१. आज नेपालका (गैर–श्रमजीवी वर्गबाट आएका लगायत) परिवर्तनकारी जमात धर्म र संस्कृति लाई लिएर चर्को द्वन्दमा छ । पुरानो परम्परा पनि छोड्न नसकेको, छोडे पनि बहुलठ्ठी (लयल–उबततभचलभम) र श्रमजीवी गरीब जनतासमेतलाई नपच्ने तरीकाले छोडेको र नयां र पाच्य संस्कृति पनि स्थापित गर्न नसकेको अवस्था छ । एकथरि मान्छेहरु समाजका आर्थिक शोषणहरुलाई भन्दा धार्मिक संस्कृतिक भेदभाव पो चर्को हो कि (वर्गीय प्रश्न भन्दा धार्मिक–संस्कृतिक प्रश्न पो चर्को हो कि) जस्तो गरी प्रस्तुत भइरहेका छन् भने अर्काथरि मान्छेहरु त्यसको उल्टो हिसाबले(अर्थात् पुराना कतिपय धर्म–संस्कृतिले वर्गीय शोषणलाई आड नै दिएको छैन जस्तो गरी) देखापर्दछन् ।
२. धर्मको अर्थ कसैले नैतिक बन्धन वा विवेक (जस्तै: ‘धर्मेण हीना पशुभि: समाना:’ ) त कसैले भाग्य, कर्म, आदि अलौकिक पक्षसंग जोड्दछन् । नैतिक बन्धन र विवेकको अर्थमा लिनु ठीक छ तर भाग्य, कर्म जस्तो काल्पनिक कुरा र अदृश्य शक्तिमा आश्रित गराएर असीमित मानव क्षमता र शक्तिलाई कमजोर गराउनु र त्यसका आडमा शोषण–दमनलाई जायज सावित गर्ने प्रयास चांहि ठीक होइन । दशैंमा मूर्तिपुजा, देवीहरुको पूजापाठ काल्पनिक शक्तिसंग आश्रित गराउने पक्षसंग संबन्धित छ तर पिंग, चंगा, औजारहरुको सरसफाइ, परिवारका सदस्यहरुको पुनर्मिलन, परिवारका जेष्ठहरुको सम्मान यस्तो काल्पनिक शक्तिमा आश्रित गराउने ब्यवहारहरु होइनन् र बढी संस्कृतिसंग संबन्धित छन् ।
३. संस्कृति भनेको समाजले हितकर देखेको लौकिक व्यवहारहरुको श्रिंखला हो । समाज लामो समय देखि स्वजीवी (आफ्नै श्रम वा मिहिनेतले बांच्ने) र परजीवी (स्वजीवीहरुको श्रम वा मिहिनेतको फलको ठूलो हिस्सा हडपेर बांच्ने) वर्गहरुमा बांडिए जस्तै यी अलग अलग वर्गहरुका संस्कृतिहरु पनि फरक फरक छन् र तिनमा केही कुराहरुमा समानता पनि छ । धेरैजसो समान कुराहरु समाज–उपयोगी छन् र निरन्तरता दिनयोग्य छन् । फरक कुराहरुमा भने एक एक गरी छानेर छोड्ने कि अपनाउने निक््यौल गर्नुपर्छ । जस्तै दशैमा पिंग खेल्नु, चंगा उडाउनु, औजारहरुको सरसफाइ गर्नु, परिवारका सदस्यहरुको पुनर्मिलन, परिवारका जेष्ठहरुको सम्मान आदि र तिहारमा दाजु–बैनीको मिलन, द्यौसी–भैलो, सेलरोटी, झिलीमिली बत्ती र फूल वर्ग निरपेक्ष (-class–neutral_)ि र समाजको हितकर कुराहरु हुन् भने निमुखाको नरबली, पशु बली (खसीको होड), तासजुवाको होड र ठूलो धनले सानो धन खिच्ने खेल, बिजुलीबत्तीको अनाबश्यक होड, दक्षिणा र कोशेली(गीफ्ट)हरुको होड, जीउ र घरको साजसज्जाको होड आदि वर्ग सापेक्ष ( class–based) कुराहरु हुन् र जनबिरोधीहरुले (परजीवी वर्गले) च्यापिरहेको र श्रमिकवर्गले छोड्न चाहेको संस्कृति हो ।
४. धर्मको अलौकिक पक्ष (पूर्वजन्म, पुनर्जन्म/परलोक, स्वर्ग, नर्क, भाग्य, ईश्वर,‘आदि) को विस्तृत चर्चा यो छोटो नोटमा संभव छैन । प्राक–ऐतिहासिक समय देखि नै यो अत्यन्त गहीरो विवादको बिषय रहिआएको छ; यो शास्वत सत्य हो कि होइन भन्ने बिषयमा सबैलाई चित्तबुझ्दो जबाफ छैन । त्यसैले यो बिषयलाई धेरैजसो देश र समाजमा ब्यक्तिगत रुचि वा छनौटको बिषय बनाउने (यसमा ब्यक्तिलाई दबाव दिन वा दबावमूलक प्रचार प्रसार गर्न नपाइने) र राज्य यो बिषयमा तटस्थ बस्ने भनेर संझौता गरिएको छ । संयुक्त राज्य अमेरिकाको औपचारिक ‘…In God We TrustÚ ’ भन्ने मान्यतामा विवाद आएर अहिले त्यसलाई सबैले मान्नै पर्ने ब्यवस्था नबनाएर त्यहां (र क्यानाडामा समेत) प्राथमिक र माध्यमिक स्कूले पाठ्यक्रमहरुमा ईश्वरवाद र अनीश्वरवाद दुबै बिषयमा विद्यार्थीहरुलाई जानकारी दिइने गरिएको छ, शिक्षक शिक्षिकाहरुले बडो होसियारीसाथ यो काम गर्नु पर्छ । सृस्ठिवाद र क्रमिक विकासवाद (evolution) वारे पढाउदा पनि यस्तै होशियारी अपनाउनु पर्छ ।
५. धर्मको यो अलौकिक पक्षको सत्यता जे भए पनि कतिपय समाजमा मान्छेले मान्छेमाथि अमानवीय शोषण–दमन चलाएको कुरो यथार्थ हो, यो अन्याय हो र यसमा धर्मलाई मुछ्नु हुदैन । अहिलेको मानव चेतनाले सती प्रथालाई जायज मान्न सक्दैन, न त दास प्रथा वा नरबलीलाई नै । अहिलेको चेतना स्तरले कसैलाई काम लगाएर ज्यालै नदिनुलाई अन्याय मान्दछ तर कति ज्याला दिनु पर्ने भन्ने वारे चाहिं सर्वमान्य सिध्दान्त बनिसकेको छैन । वैज्ञानिक समाजवादका प्रवर्तक डा. कार्ल माक्र्सले शुक्ष्मस्तरको गणित गरेर ज्यालामा निक्कै ठगी हुने वा श्रमिकको श्रमको फलको अत्यधिक हिस्सा जमीन वा कारखाना वा व्यवसायको (तथाकथित सर्वाधिकारी) मालिकले पाउने र श्रमिकले नपाउने तथ्य समाजलाई देखाइदिए र त्यसपछि संसारमा ज्यालाको मात्रा मात्रै होइन, यो विवाद ल्याउने ती जमीन/कारखाना /उद्यमको स्वामित्व वारे पनि लडाइ भैरहेको छ । कहीं जमीनको हदवन्दीसम्म उक्लिएका छन् भने कतै जमीनमाथि राज्य तथा संबन्धित जनसमुदायको स्वामित्व कायम गरिएको छ । यस्तै सुधार वा क्रान्ति कारखानाको वा वित्तीय निकायको वा उद्यमहरुको स्वामित्वमा पनि भइरहेको छ ।
६. धर्मको अलौकिक पक्षमै पनि ठाउँ ठाउँमा नयां अवधारणाहरु जन्मिएका छन् र सुधारहरु भैरहेका छन् । भारत बर्षमा कतिपय विद्वानहरुले प्राक–ऐतिहासिक काल देखिनै भौतिकवादको प्रचार प्रसार गरे । गौतम बुध्दको भौतिकवादको पक्षको बिद्रोह पनि कम प्रभावी थिएन । पछि कतिपय धर्मगुरुहरु नै अमानवीय प्रताडनाको बिरोधमा गए (जस्तै: अमेरिकाका पादरी मार्टिन लुथर किंगले भगवानले काला मानवजातिलाई अरु मानव सरहनै जन्म दिएका हुन्, दास हुनका लागि हैन भन्ने खालका चेतना फैलाएर आन्दोलन गरी दासप्रथा हटाए । गांधीहरुले चलाएको उपनिवेश बिरोधी आन्दोलन र अहिंसा आन्दोलन पनि पुराना मुढेबल र हिंसा कम गर्न केही सहायक रह्यो । नरबली लगभग अन्त्य भएको छ (इन्डियाको कतिपय मन्दिर र नेपालकै पनि कतिपय मन्दिरहरुमा अझै यो प्रथा गोप्य रुपमा चलिरहेको चर्चा सुनिन्छ र त्यसतर्फ राज्यको ध्यान जानु आवश्यक छ । सतीप्रथा बन्द भएको छ । नेपालमा दास प्रथा औपचारिक रुपमा अमेरिकामा भन्दा अगाडि उन्मूलन भएको थियो (यद्यपि कमलारी, कमैया प्रथा औपचारिक रुपमा केही दशक अघि मात्र प्रतिबन्धित भएका थिए, हलियाहरु अझै संघर्षरत छन )। छोरीबेटीको एउटा किसिमको बेचबिखन (जस्तै दाइजो प्रथा ) केही मात्रामा घटेको छ तर अर्को किसिमको बेचबिखन (जस्तै, यौन ब्यापार) बढेको छ । जमीनको हदबन्दी कानूनसम्म बनेको छ तर पूरा रुपमा लागू भएको छैन । पछि उदाएका धेरैजसो धर्मले मूर्तिपूजालाई स्थान दिएको छैन । मूर्तिपूजाको बिषयमा नेपालमा पनि यसको बिरोधमा चेतना बढेको छ (महाकवि देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री भन्ने ‘यात्री’ कविताले यसको बिरोधमा राम्रो चेतना फैलाएको छ) ।
७. धर्मको अलौकिक पक्ष ब्यक्तिको जीवन–चेत (spirituality संग पनि संबन्धित भएको हुंदा यस संबन्धी नीति बनाउंदा निकै होशियार हुनुपर्दछ । जीवन–चेत ब्यक्तिको बैयक्तिक द्रिष्टिकोणका कुरा भएकोले यसमा दिइएको दबाव धेरै ब्यक्तिलाई अपाच्य हुनसक्छ । यो दृष्टिकोण सामाजिक दबावको क्रममा ढीलो गरी बदलिने हुनाले यसमा कति हस्तक्षेप गर्ने वारे स्थानीय जनसमुदायलाई नै निर्णय गर्न दिन बेश हुन्छ । यसैले चीनियाँ समाजवादी राजनेता माओले पनि आफ्ना कार्यकर्ताहरुलाई कुनै मन्दिर लगायतका धार्मिक क्षेत्रमा आफूले पहिले हस्तक्षेप नगर्नु, स्थानीय जनतालाई नै यसको पहल लिन लगाउनु भनेको चर्चा पाइन्छ ।
८. राजालाई बिष्णुको अवतारका रुपमा ब्याख्या गरेर राजनीतिक भन्दा पनि दैविक अधिकार प्राप्त ब्यक्तिको रुपमा देखाएर बिशेषाधिकार र एकाधिकार प्रदान गर्न होस् वा समाजको असमानता भगवानको न्याय प्रणालिको परिणाम हो वा गरीबि ब्यक्तिको कर्म वा भाग्यको परिणाम हो वा यो जन्ममा दमनहरु सहे अर्को जन्ममा त्यसको फल पाइन्छ जस्ता अवधारणाहरु समाजको न्यायपूर्ण परिवर्तनको बाधक भएपनि यी बिषयहरु संवेदनशील र ब्यक्तिगत हुनुको साथै राजनीतिक दमन, आर्थिक उत्पीडन जस्तो सर्वसाधारणले सहजै अनुभूत गर्न सक्ने चीज नभएकोले यो बिषयमा पनि जनतामा चेतना बृद्धि गर्दै शक्ति सन्तुलनको हिसाबले आन्दोलनको प्रमुख बिषयवस्तु भने राजनीतिक र आर्थिक उत्पीडनबाट सुधारलाई नै बनाउनु पर्ने अनुभवले देखाएको छ । दशैं तिहार जस्ता चाडमा पनि यसका सकारात्मक पक्षहरुलाई जोड गरेर अबलम्बन गर्दै नकारात्मक पक्षहरुवारे जनचेतना ब्रिध्दिमा लाग्न पर्ने देखिन्छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर