बैकुण्ठपथको यात्रा

बैकुण्ठपथको यात्रा

तिहार साहित्य

पत्रकारिताको भाषामा भन्ने गरिन्छ, एक चित्रले हजारौं तथ्यहरूको उजगार गरिरहेको हुन्छ । त्यही भएर त समाचारको मध्यमा फोटो प्रकाशित गरिन्छ र समाचारलाई प्रमाणित गर्ने कोसिस गरिन्छ । कार्टुन कमोवेश फोटोपत्रकारिता नै हो । एक कार्टुनले ब्यङ्ग्य मात्र पस्केको हुँदैन, तत्कालीन समयको आबृत्ति पनि उजागर गरेको हुन्छ । कुनै समय भारतीय कार्टुनिष्ट आर.के.लक्ष्मण आफ्ना ब्यङ्ग्य चित्रको लागि प्रसिद्ध थिए । उनले विभिन्न पत्रिकामा आफ्ना कार्टुन मात्र छपाएनन्, दाजु आ.के.नारायणको प्रसद्धि कथाशृङ्खला मालगुडी डेज्सलाई आफ्नो कलामार्फत् जीवन्त बनाए । यात्रा समाचार स्रोतको सबैभन्दा ठूलो माध्यम हो । पर्वतका हरेक पत्रहरूमा जसरी खनिजभण्डार लुकेर बसेको हुन्छ, त्यसैगरी हामीले गर्ने यात्राका हरपाइलामा कथाकहानीका खानीहरू भेटिने गर्दछन् । तपाईं बुटवल छोडेर उकालो लाग्नुस्, गोलपार्क आउँछ, त्यहाँ पुग्दा खुब गम्नुस् र पैंतीस सालको भुकम्पको याद गर्नुस् । पूर्वपश्चिम राजमार्गको सेतुको काम गर्ने पक्की पुलको मौजुदगीको कल्पना गर्नुस् । गुल्जार गोलपार्कमा फैलिएको ब्यापारको परिकल्पना गर्नुस् । एक्कासी आकाशमा मडारिएको कालो बादलको परिकल्पना गर्नुस् । सोँच्नुस् घनघोर पानी परिरहेको छ । तपाई बम्घाट नतर्दै तिनाउको उर्लदो विशाल छाल तिनाउको पक्की पुललाई बगाउँदै छ र पानीको बेग गोलपार्कसम्म आइपुगेको छ । त्यसपछिको कुरो म तपाईंलाई सम्झन आग्रह गर्दिन । किनकि तपाई सो समयमा बुटवललाई तहसनहस पारेको बाढीलाई पछाडि पारेर सिद्धबाबा पुगिसक्नु हुनेछ । मेरो उपरोक्त विषयको उठानको मतलव के हो भने, एक लेखक, कवि, पत्रकार, कथाकार, नाटककार, चित्रकार र आख्यानकारलाई सिर्जनाका स्रोतहरू पाइलैपिच्छे लाम लागेका हुन्छन् । चिडियाखोला नपुग्दै भिरालो डाँडामा बाक्लो बस्ती आउँछ । त्यो बस्तीका हरबासिन्दा सिङ्गो उपन्यास, कथाकहानीका स्रोतहरू हुन् । हरेक घरका आँगनमा दाउराका भारी देखिन्छन् । ती दाउराका भारीहरू उनीहरूका जिविकोपार्जन मात्र होइनन्, सिङ्गो भविष्यको आयब्यय पनि हुन् । बहुत दुःखले जम्मा हुन्छ एकभारी दाउरा । सर्प, बिच्छी, अरिङ्गाल, बारुला, लामखुट्टे र जङ्गली जनावरहरूसँग पैठीजोरी खेलेर मात्र होइन, बनहेरालु सरकारी कर्मचारीसँग अनेक मोलमोलाई गरेर मात्र जम्मा हुन्छ एकभारी दाउरा र पिठ्युँमा बोकिएर आँगनसम्म आइपुग्छ । त्यसका ग्राहकहरू सहरीया आम मान्छे मात्र हुँदैनन्, साहु, महाजन, भद्रभलादमी जस्ता दिग्गज जनहरू पनि हुन्छन् । कार, जिप, मोटरसाइकल हाँकेर पुग्छन् घर आँगनमा र छादुञ्जेल बार्गेनिङ्ग गर्दछन् । यो बार्गेनिङ्गको शब्दचित्र गतिलो फिचर बन्न सक्छ सिद्धहस्त पत्रकारको कलमबाट । उकालो लाग्नुस्, तल्लो शिद्धबाबा मन्दिर आउँछ । यहाँ हाम्रा आदिम पुर्खा रामापिथेकसबारे चर्चा नगरौं तर मनमनै याद भने गर्नुहोला । यदि तपाईमा आस्थाको भकारी छ भने मन्दिरको गेटतिर खुजुरा पैसा हुत्याउनुस्, मनमनै स्वस्ती बाचन गर्नुस् र ज्यानमारा विशाल पहरोसँग जीवनको भिख माग्नुस् । त्यहाँबाट अगाडि लागेपछि आउँछ, मूल वा माथिल्लो सिद्धबाबा मन्दिर । तपाईंको आस्था आस्था नै हो, यसमा मेरो कुनै गुनासो छैन । तर, पहरोमा बनाइएको मन्दिर, त्यसमा हुने पुजाआजा, पुजाआजाको सर्जमबाट हुने आम्दानी, त्यो आम्दानीबाट चलेको पन्डापुजारी, साधुसन्त, भिकारीहरूको जीवनबृत्ति आस्था, धर्मकर्मको परिचक्र मात्र होइन, सिङ्गो अर्थब्यवस्था समेत हो । त्यस मन्दिर, त्यसको दैनिकसँग जोडिएका हरपात्रहरूको जीवनचक्र आफैमा कहानी हो, उपन्यास हो र कलासिनेमा हो । दक्षिण अफ्रिकी फोटोपत्रकार केभिन कार्टरले मात्र ३३ बर्सको उमेरमा किन आत्महत्या गरे ? आजको सभ्य समाजको नजरमा उनी बहुतै मामुली घटनाबाट प्रताडित भएर आफ्नो जीवन स्वयम् आफैँले चलाउँदै गरेको कारभित्रै कार्वनमनोअक्साइड ग्यास लिक गराई निसास्सिएर मृत्युलाई गला लगाएका थिए । सुडानको भोकमरी, त्यसले निम्याएको महाविपत्ती, राहतकेन्द्रसम्म पुग्न घस्रिँदै घस्रिँदै हिँडिरहेको एक कृषकाय बालक, त्यो बालकको मृत्युको कामना गर्दै पच्छाइरहेको एक भोको गिद्ध । त्यो हृदयविदारक चित्रलाई प्लुट्जर पुरस्कारप्राप्त केभिनले सहनै सकेनन् । मृत्युलाई अँगाल्न पुगे ।

दैनिक मजुरी, आम्दानीको लेखाजोखा, अफिस, कार्यथलोको बोझ, स्कुलकलेजको होहल्लाबाट मुक्त भएर गरिन्छ यात्रा । यद्यपि यात्रा आफै आयब्ययको बहिखाता पनि हुनसक्छ । आफन्त भेट्न, प्रियसीसँग माया साट्न, बाआमासँग नियास्रो मेट्न, लगानी उठाउन, ऋण चुक्ता गर्न, हिसाव मिलान गर्न, गर्लफ्रेन्ड÷ब्वायफ्रेण्डसँग अङ्कमाल गर्न आदि आदि यात्राका प्रयोजनहरू हुन् । एक लेखक, पत्रकारको लागि उपरोक्त सबै विषयवस्तुहरू लेखनीका खजानाहरू हुन् । समाचार नेताको भाषण मात्र होइन, समाचार दसौँबर्स नबन्ने वा बन्दै नबन्नेको सिलन्यास अथवा बनेको केही महिनामै धुलिसात हुने पुलको उद्घाटन मात्र होइन । सिद्धबाबाको अनकण्टार भीर, हेडबक्स, बुटवलको पहिलो पावरहाउस, पावरहाउस निर्माणका लागि पहरोभित्र खनिएको विशाल सुरुङ्ग, राजनीतिको दाउपेच र जसअपजसको अजङ्गको भारी बनेको सिद्धबाबा सुरुङ्गमार्ग मात्र समाचार होइनन्, कथाका प्लटहरूसमेत हुन् । घिमिरे युवराज अहिले नाट्यमञ्चनको लागि देश दौडाहामा छन् । उनको टिमले केही समय पहिले बागेश्वरी सङ्गीतालयमा नाटक प्रदर्शन गरेको थियो । नाटकको विषयवस्तु निकै मामुली थियो, जलवायु परिवर्तन, प्रकृतिप्रतिको छेडखानी, विकासको नाममा रैथाने जनजातिहरूको बासस्थानको अनाधिकृत अधिग्रहण, विजुली उत्पादनको नाममा बनाइएको बाँधको कारणले नदीको प्राकृतिक बहावको अवरुद्धता, त्यसले निम्त्याएको सामाजिक, आर्थिक र समग्रमा मानवीय सङ्कट । घिमिरेका साधारण लाग्ने नाटक भित्र लुकेका अजङ्गका अर्थहरू आफैमा सार्थक पत्रकारिता हो । उनका नाटक जति साधारण हुन्छन्, त्यत्तिकै साधारण छन् उनी । लामो कपाल, अग्लो खिरिलो ज्यान, साधारण भेषभुषा उनको पहिचान हो । सिमान्तकृत जनसमुदायका भाइबहिनीहरूलाई उनले आफ्नो टिममा समावेश गरेका छन् र उनीहरूको आत्मविश्वासलाई उकालो चढाएका छन् । उनको देशभक्ति, समाजप्रतिको उत्तरदायित्व नमन गर्न लायक छ । नमन प्रिय भाइ ।

बुटवलबाट उकालो लागेपछि तम्घाससम्म पुग्दा अनेकौ बस्ती, खोला नाला, वनपाखा, खेत खलियान पार गर्नु पर्दछ । प्रकाश सपुतको ‘गलबन्दी’, पशुपति शर्माको ‘भैंसी पालेर’ खाँटी गोरसमा धित मारेको गीतको भाकामा रमाउँदै ती गीतका अन्तराहरूमा गाउँलेहरूका जीवन, सुख, दुःख, हाँसो, रुवाइलाई नियाल्न सकिन्छ । राजु परियारको ‘सुनपानी’ शीर्षकको गीतको झङ्कार जति मिठासपूर्ण छ, त्यति नै मर्मभेदी छ यसभित्रको यथार्थता । मालगुडी डेज्सका लेखक आर.के.नारायण जीवित भएको भए, लेख्दा हुन् एक लामो टेलिशृङ्खला र समाजलाई इन्कलाव भन्न सिकाउँदा हुन् । सामाजिक विभेद, जातीय अहङ्कारको विकराल कथालाई बोक्छ परियारको गीतले । भैंसी पाल्ने गीत गाउन जति सजिलो छ, त्यसको स्याहारसुसार त्यत्तिकै गाह«ो छ । गीतमा मात्रै हो नेपालमै अमेरिका, बेलायत, हङ्कङ् पाइने । हाम्रो बास्तविक जीवन त तिरिमिरी झ्याइ नै हो । बाली लगाउनुहुन्छ, स्याहार्ने बेलामा बाँदरले खाइदिन्छ, धान रोप्नुहुन्छ, समयमा मल पाइँदैन । उखु लगाउनु हुन्छ, मिलको साहुले रसजति चुसी दिन्छ । सबभन्दा ठूलोकुरो त अर्मपर्म चल्नै छोड्यो गाउँघरमा । खेताला जति विदेश लागेपछि पशुपति शर्माको गीत सुन्नेभनेको नेपाली समाजको विगतलाई सम्झन मात्र हो । तानसेन तम्घासको बाटोको मर्मसँग मेरो पनि पसिना मिसिएको छ । अर्गलीको फाँट पार गरिसकेपछि रिडी नदी माथिको आँपको बगैँचामा मैले पसिना बगाएको हुँ । आँपको बगैँचा र राजाको उकालो गरेर दुई ठाउँमा हाम्रो गाउँले बाटो खनेको थियो । तम्घास मोटर पुग्ने छ । नुनतेलको लागि दुईदिन लगाएर पैदल तानसेन पुग्नु पर्ने छैन । बेसाहा सस्तो हुने छ । हामी पढैयाहरूको आफ्नै हुटहुटी थियो । पढ्नको लागि तम्घासबाट पैदल तानसेन पुगेर त्यहाँबाट मोटर चढेर गन्तब्य पुग्नु पर्ने छैन । आँपको बगैँचा पुग्दा पशुपतिको गीतबाट मन हटाएर गुल्मेली नायक बैकुण्ठबहादुर चन्दप्रति नमन गर्नु सबैको कर्तव्य हो । उनै त थिए यो बाटोको कल्पनाकार । तानसेनका ब्यापारीहरूले चाहेजति पैसाको लोभ देखाउँदा पनि उनी टसमस नभएको कुरो किम्बदन्तीको रूपमा प्रचारित छ । जमीन, घरघडेरी, धनदौलतको लोभमा नपरेका ती अग्रजको नाम यस बाटोको नाम जुराए कसैको विमति रहने थिएन । यात्राको दौरानमा उनलाई चिनेको, उनको निष्ठा, इमान्दिारिता बारे जानकारी पाएको हरकोही ब्यक्तिले यही कुरा भन्दछ । यी विषयवस्तु उपर सिङ्गो किताब लेख्न सकिन्छ । ईन्जीनियर हिराबहादुर भलामीले कोरकार गरेको नक्सामाथि यात्रा गरिहेको होइन्छ, तम्घास पुग्दासम्म । आँपको बगैँचा, रिडीबजार, खनियाको रुख, बलेटक्सार, बीरबार, राजारुङ्खा, उर्लेनी, सिमिचौर, ह्वाक्नेछहरा हुँदै पुग्ने हो नेटा । त्यहाँबाट अगाडि लागेपछि पुगिन्छ देउराली र उपल्लो तम्घासको फेरो समाइन्छ । पचहत्तर किलोमीटर लामो यो बाटो पार गर्न पुगनपुग सात घण्टा लाग्दछ । हाइसले अलि छिटो पु¥याउँछ । बैकुण्ठ मार्गको निर्माण नहुँदासम्म तम्घास पाल्पाको यात्रा डेडदेखि दुई दिनको हुन्थ्यो । तम्घासबाट सुरु गरेको पहिलो दिनको यात्रा रिडीमा आएर टुङ्गिन्थ्यो । अलि हिँडालु मानिसहरू पुग्थे जोर्ते र थकाली भान्साको स्वाद चाख्थे । नियमित सवारी साधन, ठाउँठाउँमा खुलेका होटेलले जातीय विभेदको चक्रलाई नजानिदो गरेर साम्य पारेको छ आजकाल । हामीले बीचबाटोमा बासबस्दा जुन जातीय अपमान सह्यौं, त्यो सास्तीबाट मुक्त छन् हाम्रो समुदायका मानिसहरू । राति बासबस्ने भनेको बाहुनकै घरमा हुन्थ्यो हाम्रो पालामा । बाबु के थरी हौ ? थालमा भात पस्किसकेपछि घरबेटीले सोध्थिन् । अहो ! घरबेटीको यो थरको प्रश्न यतिबिघ्न सुल बन्थ्यो कि आधाआधि प्राण जान्थ्यो । निल्दै गरेको गास घाँटीमै अड्किन्थ्यो । क्षेत्री हुम् आमा । के क्षेत्री हौ नि ? बस्नेत हुम् । ए ! भाडगाउँले बस्नेतका नातापाता त यता पनि छन्, चिन्छौ होला कर ! यसपछिको संवादको छायाङ्कन कसरी गर्ने ? घरबेटी आमैलाई जात ढाँटेर बस्नेत क्षेत्री बनेको विचरो ओठ निचोरे दुध निस्कने विद्यार्थीको मनोदशाको मूल्याङ्कन कसरी गर्ने ?

कति कहानी छन् लेखिनु पर्ने मान्छेका । आम मान्छेहरू कहानीका भारी बोकेर बाँचिरहेका छन् । बाटोको बजेट, त्यो बजेटबाट बन्नसक्ने गुणस्तरीय बाटो, गेभिनवाल, साइडवाल, कल्भर्ट बनाउन विनियोजित बजेट र बास्तविक खर्च भएको भर्पाई, डोजरे विकासको कारणले झरेका भीरकाल्नाहरू, ती झरेका भीरकाल्नामा पुरिएका मान्छेहरूका घरबासहरूको बारेमा के एक आम यात्रुले चिन्तन गर्ला ? गर्दैन । किन गर्दैन भने ऊ पनि आम मान्छे नै हो तर परिस्थिति परिवेशले भने उसलाई आम मान्छेबाट माथि उठाएको छ । ऊ त तम्घास नपुग्दासम्म तिरिमिरी झ्याइमै रमाइरहेको हुन्छ । यसपटकको तम्घास यात्रामा मलाई साला कुत्ताले टोक्यो । कुत्ताको अगाडि साला ! यसको बारेमा मैले बहुतबार कहिसकेको छु । यो कुत्ताको टोकाइको आफ्नै समाजशास्त्र छ । समाजशास्त्रीहरू हरसामाजिक घटनालाई समाजशास्त्रीय आँखाले हेर्नुपर्ने तर्क गर्दछन् । मोति दाइको निधन, उनको तेह«ौंदिनको पुण्य तिथि, दाजुभाइको काजकिरियामा लामो समयपछिको मेरो उपस्थिति, पहिलोपटक जन्मथलोमा मैले पाइलो नराख्नु, ठाडो उकालो बाटो हिँड्न धौ मानेर सजिलो बाटो पहिल्याउँदै लट्टे भाइको घरको बाटो हुँदै सेनीपोखरी निस्कनु, बिहानैदेखि मउपर दागा गरिरहेको काठे कुकुरले बिना आवाज आएर मेरो पिँडुलो समाउनु भित्रको समाजशास्त्र बडो मर्मभेदी रहेको छ । भनिन्छ, भुक्ने कुकुरले टोक्दैन । यो कहावत सोह«ै आना सहिसावित भयो । मलाई जुन कुकुरले टोकेको थियो, उसले बिहान पनि मलाई देखेर भुकेको थियो । तर त्यो भुकाइ मेरो हप्काइसँगै गायब भएको थियो । तर जब उसले मेरो पिडुलो समाएर लछार्यो, त्यो बेला मैले चालै पाइन । मलाई टोकेर दसपन्द्र हात पर पुगेपछि मात्र उसले टोकेको भेउ पाएँ । उपरोक्त मुहवरा, उखान, भनाई पक्कै पनि म जस्तै पुकुर पीडितले जुराए होलान् ।

परिशिष्टः जिल्ला प्रहरी कार्यालयमा एउटा जटिल मुद्दा दायर भयो । मुद्दा थियो नाबालिका करणी सम्बन्धमा । कुनै एक स्कुलका शिक्षकले बाह« बर्सकी छात्रालाई अभद्र ब्यवहार गरे । (संभवतः करणीसमेत) बालिका कथित दलित समुदायकी थिइन् । शिक्षक थिए, कथित उच्चकुलीन ब्रह्माण जातिका । सरकारी वकिलले मुद्दालाई जिल्ला अदालतमा दाखिला गरे । तर थुकछेनको बहसको दौरानमा पीडित पक्षले आफ्नो बयान फे¥यो । बलात्कार भएको होइन श्रीमान् । होमवर्क नगरेको हुनाले शिक्षकले सामान्य हातपात मात्र गरेका हुन् । मुद्दाको अन्तर्यः मामुली कक्षाकोठामा होमवर्क नगरेको निहुमा शिक्षकले आफ्ना विद्यार्थीलाई सामान्य सजायँ दिनुलाई अन्यथा मानिन्न । त्यसोभए त्यति मामुली विषयलाई अतिरन्जित बनाएर अदालतसम्म किन पु¥याइयो ? अदालत पुगेपछि बयानको दौरानमा जाहेरीमा लेखिएका कुनै पनि घटना सत्य नभएको भन्दै बयान किन फेरियो ? कोठेबहसः शिक्षकका ससाना छोराछोरी छन् । बर्सभरिलाई पुग्ने अनाज उब्जाउ हुने खेतबारी छैन । मास्टरीको तलबबाट उनले जहान छोराछोरी पालेका छन् । यदि मुद्दा अदालतमा फैसलाको रोहमा पुग्यो भने लामोसमय जेल जानुपर्ने हुन्छ । लामो समयको जेल भनेको उनको परिवारको लाखापाखा वा बिखण्डन हो । पीडितका बाबुको ससानो आरन छ । उनले गाउँघरमा बालीघरे काम गरेर परिवार पालेका छन् । बर्सभरी काम गरेर बिष्टबराजुहरूले एकाध डोको मकै, एकाध पाथी धान दिने गर्दछन् । त्यही आयस्ताबाट उनको परिवार चलेको छ । यदि पीडक शिक्षक जेल गएभने गाउँनै उनको विपक्षमा उत्रिन्छ । उनका बराजुहरू अर्को आरनमा भाडा पिटाउन जान्छन् । यसभन्दा अगाडि कुरालाई तन्काउन पर्दैन । तम्घासमै बसेर गुल्मी जिल्लाकै उत्पीडित समुदायहरूको सुखदुःखको सारथी बन्नुभएको गणेश विश्वकर्माले आशातित् सुस्केरा हाल्दै कुरोको बिट मार्नुभो—सम्मानित अदालत र न्यायाधीशले पीडितको बयानलाई इन्कार गर्न पनि सक्छन् । यस्ता घटना तम्घासमा थुप्रै भएका छन् । कहानीको खोजिमा बैकुण्ठपथ हुँदै तम्घास नै पुग्नुपर्छ भन्ने छैन । यस तिहारको छुट्टीको बेलामा लाग्नुस् पुर्व नवलपरासी र सुस्ताका कथा जुराउनुस् । त्यति टाढा जानै पर्दैन, रूपन्देहीको दक्षिणीभेग मात्रै पुगे पनि हुन्छ । सजिलोको लागि लुम्बिनी जाँदा झन् बेस होला । त्यो भन्दा पनि सजिलो त हाम्रै हाटबजार, महानगरपालिकाको गेट अगाडि पातको मुठो बिक्री गरेर तिहारको सेलरोटी पकाउने सपना बुनिरहेका आमा, दिदीबहिनीहरू नै विशाल कहानीका स्रोत बन्न सक्छन् । मात्र दिमाग र कलम चल्नु पर्यो । तिहारको शुभकामना ।
२०७९ कार्तिक ४, बुटवल