आधुनिक भान्से

आधुनिक भान्से

खाना बनाउन भान्सामा बस्नेलाई भान्से भन्ने हो या डाडु पन्यु समाउनेलाई भान्से भन्ने हो म द्विविधामा छु । जो भान्से छ उसको हातमा डाडु पन्यु हुन्छ यो परम्परित मान्यता हो । अक्सर घर परिवारमा हजुरआमा वा आमाहरू भान्से हुन्छन् र डाडु पन्यु उनीहरूकै हातमा हुन्छ तर ठूला ठूला भोज भतेरमा भने खाना बनाउनेहरू थोरै हुन्छन् र डाडु पन्यु समाउनेहरू धेरै हुन्छन् । पहाडतिरका कुना काप्चामा भने यो चलन अझै छ । यता शहरतिर चाहिं त्यो क्याटरिङ वा होटलहरूमा भोज पाक्छ । ती परिकार बनाउनेलाई भान्से होइन “कुक” भनिन्छ । ती “कुक” ले बनाएका खाद्य परिकार भने निम्तालु आँफैले डाडु पन्यु लिएर आफ्नो थालमा राख्छन् । उनीहरूको खान्की भने हरेकलाई आफ्नो आवश्यकता अनुसारको हुन्छ । हाम्रो परम्परामा भान्से हुनु भनेको नि लोभि र विवेकी हुनु हो । सायद यसै कारणले होला ‘लोभी भान्से पस्दैन’ भन्ने उखान चलेको तर अचेल जमाना उल्टियो । निलोर्भी भान्सामा पस्दैन । जो पात्र जाल झेल प्रपञ्चादि सीपले पूर्ण छ सो भान्से हुन्छ । त्यो भान्से अरूको पेट हेर्दैन आफ्नो पेट, खल्ती वा झोला हेर्छ । त्यस्ता पात्र राजनीतिको मैदानमा धेरै हुन्छन् । भन्नेहरू त्यस्तो पात्रलाई राजनीतिको खेलाडी भन्छन् । त्यसो भन्नु गलत हुन्छ, किनभने खेलाडी एक्लै मैदानमा हुँदैन थुप्रै पात्रहरू मैदानमा हुन्छन् र अनुशासन पूर्वक प्रतिष्पर्धा गर्छन् । राजनीतिमा अनुशासन र नैतिकता भन्ने शब्द नै हुँदैन त्यहाँ दाम हुन्छ, त्यहाँ भोज भतेर हुन्छ, लाठी मुङ्ग्री हुन्छ र कमजोरलाई उठ्नै नसक्ने गरी थला पारिन्छ । जब कमजोर पक्षलाई थला पारिन्छ अनि जिताहा साँढे बनेर आपैm भान्से बन्छ । यस्ता भान्सेहरू हामी धेरैतिर देख्न सक्छौं । उनीहरू श्रम गर्दैनन् केवल अरनखटन मात्र गर्छन् ।

परम्परित भान्सेहरू श्रम र विवेकले पूर्ण हुन्छन् । उनीहरूको पारिश्रमिक तोकिएको हुँदैन । सेवा सुविधा भन्ने के हो उनीहरूमा लागु हुँदैन । क्याटरिङ वा होटलका भान्सेहरू निम्न पारिश्रमिक पाउँछन् । उनीहरू बिना जालझेल आफ्नो कर्तव्यमा लाग्छन् । ती खेलाडी भनिने भान्सेहरू भने राज्यको विभिन्न निकायमा सक्रिय हुन्छन् । उनीहरू श्रम र कर्तव्य दुवै कार्यमा उदासिन हुन्छन् । अझ यसो भनौ कुनै अज्ञात शक्तिको आडमा उनीहरू ढुक्कसँग आफूखुसी दोहन गर्छन् । चाहे सिँहदरबारको ढुकुटीमा होस् चाहे वानेश्वर, कोटेश्वर, ढल्कु वा बल्खुमा होस् मौका हेरेर आफ्नो झोलामा सात पुस्ताका लागि जोहो गर्छन् ।

आधुनिक भान्सेका केही कामदार भने अवश्य हुन्छन् उनीहरूको स्वभाव राणाकालीन गाउँका थरी मुखिया वा जिम्मालको भन्दा कम हुँदैन । उनीहरू आधुनिक भान्सेप्रति वफादार हुन्छन् । उनीहरूको काम कर्तव्य भनेको ती मालिकहरूप्रति समर्पित हुनु हो । आधुनिक भान्सेका रूप अनेक हुन्छन् । राजनीति उनीहरूको मुख्य हतियार हो । त्यसैमाथि टेकेर आधुनिक भान्सेहरू ढलीमली गर्छन् । उनीहरू कहिले मिले जस्तो कहिले जुधे जस्तो गर्छन् । अर्थात् ‘एकता–सङ्घर्ष–फेरि एकता र लुट’ उनीहरूको मूल सिद्धान्त हुन्छ । त्यो सिद्धान्त भनेको भण्डारमा सञ्चित द्रव्य वा विधानमा उल्लिखित अधिकारको बाँडीचुँडीका लागि हो । मूलतः यस्तो विषय सिधा राज्यसत्तासित जोडिएको हुन्छ । हिजो अस्तिको राज्य व्यवस्था भन्दा आजको राज्य व्यवस्था केही भिन्न भने अवश्य छ । राणाकाल वा पञ्चकालमा पनि जुँगामूठे भान्सेहरू थिए । उनीहरूको हातमा झण्डा र डण्डा दुबै वस्तु थिए । त्यसकालमा सारा मुलुकबासी रैती थिए । ती रैतीहरू चुपचाप आफ्नो कर्तव्य पूरा गर्थे, आफूमाथि माथिका सेठहरूले जति ऐठन गरे पनि चुपचाप सहेर बस्थे । जमाना फेरिएसँगै भान्सेहरूको रूप र व्याख्या पनि फेरियो । अस्तितिर झण्डा एउटा थियो डण्डा पनि एउटै थियो तर अहिले झण्डाका पसलहरू धेरै छन् । झण्डा हेरेर बण्डा हुन्छ र विधानको सिह्रानी हालेर आफ्नो चाहनाको निदान गर्छन् ।

आधुनिक भान्सेहरू मुलुकवासीलाई रैती त भन्दैनन् शिष्ट भाषामा जनता भन्छन् । हामी जनता अस्ति वा हिजो भन्दा चेतनशील त छौं तर हाम्रो चेतनालाई माथ गर्ने गरी आठौं नवौं वा दशौं आश्चर्य आविष्कार गर्नेझैं गरी भाङ छर्छन् र लठ्ठ पार्छन् । यता हामी लठ्ठ उता उनीहरू छट्ट÷लट्ट र चट्टको द्वन्द्वमा उनीहरू नै पट्ट मोटाउँछन् । यदि उनीहरूको मार्गमा कतै अवरोध आयो भने झट्ट डण्डा निकाल्छन् र हामीलाई फण्डा बनाउँछन् ।

पहिलेका भान्सेहरूको अखडा नारान दर्वार थियो नारानदर्बारको आदेशले सिँहदर्बार चल्थ्यो र नारानदर्बारका मूल भान्सेदेखि सहभान्से, सहायक भान्से उपभान्सेसम्म नजराना पुग्थ्यो । पशुपतिको भेटीदेखि हेलम्बुका केटी समेत नारानदर्बारमा भित्रिन्थ्यो । जमानामा परिवर्तन आएपछि नारानदर्बार ओझेलमा प¥यो र सिँहदर्बार झपक्कै बल्यो । त्यो सिँहदर्बार सुन, उन, नुन र सगुनले पूर्ण छ । आधुनिक भान्सेहरू त्यही भण्डारको तालाचाबी समातेर मुस्कुराउँछन् । उनीहरू ठेकेदारदेखि खरिदारसम्म आफ्ना सहयोगी नियुक्त गर्छन् । उनै मार्फत् पूल निर्माणदेखि झुल खरिदसम्मको लाभांस चोरेर खल्तीमा राख्छन् ।

यसरी चोर खल्ती पूर्ण बनाउनेहरू धेरैजसो हिजो अस्तिसम्म टायरका चप्पल पड्काएर हिँड्नेहरू पनि पर्दछन् । अहिले उनीहरू रैतीबाट उठेर जनता जनताबाट उठेर मालिकाशनमा विराजमान छन् । उनैका रजौटा जिम्माल र मुखियाहरूको सर सहयोगबाट खासाको नुन ल्हासाको सुन र दिल्लीको सगुन त्यहाँ बसाइ सर्छन् । हो उनीहरू खान बनाउन चूलो चौकोमा पस्दैनन् ठूलो दैलोमा पनि बस्दैनन् मात्र सेटिङ बस्छ । त्यस्तो सेटिङ ठूलो गौचरन, रक्सौल या जोगवनीको ढाँटतिर घुसेको हुन्छ । अनि बबरमहलको फाँटतिर पसेको हुन्छ । बोल बोल माछा मुखभरी पानी ।

आधुनिक भान्सेहरूको भाग बाछोमा लुछाचुँडी पनि पर्छ फेरि चोचोमोचो पनि मिल्छ । एउटा अर्कोको हुल वा बगालतिर धारेहात लाउँछ । मुण्टो बटार्छन्, फेरि चौका हान्ने मौका प¥यो भने हात मिलाउँछन् जयजयकार पनि गर्न भ्याउँछन् । यी भान्सेहरूको जात, भात, थात सबैतिर आँखा पुग्छ ।

भान्सेहरूको मुख्य श्रोत सिँहदर्बारको डायनिङ् हल र बबरदर्बारको ताल्चा साँचो हो त्ससैको आगनमा हामीलाई कौवा बनाउँछ र पाकेको बेल फ्याँक्छन् । हामी काँ काँ कराउँछौं तर पीना सुकिरहन्छ । अहिले देखिएका भान्सेहरू विभिन्न रूपरङ्गका र विभिन्न पदका छन् । कोही राता, कोही पहँेला र कुनै हरिया छन् । रङ्ग र उँचाइमा फरक रहे पनि डाडु पन्यु समाउने पक्षमा भने आ–आफ्ना मोर्चा कसेर तछाडमछाड गरिरहेका दृष्यले हामी मुलुकवासी तिनचित खाइरहेका छौं । भान्सेहरूको कुत्सित् हर्कत्का विरुद्ध सिधासाधा जनताले जुलुस निकाल्ने तयारी गर्दै गरेको अवस्था हेर्न धेरै दिन पर्खनु नपर्ला ।