मुहानमा बाढी आएपछि सुर्खेतको विरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

मुहानमा बाढी आएपछि सुर्खेतको विरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

काठमाडौं । अवीरल बर्षाका कारण कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण प्रभावित बन्न पुगेको छ । खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको हो ।

संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो । यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै १० लाख रुपैयाँको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो । उक्त समस्या समाधान हुने बित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो ।

इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरिखोला बोरिखोला, इत्रामखोला र खोर्के खोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरुद्ध भएको हो । पानीको बहाव कम हुने बित्तिकै खानेपानी पुनः वितरण गरिने उनले बताए ।