त्यस्ता कानूनसँग नडराऊ
जसले हव्वालाई सम्पत्ती
अनि आदमलाई त्यसको मालिक मान्दछ ।
त्यस्ता धर्मसँग नडराऊ
जसले
एउटालाई महान
र अर्कोलाई नीच मान्दछ ।
त्यस्तो समाजसँग नडराऊ
जसले
धर्म, जाति र लिङ्गको आधारमा
श्रेणी तय गर्दछ ।
त्यस्तो व्यवस्थासँग नडराऊ
जहाँ,
एउटा शोषक बनेर रगत चुस्छ
अनि
अर्को शोषित बनेर चाकरी गर्न अभिसप्त छ ।
त्यस तानाशाहसँग नडराऊ
जसले
तिम्रो जिब्रो र ढाडको हड्डी
अनि,
सहीलाई सही
र गलतलाई गलत भन्ने
तिम्रो स्वतन्त्रता खोस्छ ।
तर,
ती महिलासँग निश्चित डराउनू
जो इरानमा नाच्दै
आफ्नो घुम्टो डढाउदै छिन ।
यिनै महिलाहरूले
पितृसत्ताको कफनमा
अन्तिम काँटी ठोक्न सक्छन्
तिनीहरूले
गलत परम्परालाई समाप्त गरिदिने छन।
ती, जसको चिनारी
कसैकी आमा
कसैकी दिदी-बहिनी
र कसैकी छोरी मात्रै छ,
अब तिनले
तिम्रो भोलि बिहानको सूर्यलाई
मुठ्ठीमा कस्ने छन् ।
मेरो सुझाव,
यिनीहरूसँग जोगिएर बस्नू
यिनीहरू अघि बढे भने
यिनीहरूलाई बाटो दिनू
किन कि,
अब यिनीहरूको बाटोका
हरेक अबरोधहरू
धूलोपिठो हुने समय आएको छ ।
अनु: बलराम तिमल्सिना