मङ्सिर चार

मङ्सिर चार

किसानको अन्नबाली लुट्ने

फौजी किरा पुतली भइसक्ने छ,

किसानले अन्नबाली भित्र्याएर

हँसिया हथौडा घरभित्र थन्क्याइसक्ने छन्,

बार बार जनता पोल्ने सूर्य

हुस्सु र अँध्यारो कुहिरोको घुम्टोभित्रैबाट

चोर बिरालोझैं चिहाइरहने छ,

मक्किनै लागेको बूढो रूख

सुकेनाश च्यापेर उघिरहने छ

गाई मरेपछि गोरु जन्मिने कुरै छैन

हलो गोठमा टाँगिएको छ/टाँगिरहने हो

बिरक्तिएर कोही

सिनित्तै दुई चार गिलास रित्याउला

र मात्तिएर मादल बजाउला

तर नाँच्ने कोही हुने छैन

ढोंगी शहरमा,

मन्दिरहरूमा,

मैरोहरूमा

लाैराे टेक्दै हिँड्ने बृद्धबृद्धाहरुले

परदेशिएका अाफ्ना सन्तानलाई सुनाउन 

घण्टी बजाउलान दुई चार थान

बिडम्बना, उसकै भगवानले पनि

घन्टी सुन्ने छैन !

कठै ! मङ्सिर चार !