
माघ २४, २०७९
लन्डन — लिड्स युनाइटेडले मंगलबार व्यवस्थापक जेसे मार्सलाई बर्खास्त गरेको छ । उनले एक वर्षभन्दा कम समय मात्र क्लब सम्हाल्ने अवसर पाए । लिड्स इंग्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा नटिङ्घम फरेस्टसँग १–० ले पराजित भएको थियो । लिगका पछिल्ला सात खेलमा लिड्स जितविहीन रहेको छ ।
लिग अंक तालिकाको १७ औं स्थानमा रहेको लिड्स गोल अन्तरले मात्र रेलिगेसन क्षेत्रको ठीक माथि रहेको हो । लिड्स अन्तिम पटक नोभेम्बर ५ मा जित निकाल्न सफल रहेको थियो । गत फेब्रुअरीमा अमेरिकी फुटबल प्रशिक्षक मार्सले वर्खास्तीमा परेका अर्का व्यवस्थापक मार्सेलो बिएल्साको स्थान लिएका थिए ।
लिड्सले मार्ससँगै उनको सहायकहरू सबैलाई पनि बर्खास्त गरेको छ । लिड्सले बुधबार ओल्ड ट्रायफोर्डमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । आइतबार उसले युनाइटेडसँगै एलान रोडमा सामना गर्नेछ । अबको खेलमा सहायक व्यवस्थापक रहेका मिचेल स्कुबुलाले लिड्सको जिम्मेवारी सम्हाल्ने छन् ।