नवलपरासी १ फागुन – महान् जनयुद्धको २८ औ दिवस पश्चिम नवलपरासी सहित देशैभर मनाइएको छ । सरकारले पहिलो पटक सार्वजनिक विदा दिएको जनयुद्ध दिवस बिबिध कार्यक्रम गरेर मनाइएको हो ।
बिभिन्न माओवादी घटकहरुले यो दिवस मनाएर जनयुद्धलाई सम्झिएका हुन् । सो क्रममा नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले बर्दघाट–४ दिब्यनगरमा एक अन्तरक्रिया आयोजना गरेर २८ औं जनयुद्ध दिवस मनाएको केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला ईञ्चार्ज क्षेत्रीले जनयुद्धलाई संशोधनवादी बाटो लगेर धोका दिईएको बताउदै जनयुद्धले राजनैतिक रुपमा आँशिक उपलब्धिहरु ल्याएको उल्लेख गर्नुभयो । उहाँले क्रान्तिकारी ध्रुबीकरण सहितको पार्टी र आन्दोलनको पक्षमा परिस्थिति बन्दै गएको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले नेताहरु जनतामा फर्कदै राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा संर्घष गर्न तयार हुनुपर्ने सुझाव दिनुभयो । उहाँले शहिद तथा बेपत्ता परिवार एंव घाइते योद्धाहरुको पीडालाई शक्तिमा बदल्दै नयाँ शिराबाट आन्दोलनको पुर्नगठन गर्ने समय आइसकेको बताउनुभयो । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले क्रान्तिकारी आन्दोलनको उठान गर्दै आधारभुत वर्गका अधिकारका पक्षमा काम गर्नबाट पार्टी चुक्न नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनकी प्रदेश सदस्य उर्मिला थापा,अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की जिल्ला संयोजक मुक्तमाया महत्तो, क्रान्तिकारी माओवादीका जिल्ला सदस्य गुणनीधि पोखरेललगायतले बोल्दै शहिदका सपना पूरा गर्न संर्घषको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका संयोजक ज्ञानबहादुर केसी, क्रान्तिकारी युवा लीगका संयोजक राजेन्द्र न्यौपाने, तमु मुक्ति मोर्चाका संयोजक रवि तमु, राष्ट्रिय उद्योग ब्यापार महासंघका जिल्ला संयोजक प्रेम पोखरेल , क्रान्तिकारी पत्रकार महासंघकी जिल्ला कोषाध्यक्ष लक्ष्मी घिमिरेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जनयुद्धको स्मरण गर्दै अबिर अर्पण समेत गरिएको थियो ।