फुइँ प्राज्ञ:
हामीलाई सरकारले पत्याएको छ
कानूनले पत्याएको छ
संविधानले पत्याएको छ
कुर्सीले पत्याएको छ
खादाले, मालाले
सारा कुराले प्राज्ञ भनेरै पत्याएको छ
तिमीहरू ऐरे गैरे मुलङ्खैरेले नपत्याएर हुन्छ ?
भुइँ प्राज्ञ :
सरकार, कानून
खादा ,माला
कुर्सी र संबिधानले त
जग हँसाई घले
र गङ्गाजल पदखेतीलाई पनि पत्याएकै थियो
अझ पश्चगामी भूतप्रेतहरूले पनि
गजवले पत्याएका थिए
प्राज्ञ हुने योग्यता त्यति मात्रै हो त ?
फुइँ प्राज्ञ:
दु:ख गर्ने हामी
भाग पाउँने …मी हुन्छ कतै ?
झण्डा कसले बोक्यो ?
चुनाऊमा प्रचार कसले गर्यो ?
लाल दरवार कसले रिझायो ?
सेटिङ्ग फेटिङ्ग कसले मिलायो ?
हामीलाई हेप्नी ?
डिस हान्नी ?
रिस गर्नी ?
भुइँ प्राज्ञ:
हैन बाबा हैन
रिस गरेको पनि हैन
डिस हानेको पनि हैन
झण्डा हजुरले नै बोकेको हो
सके जुत्ता पनि बोक्नु भयो होला
हामी भुइँ मान्छे नभएको बेला
कलमको मोर्चा पनि तपाईले नै बोकेको हो
जसकी आमा भान्से
उसैको छोराको भुँडी डमडम
यो हामीलाई पनि थाहा छ
खानोस अघाउनोस
सके गङ्गाजल पदखेतीले जसरी
दोहोर्याएर खानुस्
कुर्सीमै सती जानुस !
फुइँ प्राज्ञ :
छविको सम्पतीमा
रविका सन्तानलाई अङ्श लाग्दैन
आफ्नै बाउको अङ्श खाइया छ
कुन दु:खले प्राज्ञ हुन आइया छ
तिमीलाई के चाइया छ ?
भुइँ प्राज्ञ :
नरिसाउँनु न त नरिसाउँनु
बरु एउटा कविता सुनाउनु ।
फुइँ प्राज्ञ:
कविता सविता तिमीहरू लेख
तिमीहरूनै वाचन गर
तिमीहरू नै सुन
हामी त अव कविताबाट अवकास
हाम्रा कुरा बुझ्यौ त भुइँ प्राज्ञ ?
भुइँ प्राज्ञ:
कुरा नबुझेको होइन यार फुइँ प्राज्ञ
प्राज्ञ बनेपछिको
तिम्रो फुइँ जाँच्न पो खोजेको त !
२०७९ फाल्गुन ११
सिनामङ्गल