भदौ २३ को बाँकी अंश
अहिले चलिरहेको जनयुद्धमा आफैँले कखरा सिकाएका आफ्नै काखमा हुर्किएका थुप्रै चेलाचेलीहरूको त्याग र बलिदानको भाव देखेर मन उद्वेलित हुन्छ । आफ्नै आँगनमा खेलेर हुर्किएका मिना, महिन्द्र मात्र होइन तल्लो घरकी गीताको पनि सहादत भएको छ । प्रहरीको घेरा तोडेर उम्कन सक्ने स्थिति भएर पनि भिमसेन पोखरेलले उच्च नेतृत्व क.सुरेशको सुरक्षा दायित्व बुझेर धैर्यकासाथ बलिदानी दिए । मेरै दाइको सालो भाइ कृष्ण ढकालले प्रहरीसित आम्नेसाम्ने परेर प्रहरीकै लठ्ठी खोसेर प्रतिकारपछि भाग्दै गर्दा धुवाँकोटमा सहिद भए ।

तान्द्राङ काउलेकी मातृका धिताल आफैँले कखरा सिकाएकी मेधावी छात्रा थिइन् । उनलाई पनि वैरीहरूले घेरा हालेर मारे । तान्द्राङ काउलेकै विमला पोखरेल कलाकार थिइन् । सांस्कृतिक कार्यक्रमको सन्दर्भमा आरुको ढोडेनिमा उनी लगायत अन्जान बिरही (बुद्धी श्रेष्ठ) सहित पाँच जना कलाकारहरूले सहादत लिए । बाहिर हेर्दा एक प्रकारको पीडाबोध हुन्छ । भित्र अर्कै खालको सोंच चिन्तनले घर गरेको हुन्छ । द्वन्द्वको यो स्थितिबाट मुक्त हुँदाको दिन हाम्रो लक्ष्य उद्देश्य कता ढल्किन्छ सोचिरहेका छौँ ।

हार्दिक शुभकामना !

नेपालमा जेल परेका कैदी बन्दीलाई राज्यको तर्फबाट निकृष्ट ब्यबहार गरिन्छ । अदालती फैसलाको होस् अथवा पुर्पक्षका थुनुवा हुन् राज्य र राज्यद्वारा पालिएका चौकिदार, दाइ नाइके, भाइ नाइकेको ज्यादतीले आक्रान्त बनाएको हुन्छ । राज्यले बितरण गर्ने दैनिक सिदामाथि ठेकेदारको मनोमानी हुन्छ । नेपालका सबैजसो कारागारमा क्षमता भन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी छन् । जुन सरकार आए पनि कैदबन्दी भनेका तुच्छ प्राणी हुन् भन्ने खालको नीच विचारले ग्रसित छन् । कारागारले दिने सिदाको चामल हेर्दा यस्तो पनि खाने चामल हो र भन्ने प्रश्न उठ्छ । कैदीबन्दीको भान्सा एउटा मात्र चलेकोले नाइकेहरूको दादागिरी मौलाएको छ ।

हर व्यक्ति जो उसको खाने बस्ने सुत्ने आफ्नै खालको चरित्र हुन्छ । सामुहिक काम सामुहिक बसाइ भएर पनि निजात्मक चरित्रले सबै एक अर्कासित भिन्न हुन्छन् । अहिलेको अवस्था भनेको जुवामा नारिएको गोरुलाई मालिकले छेउ भने छेउ र कुना भने कुना लाग्नुपर्ने अवस्था हो । सङ्कटकाल अघिका बर्षसम्म जेलभित्र सङ्गठन र विचारमा छलफल हुन्थ्यो । आस्थाका बन्दीहरूको छुट्टै भान्सा हुन्थ्यो । सिदाबाट बचेको चामल बिक्री गरेर बाहिर सहयोग हुन्थ्यो । बाहिरी गतिविधिको जेलभित्र पनि सूचना पुग्थ्यो र एक प्रकारको दृढता र आत्मविश्वास बन्थ्यो । अहिले मुस्किलले हप्तामा एकदिन आफ्नै परिवारलाई परबाट भेट्ने र सन्चो बिसन्चो बुझ्ने भन्दा बढी केही सूचना पाइन्न ।

हामीले परिवारलाई राजनीतिकरण गर्न सकेनौ । युद्धमा मारिएका छोराछोरी वा बाबुआमाको अन्त्येष्ठी पनि उही परम्परागत तरिकाले मनाउने गरेका छौँ । कतिपय सहिदका बा आमाले छोराछोरीको हत्यापछि भागवत वाचन वा मन्दिर निर्माण गरेर विचार चेतनाको विचलन गरिरहेका छन् । कतिपय चेतना युद्ध वा क्रान्तिको समाप्तिपछि नयाँ शिराबाट रूपान्तरित हुन्छ । वैचारिक हिसावले प्रतिवद्ध परिवारमा पनि पुलिस प्रशासन र छरछिमेकको दवावले जबर्जस्त परम्परा धानिरहेका छन् । क्रान्ति सत्तासितको लडाइँ भएकोले सांस्कृतिक क्षेत्र विशेष ध्यान पुग्नु पर्ने हो तर यो चिन्तन पछाडी परेको अनुभूति भएको छ ।

९, असोज ०५९
बोकाको टाउको र कारागारको दशैँ
सङ्कटकाल लागेपछि दिनहुँ जसो सैनिक हेलिकप्टर उडेको छ । दिउँसो वा राती सेनाको हेलिकप्टर उडेपछि कहाँ भिडन्त वा सैनिक कार्वाही भयो भनेर लख काटिन्छ । दिउँसो उडेको दृश्यवान हुन्छ तर रातिको चाहीँ आवाज मात्र सुनिन्छ । अनी साथीसँग साउतिको स्वरमा भनिन्छ ‘नाइटभिजन उड्यो’ । रातको समयमा उडेको नाइटभिजनको कारण भोलिपल्ट वा पर्सिजसो थाहा हुन्थ्यो कुन ब्यारेक अथवा प्रहरीचौकीमा दोहोरो भिडन्त भयो । रेडियोले उसको अनुकुलको समाचार प्रसारण गथ्र्यो । तर यो वर्षको घटस्थापनाको दिनदेखि हरेक बिहान गोरखकालीको दरबार नजिक हेलिकप्टर आएर बस्दथ्यो । हेलिकप्टर कहिले गोरखा बजारको टुँडिखेलमा बसेर माथि जान्थ्यो अनि कहिले नाम्जाली डाँडाको ब्यारेकमा पनि बसेर उड्थ्यो । हामी बिहानको चिया पिएर बाहिरको चौरमा छरिन्थ्यौँ । पश्चिमी बुर्जामुनी उभिएर उत्तरतिरको कालीको मन्दिर नियाल्थ्यौँ । हेलिकप्टर बसेपछि सेनाको चहलपहलको घुर्मैलो दृश्य हाम्रो आँखामा ठोकिन्थ्यो । गोरखकालीलाई राज खलकको इष्टदेवी भनेर गोरखालीहरू भन्दथे । यस वर्ष मुलुकमा सङ्कटकाल लागेकोले पनि गोरखकाली मन्दिरमा राजदरबारको आइजाइ बढेको लख काट्थे ।

हुनत यो दरबारको पूजा ब्यवस्थापन गोरखा दरबार हेरचाह अड्डाले गर्दछ । यसको तालुकी अड्डा भने नारायणहिटी राजदरबार सचिवालय हो । हेरचाह अड्डाको मुख्य हाकिमको नियुक्ति उही सचिवालयले गर्ने गर्छ । त्यो पदमा दरबार निकटका शासकहरू नै तोकिएका हुन्छन् । भनिन्छ ना.सु. सरहको त्यो पदमा आसिन व्यक्ति जिल्लाको सि.डि.ओ. भन्दा बढी पावरदार हुन्छ । सिङ्गो मुलुक राजतन्त्रको अधिनमा हुनुले पनि यो भनाई पुष्टि गर्छ ।

अहिले नवदुर्गा पूजाको निहुँमा दरबारको आइजाइ हुनु अस्वाभाविक पनि भएन । हरेक दिन राजा आफैँ आएर घण्टौ दरबारभित्र पूजा गरेर फर्किन्छन् भन्ने बजर हल्ला कारागारसम्म पनि आउँथ्यो ।

यता दशैँ आउन थालेपछि कैदी थुनुवामा पनि केही चासो र चिन्ता बढ्न थाल्थ्यो । भदौ तीन गतेको मासुको परिणामपछि कारागारको भान्सामा सरकारी सिदाको मासु मात्र पाक्न थालेको छ । अब दशैँको मासुबारे खासै चर्चा हुन छाड्यो । अष्टमीको बिहान सँधैको जस्तो सादा दालभात खाएर साथीहरू आआफ्नो ओच्छ्यानमा थन्कियौँ । करिब चार बजेतिर बोराका बोरा बोकाको टाउका कारागारमा ल्याइए । मंँसाहारी साथीहरूमा कौतुहलता बढ्यो । पछि थाहा भयो राजदरबारले एकसय आठ बोकाको भाकल दिएकोले ती टाउकाहरू र सर्वसाधारणले चढाएका बोकाको टाउका सरकारी कर्मचारी, प्रहरी, सैनिक, हुँदै कारागारका बन्दीसम्म आइपुगेको छ । कतिपय आस्थाका साथीहरूलाई यी टाउकाको मासु निल्नु न ओकल्नु बनायो भने हामी केही शाकाहारीको लागि लुतो न कन्याई भनेझैँ भयो ।

कतिपय सरकारी जागिर खाने कर्मचारी र शिक्षकहरू राज्यबाट दशैँखर्च बुझ्ने र बेग्लै रौनकसित दशैँ मनाउने बानी परेकाहरूलाई यो स्थिति पीडाजन्य पनि भयो । उता निर्जन गाउँमा घुम्दै लुक्दै पुगेका हाम्रै छापामारहरूको लागि यो दशैँ केही होइन भन्ने भयो । भोलिपल्ट नवमी र बुधबार पनि परेकोले प्रायः सबैका परिवारहरू मासुका पक्वान बोकेर कारागार आए । त्यो दिन कारागारको भान्सा मात्रै होइन सबैजसो साथीहरूको सुत्ने ओछ्यानमा मासुका भाँडाहरूले ठाउँ ओगटे । सिङ्गो जेल मासुमय बन्यो । शाकाहारी बन्दीहरूले भने पन्ध्र रुपैयाँको एक पोका डेरीको दूध पिएर दशैँ मानियो ।
(कारागारका तिनसय उनानसय दिन अप्रकाशित संस्मरणबाट)

प्रतिक्रिया

सम्बन्धित खवर