
२४ माघ काठमाडौँ
नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख प्रशासक समान्था पावरले नेपाललाई साढे सात अर्ब सहयोग दिने घोषणा गरेकी छन ्।
उक्त रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने जनाइएको छ । उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो ।
यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तीकरण र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको पनि अमेरिकाले जनाएको छ ।
युएसएआइडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने अमेरिकाले जनाएको छ।
आज घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जबाफदेही बनेर सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको अमेरिकाले जनाएको छ ।
अमेरिकाले स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम पनि यसमा राखेको छ ।
कानुनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली सङ्गठनहरू र सरकारी संस्थाहरूसँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने अमेरिकाले जनाएको छ ।
यी नयाँ लगानीहरू नेपालका लक्ष्य र आकाङ्क्षाहरूलाई टेवा पुर्याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआइडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित रहेका उसको भनाइ छ ।