पुतली र स्कुल

पुतली र स्कुल

अनौठो सयरमा छ बजार
शहरदेखि परपरसम्म
पुतलीहरूको नाङ्गा बुई चढेर
पुगेको छ जहीँतहीँ
विना सङ्कोच प्रचारमा
व्यस्त छन् महिनौंदेखि
“सांस्कारिक” पुतलीहरू
धाइरहेछन् बजार
किनिरहेछन् फुटपाथमा
आफूखुशी “सौभाग्य”
र दास बनाइरहेछन्
सिङ्गो मुलुकलाई
विश्व बजारको
बजार नाफामा छ
पुतलीहरू फिरफिराउनमैं मस्त छन्
देखिँदैन सुर्ता उनीहरूमा
चिसिँदै गएको ओछ्यान,
सेलाउँदै गएको अगेनु
वा पिलपिलाउँदो राष्ट्रिय अनुहारप्रति
भेटिँदैन सहानुभूतिको कुनै रङ
देख्दैनन् उनीहरू दायाँबायाँ
लास परोस् वा उठोस् घरबास
चितामा चढाएर समवेदना
“मै राम्री भै छु रे” … स्वरमा स्वर थप्दै
उफ्रिरहेछन् एकोहोरो
बजार, अन्धविश्वास नचाएर
चिचिलाहरूको अन्तस्करण
कब्जा गर्दै
देखाइरहेछ असभ्य सर्कस
सर्कसमैं आनन्द लिइरहेछ सिंहदरबार
ताली बजाइरहेछ नाफामा बजार
पुतलीहरू विकृत पारिरहेछन्
आफ्नै मझेरी
किनुवा सौभाग्य
न त जोड्न सक्छ सम्बन्ध
न फुक्न सक्छ अगेनु
मात्र बढाइरहेछ फोहोरको मात्रा
दृष्यले असहज र अशान्त मन
सपनामा समेत
अपिल गरिरहेछ पुतलीहरूमा
बन्द गर बेहोसी नाच
बन्द गर बेतालले उफ्रिन !
तर सुन्दैनन् उनीहरू
नफेरिएसम्म मान्छेमा
बोध गर्दैनन्
संस्कार वा कु संस्कार
“शिक्षित”नबनेसम्म पुतलीहरू
बुझ्दैनन् बजारको चलखेल
जुन बेला परिणत हुनेछन्
उनीहरू मान्छेमा
बन्द हुनेछ सर्कसको खेल 
 
प्रोफेसर ज्यू
चलाउनुस् यौटा स्कुल
जहाँ पुतलीहरू बन्न सकून्
चेतनासहितको मानव
राजी छु म पनि
श्रमदान गर्न !
यौटा स्कुल खोलौँ
मान्छे बनाउने स्कुल
संवेदनासहितको मान्छे
माटो सुहाउँदो मान्छे
तयार छु श्रमदान गर्न
आउनोस् यौटा स्कुल खोलौँ !