोहका लागि उनीहरुलाई उत्प्रेरित पनि गर्छन् । कवि पहिला तिनलाई तिनकै जीवनको यथार्थबोध गराउँदै लेख्छन्ः
एकै तङ्खवद्वारा निर्मित–
ऊ आफूलाई जातमा राखेर
तिमीलाई कुजातमा झारेदेखि
न त धारा छुन पायौ
न त इनारबाट पानी उघाउन पायौ
न त तिम्रो फोक्सोले एक मुठी श्वास
निस्फिक्रीले भर्न नै पायौ
तिम्रो ढाडमा जबर्जस्त भिराइदियो
अजङको डोम
र, कुट्कायो जातीय विभेदको
अचानोमा राखेर
तिम्रो कलेजोको गुलाब । (’माइजन र जाबरहरु’, आफर, पृ. ६५)
माइजन र जाबरहरु परम्परागत रुपमा डोम समुदायका नेतृत्वहरु हुन् । श्रेणीक्रममा जाबरभन्दा माइजन उपल्लो तहको नेतृत्व हो र उसले आफ्नो समुदायभित्रका मानिसका सामाजिक, पारिवारिक, सांस्कृतिक सबै प्रकारका गतिविधिको निगरानी, नियन्त्रण र न्याय निरुपण गर्ने परिपाटी त्यस समुदायमा रहेको छ । कविले यसै परिपाटीलाई सन्दर्भ (रेफरेन्स) का रुपमा लिएर ’खोइ ती जाबर र माइजनहरुले सदियौंदेखि वर्णव्यवस्थाको जातीय उत्पीडनका विरुद्ध उठ्न, बोल्न सकेको’ भनेर प्रश्न उठाएका छन् । उनी लेख्छन्ः
हाड, छाला र मांशपेसीको पृथ्वीभित्र
तिम्रो पनि
उही रङको नदी बग्छ भन्ने
बुझ्नुपर्ने कि नपर्ने ?
तिमीभित्र पनि भोक, तिर्खा, निद्रा
एउटै लक्ष्यको युद्ध लड्छन् भन्ने
बुझ्नु पर्ने कि नपर्ने ?
… … …
एउटा हम्मर सजातीय विरासतको
ढाडमा बजारेर
तिम्रा माइजन र जाबरहरु
किन गर्दैनन् नयाँ सङ्ग्रामको घोषणा ?
किन तायर छैनन् सुनाउन
आफ्नै इजलासबाट
मुक्तिको अन्तिम फैसला ?
… … …
मूर्दाघाटको घाटे पगरी गुथेर
आखिर कहिलेसम्म पोतिरहन
सक्छौ अनुहारभरि कालो ?
भर्खरै त एउटा तुफान
तिम्रै दलान टेकेर गएको हो
खै कहाँ छन् तिम्रा
माइजन र जाबरहरु ? (पृ. ६६–६७)
कुरुप जातव्यवस्थाले लादेको दलनका विरmद्ध दलितहरुमा अझै सचेतता नआएको र दलन सहन स्वीकार गरिरहेको अवस्थाका विरmद्ध कविको असन्तुष्टि र त्यसका जगमा जातीय उत्पीडनका विरmद्ध विद्रोहको भाव यस कवितामा निकै आवेगी मद्राुमा अभिव्यक्त भएको छ । कवि थेवाले अभिव्यक्त गरेझैं दलितहरुको मौनता र सहिष्णुता पनि यथार्थको एउटा ठुलो पाटो हो तर राजनीतिक आन्दोलन र वर्गसङ्घर्षको छाल सशक्त बनेको बेला दलितहरुले दलनका विरmद्ध आन्दोलन गरेको र त्यसले सामाजिक चेतनालाई जबर्जस्त प्रभाव पारेको अवस्था पनि छ । केही वर्षअघि लहानमा दलितहरु(चमार समुदाय)द्वारा भएको सिनो उठाउन बहिष्कार गर्ने आन्दोलन त्यस्तै महङ्खवपूर्ण परिघटना हो जसलाई कविहरुले पनि कवितामा महङ्खवका साथ प्रस्तुत गरेका थिए । त्यस्तै कवितामध्ये एक हो इच्छुकको ’अस्वीकार’ कविता । यसमा उनले दलितहरुको आफूमथिको दलन र ज्यादतीका विरmद्धको चेतनालाई दलितकै आवाजमा यसरी प्रस्तुत गरे–
जिउले सकेसम्म
तिम्रा लागि भन के–के गरिन मैले
तर त्यसको मूल्य
भन, कसरी चुक्ता गर्यौै तिमीले
घाँटी–घाँटीसम्म अपमान दियौ तिमीले
टुप्पी–टुप्पीसम्म तिरस्कार दियौ तिमीले
’अछुत’ र ’दलित’को पगरी भिराएर
ज्युँदै नर्कमा पु¥यायौ तिमीले ।
… … …
अपमानले तल निहुरेको मेरो शिर
आज स्वाभिमानले माथि उठाएँ मैले
जब बुझेँ मैले बुझ्नैपर्ने कुरा
मेरो मालिक !
तिम्रो आज्ञालाई तिरस्कार गरेँ मैले
आज सिनो फाल्न अस्वीकार गरेँ । (इच्छुक रचनावली, भाग २, पृ. १५५)
सिनो फाल्नु पर्ने बाध्यताका विरmद्धको त्यस आन्दोलनलाई अन्य कविहरुले पनि महङ्खवका साथ कविताको विषय बानएका छन् र जातीय उत्पीडनका विरmद्ध दलितहरुको आन्दोलनलाई आवाज दिएका छन् । मधेस केन्द्रीकृत शासनव्यवस्थाबाट उपेक्षित र वञ्चित बनाइएको हो र सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा उत्पीडित बानइएको हो । यसका विरmद्ध मधेसमा आन्दोलनहरु पनि भएका छन् र उत्पीडनबाट मुक्तिका निम्ति आवाजहरु घन्केका छन् । उत्पीडनबाट मुक्तिका निम्ति मधेसको त्यो छटपटी, त्यसले जन्माएको तीव्र आक्रोश र विद्रोही आवाजको अनुभूति इच्छुकले ’प्यारो मधेसप्रति’ कवितामा यसरी गरेका छन्ः
यति निकटबाट पहिले
कहिल्यै देखेको थिइन
क्रोधले तातेको तिम्रो रातो अनुहार
यति निकटबाट पहिले
कहिल्यै सुनेको थिइन
आक्रोशले काँपेको तिम्रो चर्को आवाज
यति निकटबाट पहिले कहिल्यै गरेको थिइन
तिम्रो सघन पीडाको अनुभव
ए, मेरो प्यारो मधेस !
ए, सुन्दर शस्य श्यामल प्रदेश !! (इच्छुक रचनावली, भाग २, पृ. ११७)
निश्चित रुपमा त्यस्तो उत्पीडनको अग्र भागमा मधेसका निम्नवर्गीय श्रमजीवी समुदाय, दलित समुदाय र महिलाहरु नै रहँदै आएका छन् । आज पनि मधेसका नाउँमा जमिन्दारहरु, हुनेखानेहरु, अभिजातहरु केन्द्रीय शासनसत्ताका वरिपरि छन् र त्यसको लाभ लिइरहेकै छन् अनि विपन्नहरु, पहुँच नभएकाहरु उसैगरी किनारीकृत छन् र उत्पीडित छन् । त्यसैले मधेसका उत्पीडित जनताको मुक्तिको प्रश्नमा वर्गीय स्वार्थ र सम्बन्ध तथा वर्गीय प्रेम र घृणाको चेतलाई बिर्सिनु हुन्न भन्ने कुरा पनि उत्तिकै महङ्खवपूर्ण छ । त्यसैले मधेसलाई सम्बोधन गर्ने क्रममा इच्छुक यस आवश्यकताप्रति पनि सजग गराउँछन्ः
यतिखेर पानी धमिल्याएर कसैले
फुटको माछा मार्न चाहेको हुन सक्छ
होस गर ! हाम्रै घर डढाउन
कसैले विद्वेषको आगो झोसेको हुन सक्छ
… … …
हाम्रो साझा गन्तव्यको
हाम्रो सझा तगारो एउटै छ
ए, मेरो प्यारो मधेस !
… … …
एउटै साज र आवाजका
एउटै होस्टे र हैंसे हामी
हाम्रो साझा भविष्यको
हाम्रो साझा गोठालो एउटै छ । (पृ. ११८–११९)
मधेसी उत्पीडित जनताको आन्दोलन देशका समग्र उत्पीडित जनताको मुक्ति आन्दोलनकै एउटा अङ्ग हो । उत्पीडित वर्गको एकताका अभावमा उत्पीडनबाट मुक्ति सम्भव हुँदैन । त्यसैले वर्गीय चेतना र मानवमुक्तिको वैज्ञानिक चिन्तनको पीठिका आवश्यक देख्छन् इच्छुक र प्रायः प्रगतिवादी कविहरु सबैले मधेसी उत्पीडित जनताको मुक्तिको प्रश्नलाई यसै सन्दर्भमा हेरेका छन् । मधेसमा क. रामवृक्ष यादवहरुले यसै चेतनाको विस्तार गरेका हुन् । उत्पीडक वर्ग र तिनका व्यवस्थाका विरुद्ध जनपाठशालाहरु सञ्चालन गरेर मधेसमा विद्रोह र मुक्तिको चेतना विस्तार गर्ने क. रामवृक्षले नयाँ जनवादी क्रान्ति हुँदै समाजवादको यात्राबाटै मधेसी उत्पीडित जनताको मुक्ति सम्भव हुने विचारको बिरmवा हुर्काइरहेका थिए । त्यसैले मधेस पहाड सबैतिरका सिङ्गै अभिजातवर्गीय निरङ्कुश शासनव्यवस्थालाई उनको सक्रियता, उनको विद्रोही चेतनाको विस्तार अभियान असह्य भयो र उनीहरुले क. यादवको षडयन्त्रपूर्वक हत्या गरे । उनको हत्याले बर्मझिया र मधेसी उत्पीडित जनता मात्र होइन, उत्पीडनबाट मुक्ति खोजिरहेका देशका सम्पूर्ण उत्पीडित जनता आहत बने । यस नृशंस हत्याले कविहरुलाई पनि मर्माहत बनायो । इच्छुकले ’बर्मझिया’ (क. यादवको गाउँ) शीर्षकको कविता लेखेर मास्टर साहेब अर्थात् क. रामवृक्ष, उनको निष्ठा र बलिदानलाई यसरी प्रस्तुत गरे–
एउटा ’मास्टर साहेबलाई मारेर
एउटा जनयोद्धदालाई हत्या गरेर
मुक्तियुद्ध नै रोक्न खोज्ने
मोशादहरुको कपोलकल्पना
यतिखेर चकनाचुर भएर
निष्फल बनेका छन् बैरीहरुका सबै दाउ
मातृभूमिका महान् सन्ततिहरुको
मृत्युञ्जयी बलिदानले अभिभूत भएर
यसबेला सिङ्गो राष्ट्र नै एउटै जुलुस भएको छ
बर्मझिया, तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर
आज बैरीलाई कालकूट भएको छ
तिम्रो सम्मानमा गौरवले झुकेर उठ्दै
सारा देश नै अरिङ्गालको गोलोझैँ
एकजुट भएको छ । (’बर्मझिया’, इच्छुक रचनावली, भाग २, पृ. ७०)
मास्टर साहेब– प्रिय नाम क. रामवृक्ष यादवको । जनतामाझ मास्टर साहेबले सुपरिचित क. यादव मधेसका उत्पीडित जनताको मुक्ति समग्र वर्गीय मुक्तिसँगै जोडिएको हो भन्ने विचार राख्नुहुन्थ्यो र त्यसै विचारले डोरिएर माक्र्सवाद, लेनिनवाद तथा माओवादको वैज्ञानिक दर्शनका पथप्रदर्शनमा नेपाली वर्गयुद्धको निष्ठावान् सिपाही र उत्पीडित जनताका शिक्षकका रुपमा क्रियाशील रहनुभयो । यो कुरा न मधेसका सामन्त वर्गलाई पाच्य थियो न सिङ्गो राजकीय सत्तालाई । यसै कारण उनीहरुले क. यादवको नृशंस हत्या गरे । उनको बलिदानले उत्पीडित जनतालाई भने आक्रोशित र झन् फौलादी बनायो । इच्छुकको कविताले यही भावभूमि प्रस्तुत गर्दै क्रान्तिको उज्यालो भविष्यप्रतिको दरो विश्वासलाई अभिव्यक्त गरेको छ । यो र यस्ता कविताले मधेसमा वर्गसङ्घर्षको प्रक्रिया जारी रहेको र त्यस प्रक्रियामा बलिदान दिने क. यादवजस्ता योद्धाहरु पङ्क्तिबद्ध रहेको सुन्दर क्रान्तिकारी परिवेशलाई उद्घाटित गरेका छन् ।
जनयुद्धको ज्वारभाटाको विसर्जनपछि आदर्श स्खलन, वैचारिक निष्ठाबाट पलायन र सारमा क्रान्तिप्रति घात र प्रतिक्रान्तिलाई आलिङ्गनको विद्रुपताले क्रान्तिप्रेमी उत्पीडित जनतालाई निकै आहत बनायो । यस परिघटनाले कविहरुलाई पनि आहत बनायो । एकथरी कविहरुले त त्यही विपथगमनमा सौन्दर्य देखिरहेको विडम्बना पनि हाम्रा अगाडि छ तर एकथरी कविहरु त्यस घात र पलायनका विरmद्ध लेखिरहेका छन् र सङ्घर्षको निरन्तरताका लागि आवाज उठाइरहेका छन् । सङ्घर्षशील श्रमजीवी मधेसी जनतासँग गहिरो समभाव राख्ने कवि बलराम तिमिल्सिनाले जनयुद्धमा सहभागी मधेसको रिक्साचालक सौखिलाल सदालाई जनयुद्धको विसर्जन र पलायनपश्चात् भएको भेटमा नेतृत्व पलायन भए पनि सौखिलाललाई भने उस्तै क्रान्तिप्रेमी पाएपछि उसप्रति ऐक्यबद्धता जनाउँदै क्रान्तिको बाटोमा हिँडिरहन आह्वान गर्दै यस्तो कविता लेखेः
दुनियाँलाई पढाउँदै हिँड्ने प्रशिक्षक
आफैं मुक्त भयो ज्ञानसँग
र अज्ञानताको सुरुङ्गमा छिर्यो
तिमी अझै बोकिहिँड्छौ–
माओको पुरानो दार्शनिक नोटबुक !
दुनियाँलाई लड्न सिकाउने योध्दाले
सर्वप्रथम आफैंले फाल्यो हतियार
र हतार हतार हात उठायो
तिमी अझै सफा गरिरहेछौ
आफ्नो पुरानो कटुवा पेस्तोल !
. . . … …
सौखीलाल सदा ,
कटुवा पेस्तोलमा तेल लगाउन नछोड्नु
एक अञ्जुली घाम नखसेसम्म
तिम्रो आँगनमा
त्यो पेस्तोलको काम आइरहन्छ ! (‘सौखिलाल सदा’, फेसबुक वालबाट)
तिमिल्सिनाको यो कविता निकै भावावेगपूर्ण छ । यसले क्रान्तिप्रति घात गर्नेहरुप्रति तिखो व्यङ्ग्य त गरेकै छ, सँगसँगै मधेसका श्रमजीवी दलित मानिसहरुमा क्रान्तिप्रति अझै पनि विश्वास र क्रान्तिधर्मी विचारप्रति निष्ठा रहेको विचार अभिव्यक्त गरेको छ । कवितामा प्रयुक्त ‘आँगनमा एक अँजुली घाम’ले भोलिको उत्पीडनमुक्त सुन्दर सुखद बिहानीको सङ्केत गरिरहेको छ भने ‘तेल लगाइरहनुपर्ने कटुवा पेस्तोल’ले सशस्त्र सङ्घर्षको आवश्यकतालाई सङ्केत गरेको छ ।
७. निष्कर्ष
प्रस्तुत आलेखमा केही सीमित कवितालाई आधार बनाएर विमर्श गरिएको छ तर यी कविताले समकालीन नेपाली कविताको प्रतिनिधित्व गर्दछन् र समकालीन कवितामा मधेसको प्रतिबिम्बन तिनमा कसरी भएको छ भन्नेबारे एउटा विश्वसनीय दृश्य प्रस्तुत गर्दछन् । समकालीन कवितामा मधेसको प्रतिबिम्बनका विविध पक्षको प्रभावकारी र सुन्दर प्रस्तुति भएको कुरालाई यी कविताले स्पष्ट पारेका छन् । मधेसको जनजीवनमा सबभन्दा महङ्खवपूर्ण पक्ष सामन्तवादी उत्पीडनबाट सयौं वर्षदेखि दलनमा परेका निम्नवर्गीय विपन्न श्रमजीवी मानिसहरुको कहालीलाग्दो दैनिकी÷दिनचर्या हो । त्यसमा पनि जातीय दृष्टिले ‘अछुत’ बनाइएका दलित समुदायका मानिस गास, बास र कपासको आधारभूत उपलब्धताबाट समेत वञ्चित भई निर्मम भोगाइ भोगिरहेका छन् । उत्पीडनको यो स्वरुप स्थानिक वर्गीय त छँदै छ, राज्यव्यवस्थाबाट गरिने चरम उपेक्षा र उत्पीडनको स्वरुप पनि त्यत्तिकै जब्बर छ । समकालीन कविताले यथार्थको यस पक्षलाई निकै आवेगपूर्ण अभिव्यक्ति दिएका छन् र तिनले पाठकलाई संवेदित बनाउने सामथ्र्र्य राख्दछन् । उत्पीडनको यो परिप्रेक्ष्य मधेसका महिलाका सन्दर्भमा झन् दोहोरो तेहरो बन्न पुग्छ । सामन्तवादी सामाजिक, सांस्कृतिक तथा आर्थिक उत्पीडनले महिलाहरुलाई दलन त गरेकै छ, पितृसत्ताको जबर्जस्त शासन र दलनले दलित गैरदलित सबै महिलाका स्वतन्त्रतालाई पुरmषअधीनस्थ बनाई प्रताडित गरेको छ । समकालीन कविताले यस विषयलाई पनि निकै महङ्खवका साथ प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ ।
उच्च भनिएका जातिद्वारा दलितहरुलाई, उच्च सामन्त÷अभिजात वर्गद्वारा श्रमजीवी, भूमिहीन विपन्न वर्गलाई पुरmष÷पितृसत्ताद्वारा महिलालाई अनि राज्य तथा शासकहरुद्वारा शासित मधेसी जनतालाई गरिएका÷गरिँदै गरेका शोषण, उत्पीडन तथा वञ्चितीकरणका कारण जीवनको जुन त्रासदी मधेसमा विद्यमान छ, त्यसप्रतिको गहिरो सरोकार र संवेदनाका साथै समवर्गबोधी चेतना नेपाली कवितामा छ भन्ने कुरा यस विवेचनाबाट स्पष्ट भएको छ । तर यति मात्र यी कविताको वैशिष्ट्य होइन । खास गरी प्रगतिवादी चेतनाका कवितामा उत्पीडन, उपेक्षा र दासताबाट मुक्तिका लागि विद्रोहका निम्ति उत्पीडित मधेसी जनतालाई जागृत तुल्याउने काव्यिक प्रयास पनि छ, त्यस्तो विद्रोह गरिरहेका मानिसहरु÷योद्धाहरु तथा तिनका चरित्रको उदात्तीकरण पनि छ । अर्थात् कविहरुमा संज्ञानात्मक सामथ्र्य मात्र छैन, संसार बदल्ने सङ्कल्पात्मक हुटहुटी पनि छ । यी दुबै कुरालाई कविताका बान्कीमा प्रस्तुत गर्दा कविहरुले कवितासौन्दर्यका उपकरणप्रति पनि सजगता अँगालेका छन् । कवितामा भावावेग छ, संवेदना छ, कोमल कठोर भाषाको लयात्मक गुम्फन छ, मौलिक र प्रभावोत्पादक बिम्बको प्रयोग छ र समग्रमा सुन्दर कालिगढीका माध्यमबाट यथार्थ र विद्रोही विचारको संयोजन गरिएको छ । यही यी कविताको प्राप्ति हो भन्ने निष्कर्ष यस विमर्शबाट प्राप्त भएको छ ।
प्रमुख सन्दर्भसामग्री
आहुति (२०७१), ‘लक्ष्मिनिया ! तिम्रो लोटा खोइ’, गहुँगोरो अफ्रिका, काठमाडौं ः साङ्ग्रिला पुस्तक, पृ. १७–१९ ।
इच्छुक, कृष्ण सेन (२०६५), ’बर्मझिया’, इच्छुक रचनावली, भाग २, काठमाडौंः इच्छुक सांस्कृतिक प्रतिष्ठान, पृ. ६८–७० ।
इच्छुक, कृष्ण सेन (२०६५), ’प्यारो मधेस’, इच्छुक रचनावली, भाग २, काठमाडौंः इच्छुक सांस्कृतिक प्रतिष्ठान, पृ. ११७–११९ ।
इच्छुक, कृष्ण सेन (२०६५), ’कोशी टप्पु’, इच्छुक रचनावली, भाग २, काठमाडौंः इच्छुक सांस्कृतिक प्रतिष्ठान, पृ. १६६–१६८ ।
गिरी, हेमन्त (सन् २०१९), ’भोग’, फेसबुक वालबाट ।
जनकपुरी, रोशन (२०७९,भदौ २४), ’जनकपुर र जनकपुर’, अखिल नेपाल लेखक सङ्घद्वारा काठमाडौंमा आयोजित गोष्ठीमा वाचित ।
तिमिल्सिना, बलराम (२०७५), ‘सौखिलाल सदा’, फेसबुक वालबाट ।
थेवा, मुक्तान (२०७३), ’माइजन र जाबरहरु’, आफर, काठमाडौं ः समता बुक्स, पृ. ६५–६७ ।
निभा, विमल (२०७८), ’चमरी गाई’, डेगेन्द्र राजवंशीको आत्महत्या, काठमाडौं ः बेला पब्लिकेसन, पृ. २७–२८ ।
प्रथा (२०७४), ’शिरपटियाको शिर’, युद्धशिविरमा हिँडेको मान्छे, काठमाडौं ः काव्यशिविर, पृ. ३९–४०।
पोखरेल, विवश (२०७४ भदौ १७), ’बग्दै बग्दै जाने छोरासित’, कान्तिपुर कोसेली ।
पोखरेल, सुमन (२०६६), ’कमैया बस्तीमा’, जीवनको छेउबाट, विराटनगर, पृ. ३२ ।
शाह, निभा (२०७२), ’बुधनी’, मनसरा, काठमाडौं ः सुशीला शाह, पृ. १७ ।
शाह, निभा (२०७२), ’बुधवा’, मनसरा, काठमाडौं ः सुशीला शाह, पृ. ७५ ।
शाह, निभा (२०७२), ’चुलिया’, मनसरा, काठमाडौं ः सुशीला शाह, पृ. १०२ ।
शाह, निभा (२०७४), ’अनिदो बस्ती’, प्रज्ञा समकालीन प्रतिनिधि नारीकविता, काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ. ९७ ।
सिलवाल, केशव (२०६६), ’सत्यदेवी बोल्छिन’, धारिला मानिसहरु, काठमाडौं ः अखिल नेपाल लेखक सङ्घ, पृ. ८ ।
(इच्छुक सांस्कृतिक प्रतिष्ठानबाट प्रकाशित जर्नल ‘प्रवर्तक’ अङ्क ८ बाट लिइएको)