म सूर्यवंशी शाहदेव हूँ

म सूर्यवंशी शाहदेव हूँ

म दुर्गमको शाह होइन,
म सुगमको साह पनि होइन,
म त सूर्यवंशी शाहदेव हूँ ।
 
मलाई गरीब चाहिँदैन,
मलाई सुकुम्बासी चाहिँदैन,
मलाई रैथाने भए पुग्छ,
मलाई ‘हामी जस्ता मान्छे’ भए पुग्छ,
किनकि म त सूर्यवंशी शाहदेव हूँ ।
म शासन गर्न आएको हूँ,
म दास बनाउन आएको हूँ,
शासन गर्न म बोली फेर्न सक्छु,
दास बनाउन म स्वरुप फेर्न सक्छु,
किनकि म सूर्यवंशी शाहदेव हूँ ।
 
म अदालत हूँ, म न्यायधीश हूँ,
र्यापमा गरीबको भाषा बोलें होला,
झुपडीको दु:ख कबोलें होला,
तर त्यो त अभिनय मात्र थियो,
म हिन्दी फिल्म नायकको अनिल कपुर हूँ,
किनकि म त सूर्यवंशी शाहदेव हूँ ।
 
फोहोर व्यवस्थापन भइसक्यो अब,
ढलको प्रबन्ध पूर्णतातिर गइसक्यो अब,
अब म गरीब हटाएर गरीबी हटाउँछु,
म सुकुम्बासी हटाएर शहर सफा बनाउँछु,
किनकि म त सूर्यवंशी शाहदेव हूँ ।
 
शासन गर्न खाँबाट शाहदेव बनेको हूँ,
दास बनाउन शासक बनेको हूँ,
मेरा दास र रैती भएसम्म म फर्की फर्की आउँछु,
मलाई चूपचाप सुनेसम्म म फुर्की फुर्की गाउँछु,
किनकि म त सूर्यवंशी शाहदेव हूँ ।
 
म खोपीबाट रुप फेरेर फर्किन सक्छु,
म चिहानबाट पनि फर्किन सक्छु,
म दुर्गमको शाह होइन,
म सुगमको साह पनि होइन,
किनकि म त सूर्यवंशी शाहदेव हूँ ।
********
काठमाडौं, नेपाल
१५ डिसेम्बर २०२२