पेनाल्टीमा चुके लेवान्डोस्की

पेनाल्टीमा चुके लेवान्डोस्की

मंसिर ७, २०७९

दोहा — रोबर्ट लेवान्डोस्कीले पेनाल्टी चुकाएपछि पोल्यान्ड विश्वकप फुटबलमा मंगलबार मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको छ । ५८ औं मिनेटमा उनको पेनाल्टी प्रहार मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआले जोगाएका थिए ।

 

पाँचौंपल्ट विश्वकप खेल्दै गरेका ओचोआले आफ्नो छविलाई मेक्सिको फुटबल इतिहासमा महान् हस्तीको रूपमा उभ्याएका छन् भने लेवान्डोस्कीका लागि विश्वकप दुस्स्वप्न बन्दै आएको छ । बालोन डी’अर जितिसकेका बायर्न म्युनिकका पूर्वस्ट्राइकर लेवान्डोस्कीले विश्वकपमा अझै गोल गर्न सकेका छैनन् ।

 

चार वर्षअघि रुस विश्वकपमा उनले कुनै गोल नगर्दा पोल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो । मेक्सिकोसँगको नतिजाले पोलिसलाई नकआउट चरणमा पुग्न गाह्रो पर्ने देखिएको छ । सोमबार राति कप्तान गारेथ बेलले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि वेल्सले अमेरिकालाई १–१ को बराबरीमा रोकेको थियो । वेल्स ६४ वर्षपछि पहिलोपल्ट विश्वकप खेलिरहेको छ । अमेरिकाले टिम वेहको गोलमा पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो र यसका लागि उनले क्रिस्टियन पुलिसिचको पास उपयोग गरे । खेल सकिन ९ मिनेटअगाडि बेलमाथि अमेरिकाको पेनाल्टी एरियामा वाल्कर जिमरमनले फाउल गरे र त्यसमै प्राप्त अवसरमा उनले गोल गरे । यो नतिजापछि समूह ‘बी’ इंग्ल्यान्ड ३ अंकसहित शीर्षस्थानमा छ ।