दसैँ विशेष कविता
वर्षौदेखि बेपत्ता भएका
मेरा नेताको अनुहार देख्न पाइयो
सामाजिक सञ्जालमा
मेरा प्यारा जनताहरू
“विजयादशमीको लाखौँ शुभकामना
सुख मिलोस् शान्ति मिलोस् शुभकामना”
म यता खोज्दै थिएँ
वषौँदेखि बेपत्ता पारिएका मेरा बा
खै उनको पत्तो यस पटकको दशैमा पनि पाइएन
नेताज्यू ! तिम्रो शुभकामनाले
कुन शान्ति खोज्यौ ?
मलाई कतै छोएन
फेरि पनि नताज्यू !
तिमीलाई मेरो शुभकामना
सायद मेरो शुभकामनाले
तिमीलाई पनि छुँदैन
के तिमीलाई अनुभूति छ ?
दशैँ र अरु दिनमा के अन्तर छ ?
तिमीलाई सँधै दसैँ नै दसैँ छ
मेरा लागि दसैँ मेरा गोजा रित्याउन आउँछ
तिम्रा लागि दसैँ देशको ढुकुटी रित्याउन आउँछ
तिमी दसैँमा खाएर हाँस्छौ
मैले दसैँमा खाएर रुनुपर्छ
तिमीलाई
वर्षभरिको रमाइलो दसैँ बनेर आउँछ
मलाई दसैँको एकदिनले वर्षैभरि रुवाउँछ
नेताज्यू !
तपाईँको शुभकामनाले
मलाई खिज्याउँछ
मुटुमा बिझाउँछ
भो मलाई शुभकामना चाहिँदैन
न मेरो शुभकामना
तपाइँलाई थप खुसी तुल्याउँछ
किनकि
तपाईँलाई वषैँभरि दसैँ नै दसैँ छ दाङ २०७९