पैसा – मानव

पैसा – मानव

पैसा भो पद भो बडा महल भो मस्ती मिल्यो सम्पत्ति
मान्छेलाई गनेन मानिस भनी ठूलो कति भो कति
कत्रो मोह बिजोग हेर धनको आमा त आमा थिइन्
कत्रो निर्ममता छ अन्धपनको आमा पनि बेचिइन् ।

मा¥यो मानिसलाई लोभबलले घाँटी अँठ्याईकन
रागी भैकन मूढ–चेत–वलले लाखौँ लुट्यो यौवन
द्वेषी भैकन दुष्टतातिर गयो बेसुरमा झम्टन
आफ्नै साथ रहेन संयमित भै मान्छेहरूको मन ।

माया मानिसको महान मनको मन्दिरको देवता
मारी पत्थरमा पुज्यो गिरिगयों आर्यो निकै नीचता
आफ्नै बान्धव वंशको बध गरी आफै रची रात यो
आफै भन्दछ धाकपूर्वक अझै मान्छे बडा जात हो ।

भोगेकै छ अघाउँदैन कहिल्यै जाग्दै छ त्यो भोक हो
मान्छे हिर्दयहीन भो जब बुझ्यो भोगै सबै थोक हो
मान्छेकै रूपभित्र मानिस म¥यो मान्छेसरि छैन यो
लाग्यो लाज नवोल ‘आधुनिकता’ निष्ठुरता हैन यो ।