साताको कविता
तिम्रै जस्तै नयन कविजी बग्न लाग्दैछ मेरो
यै चिन्ताले प्रतिपल सखे ! धैर्य भाग्दैछ मेरो
हेर्दै आँखा सहनू कसरी चित्त बुझ्दैन मेरो
छोप्दै आयो कविवर यहाँ रात भुक्तै अँधेरो ।
धान्ने सासै भन त कसरी बासमा छैन गास
झुण्डाएछन् दलितहरूले काउलो माथि आस
के हो बस्ने रहर बनमा स्याउला ती सुकाइ
बाँच्नै पर्ने गरिबहरूले भित्र आँशू लुकाइ ।
बस्ने को हुन् विजन वनमा पात खोजी जलाइ
सोच्नै पर्ने समय नबुझी ड्याम्म गोली चलाइ
मान्छे मार्ने चलन अघि के मौलियो भो जवानी
देख्यौ डुब्दो विरहरहमा बर्दिया बाँसपानी ।
सुन्छौं राती दिन गजवको स्वर्णको यूग आयो
भोका नाङ्गा मनुजहरूको जीउने यन्त्र ल्यायो
सेतो हात्ती पनि अब यहाँ पाल्न पर्दैन भन्थे
यो जुम्राको घर सिरक हो तग्नु व्यर्थै कहन्थे ।
होहल्लामै सिमित सब भो बाँच्न पाउन्न देवी१
ती आँखाका अमर सपना साँच्न पाउन्न देवी
आमा बन्ने शरिर धुलियो अमृता२को रहेन
चन्द्रा३ तिम्रो पनि बदनको अंश बाँकी भएन ।
जुटछन् ब्वाँसाहरू शयनमै हुन्छ ढाल्ने तयारी
रित्ता फुक्ला अदन महिला, देख्दछन् ती सिकारी
रक्षा गर्नेहरू अघि बढे कस्सिए काल डाक्न
खोज्दैछन् ती कुरूपहरूले पापको खेल ढाक्न ।
काँच्चै खायौ निठुरहरू हो कोपिला बाह« वर्षे
घुम्ला पालो रवि शशिसँगै साँच्चिकै भो नहर्षे
जाग्लान् बस्ती जब जब यहाँ एक ढिक्का भएर
थन्को लाग्ला रगत पिउने जन्तुको बाँधिएर ।
१. देवीसरा वि.क. (आमा)
२. अमृता वि.क. (बुहारी)
३. चन्द्रा वि.क. (१२ वर्षीय छोरी)
२०६६–१२–१०, गीतानगर– ७, चितवन