प्लास्टिकको फूल र कविता

प्लास्टिकको फूल र कविता

कथा
 
विहान विहानै कविराजले श्रीमती लतामायालाई काम अह्राए । आज अलिकति हजारीको फूल टिपिदेऊ न है । मलाई हतार छ । ’’
‘कहाँ जाने र ? आजकाम गनै नजाने ? आज काम गर्न गएन भने त साँझ खाने पनि छैन नि थाहा त पाउनुभएको छ । बल्ल बल्लका आज काम मिलेको छ । ’’ लतामाया कराउन थालिन् ।
कविराजलाई निकै कविता मोह थियो । उनले पनि कविताबाट आफ्ना बह पोख्ने विचार गरेका थिए । उसै त गरिबका कुरा सुन्छ पो कसले ? पार्टीका आमसभामा त नेताहरू आउँछन् भाषण गर्छन् , जान्छन् ।उनीहरू सुन्न आउँदैनन् । सुनाउन मात्र आउँछन् । दिन आउँदैनन् माग्न मात्र आउँछन् । तर कविता गोष्ठीमा त कविता मार्फत सुनाउन त पाइन्छ । कविराजले लतामायालाई सम्झाए पनि । कवितामा दम हुन्छ ।
कविराजले झोलाको धुलो टकटक्याए । म चाहीँ झोले कवि । तर के गर्नु कवितामै त हो आफ्ना मनका कुरा पोख्ने । अन्त त न कसैले सुन्छन् न कसैले स्थान दिन्छन् । आज त आफ्नो मनका तीतापीरा सब पोख्छु ।
कविराजले खाना खान पनि थालेनन् । लतामायाको माग पुरा गरिदिन यो छाक नखाएर साँझको लागि वचत गरिदिने निर्णय गरे । श्रीमतीलाई पनि यो छाक खाना नखाने जानकारी गराए ।
लतामायाले खाना खाएर जान भनिन् तर कविराजले “ आज उतै खाने व्यवस्था छ । ’’ भनेर ढाँटे ।
कविराज एक घण्टा हिँडेर बजार पुगे र बस चढे । बसको पनि करिब एक घण्टा यात्रा गरेपछि उनी कार्यक्रम स्थलमा पुगे । बरिष्ठ कविहरूको भीड थियो । सबै सुकिलामुकिला । कोही चिनेकै अनुहार थिए र कोही अपरिचित अनुहार । कविराजले सुने – आजको कार्यक्रममा देशकै खुङ्खार कविहरु आएका छन् । तर उनले पाहुना बनेर आएका ठुला र बरिष्ठ कवि लाई चिन्दैनथे ।
एकैछिनमा कार्यक्रम सुरु हुन थाल्यो । अतिथिहरूलाई स्वागत गर्ने कार्यक्रम पनि मिलाईयो । अतिथिहरूलाई खादा ओढाइयो र प्लास्टिकका फूल हात हातमा दिइयो । मञ्चमा पनि प्लास्टिकका फूल सजाएर राखियो । तर कविराजले भने आफ्नो झोला खोले र सबैका हात हातमा हजारीको फूल राखिदिए ।
मञ्चमा पनि हजारीको फूल राख्न खोजेका थिए । तर हजारीको फूलभन्दा प्लास्टिक फूलले मञ्चको सजावट उत्तम हुने निस्कर्ष सहित हजारी फूल राखिएन । बरु दुई चार थुङ्गा हजारीका फूल प्रयोगविहीन भए । सौन्दर्यविहीन भए र डस्टबिनमा परे ।
कविराजले फेरि पनि अतिथिहरूतिर आँखा घुमाए । कस्ता सफा हात, कस्ता मुलायम र चिल्ला अनुहार । कति सुकिला कपडा । उनले अतिथिका दारी हेरे र कल्पना गरे। उनीहरूका दारी रहरले पालेका दारी फुर्सदमा मिलाएका दारी , मेरा चैँ बाध्यताले पालेका दारी । काट्ने फुर्सद नभएर नमिलेका दारी ।
जुता पनि कति सफा ! कविराजका घरका थालभन्दा टल्कने जुता । कविराजले आफ्ना खुट्टा पनि हेरे लोता फेरेको चप्पल । अब केही दिनपछि प्वाल पर्नेवाला छ ।
कार्यक्रममा कविताहरू गुञ्जन थाले । पीडै पीडाका कविता । विद्रोहका कविता । शान्तिका कविता । स्थानीय कविता । केन्द्रका कविता । बरिष्ठका कविता । नयाँका कविता । अनेकथरी कविता ।
वरिष्ठ कविको कविता पनि वाचन भयो । हलबाट गडगडाहट ताली बज्थ्यो । वाह ! वाह !! भन्दै कोहीकोही त कराउथे पनि । तर कविराज शान्त बसिरहे। उनका लागि कविता छुट्टै भाषाका प्रवचन जसतो लाग्यो । बुझ्दै बुझेनन् । दिमागमा घुस्तै घुसेन । त्यो कविताले गरिवहरूको वास्तविक चित्रण पनि गर्यो रे ।
केही वेरमा कविराजको पालो आयो । भोक लाग्न सुरु भइसकेको थियो । ‘‘म मेरै भोक देखाउँछु यहाँ’’ यही सोँच्दै मञ्चमा उक्लिए । आइरन नगरेका कपडा, झुस्स परेका दारी । ठेला परेका हात । कविराजले विहान गोबर फालेको थिए । नुहाउन पाएका थिएनन् । अरु कवि त्यहाँ उक्लँदा अत्तरको वासना आउँथ्यो तर कविराज उक्लँदा गोबर मलको गन्ध आयो । कतिपय सुकिलामुकिला प्राज्ञहरू अर्कोतिर फर्किए । रुमाल झिकेर नाक रगट्न थाले । कविराजले कविता भन्नेमा पूर्वशङ्का गर्न थाले । यस्तो मान्छेको कविता कस्तो होला ? अतिथिगणलाई विश्वासै लागेन । उनीहरू गफ गर्न थाले । एकजना अतिथिज्यू रेस्टरुमतिर लागे ।
कविराजले आफ्नो वाचन सुरु गरे । अनले आफ्नै पीडा लेखे । आफ्नै मनभित्रको दुखाई मुखबाट ओकले । उनले सक्कली भोको मुखले भोकको कविता बोले । कविता सुनिदिएकोमा सबैलाई धन्यवाद दिएर विदा भए ।
समीक्षा सुरु भयो । अतिथिहरूका कविता दमदार भएछन् । कविराजको कविता नमिलेको , के के नपुगेको भएछ । कविराजको भोक कविताले भोकको अनुभूति गराएन रे । कविराज निरास देखिए । आखिर मेरो भोक कहाँनेर नमिलेको हो ? मिलेको भोक कस्तो हुन्छ ? मेरो भोक पनि भोक होइन भने भोक कस्तो हुन्छ ? कविराजलाई उठेर सोध्ने मन लाग्यो । तर अतिथिको मान सम्मानका लागि पनि उनले सोधेनन् ।
‘‘कार्यक्रम कस्तो लाग्यो ? सुन्नुभयो नि कविता कस्ता हुँदा रहेछन् । ’’ एकजना कविवर आएर कविराजसँग भलाकुसारी थर्न खोजे । कविराजले पनि यसपटक नक्कली बन्ने कोसिस गरे र नक्कली मुस्कान दिँदै भने ‘‘ हो, मैले सुनेँ । कविता ऊ त्यो टेबलमा सजाइएको प्लास्टिकको फूलजस्तो हुनुपर्दो रहेछ मैले टिपेर ल्याएको हजारी फूलजस्तोको मूल्य हुँदैन । ’’
त्यसपपछि धेरै बोल्दै नबोलेर कविराज घर फर्किए । छिटो छिटो घर गएर श्रीमतीलाई टन्न खाएको बर्णन गर्नुथियो । कवि गोष्ठीको इज्जत पनि राख्नु थियो ।
कविराज दनादन घर गए र हत्तपत्त आँगनका हजारी फूल उखेल्न थाले । श्रीमतीले ‘‘ एइ के गरेको ’’ भन्दै कविराजलाई रोक्न आइपुगिन् । कविराजले अलि कडा कडा स्वरमा बोले ‘ हजारीको काम छैन यो राम्रो हुँदेन । यो केही दिनमै आृेइलाउँछ । यो गोबरमा फुल्छ । यसलाई फाल्नुपर्छ । अब प्लास्टिकका फूलको युग हो । प्लास्टिकका फूल कति राम्रो ! जस्तो फुलेको पनि बनाउन सकिने । न पानी चार्नु पर्ने । न कहिल्यै ओइलाउने । न गोबरको गन्ध नै आउने । ’’
श्रीमती लतामाया छक्क परिन र कविराजलाई फूल उखेल्न रोकिन् ।
‘‘भो त्यो प्लास्टिकको फूल सहरका घरमा राखुन् । मलाई त हजारी फूल नै राम्रो लाग्छ । ’’
कविराजले पनि मनमनै बोले ” मलाई मेरै पेट भोकाउँदा निस्केको मुखबाट निस्केको भोकको कविता मन पर्छ । नक्कली भोको मुखबाट निस्केको कविता होइन । ’’
2079/ 01/01