नारायणी नदीमा आएको बाढीका कारण त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

नारायणी नदीमा आएको बाढीका कारण त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

 

२१ असोज , त्रिवेणी
नारायणी नदीमा आएको बाढीका कारण पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट भएको छ । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका हो ।
अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनीहरुलाई उद्धार गर्न नसकिएको अध्यक्ष घनश्याम गिरीले बताए । “पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्धारका लागि पुग्न सक्ने स्थिति छैन,” उनले भने । मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको जनाइएको छ । “मानिसहरु बाढीकै बीचमा छन्, जान सकिएको छैन, बाढी कति बेला घट्छ भन्ने छौँ”, अध्यक्ष गिरीले भने ।
नारायणीमा आएको बाढीका कारण बिहीबार गैँडाकोट नगरपालिका–२ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घरहरु डुबानमा परेका छन् । डुबानमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।
नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । विहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको उनले बताए ।