नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडी सामन्था पावरको घोषणा

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडी सामन्था पावरको घोषणा

 

२४ माघ काठमाडौँ

नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख प्रशासक समान्था पावरले नेपाललाई साढे सात अर्ब सहयोग दिने घोषणा गरेकी छन ्।

उक्त रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन  खर्च हुने जनाइएको छ । उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो ।

यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तीकरण र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको पनि अमेरिकाले जनाएको छ ।

युएसएआइडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने अमेरिकाले जनाएको छ।

आज घोषित लगानीमा आर्थिक दृष्‍टिकोणबाट अझ बढी पारदर्शी र जबाफदेही बनेर सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको अमेरिकाले जनाएको छ ।

अमेरिकाले स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम पनि यसमा राखेको छ ।

कानुनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्‍पक्ष निर्वाचनलाई थप टेवा पुर्‍याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली सङ्गठनहरू र सरकारी संस्थाहरूसँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने अमेरिकाले जनाएको छ ।

यी नयाँ लगानीहरू नेपालका लक्ष्य र आकाङ्क्षाहरूलाई टेवा पुर्‍याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआइडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित रहेका उसको भनाइ छ ।