काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङ नियुक्तिका लागि सिफारिस गरिएको छ । परराष्ट्र स्रोतका अनुसार काठमाडौंमा रिक्त रहेको राजदूत पदमा चीनले कूटनीतिज्ञ छन्लाई नियुक्त गर्न लागेको हो । छन् अहिले चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत छन् ।
छन्ले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका छन् । चीनले नेपाललाई प्राथमिकतामा राख्नुका कारणले पनि लामो समय दूतावासको नेतृत्व खाली राख्ने गरेको छैन । नयाँ राजदूत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञ हुन् ।
होउ यान्छीले नेपालमा चार वर्षे कार्यकाल पूरा गरेर गएपछि चीनले नयाँ राजदूतलाई पठाउन लागेको हो ।
नयाँ राजदूत छन्को एग्रिमो (सहमति) का लागि चीन सरकारले नेपाललाई पत्राचार गर्न भने बाँकी छ । नेपालले एग्रिमो स्वीकृत गरेपछि चीनले औपचारिक रुपमा छन्लाई नयाँ राजदूतको रुपमा नियुक्त गर्नेछ ।