“जोवाई दाइकोमा पसिस् ठूला ?” अर्को बिहान चियानास्ता खाने बेलामा बाले जिज्ञासा राखे । “पसेँ । तर धेरैबेर बसिन बा । खसियाहरूको आरन हेर्न जानु पर्ने । बेलुकी फर्केर यहिँ आउनु पनि पर्ने । फेरि आम्ला भनेर बिदा भएँ ।” जोवाईमा जेठा बा आमालाई भेटे नभेटेको यकिन गर्न मलाई फेरि मेघालय पुग्नुपर्ने हुन्छ । जो अबको जीवनमा संभव होला जस्तो लाग्दैन । सन् ८० को दशकतिरको कुरो हो यो । मेघालयको नङ्पो, आसामको उमराङ्सो हुँदै बा घर फर्केको पनि ४० वर्षभन्दा बढी भयो । अहिले बा बाँचेका भए ८८ वर्षका हुने थिए । बालाई घर फर्काउने उद्घोषका साथ पार्टी जीवनको परित्याग गर्दै नवविवाहित श्रीमतीलाई साथमा बोकेर म प्रवास लागेको थिएँ । भाइबहिनीहरू जसरी हुर्किए पनि, आमाले सन्तानहरूको हातमुख जोराउन जतिसुकै कष्ट गरे पनि उनले सानदार जिन्दगी जिए । यी सबै कुरालाई आगामी गनथनमा कहिँदै गइनेछ । प्रदेश लाग्दा जे अठोठ गरेको थिएँ एउटा बाहेक सबै पूरा गरेँ मैले । बालाई घर फर्काएँ । हामीलाई हुर्काउँदा, बढाउँदा, पाखोबारी जोर्दा थपिएको ऋणधनलाई रफादफा गरेँ । घरपरिवार चलाउँदा, चाडपर्व मनाउँदा, सरसापटी चलाउँदा ऋणधन त लाग्छ नै, बाको सो जायजेथालाई आफ्नै दायित्व संझी सहर्ष स्वीकार गरेँ । सबैलाई सकिएन, तर आफुलाई ओतलाग्न मिल्नेसम्मको बासको जोहो गरेँ । सिलाङ पुगेर कलेज जीवन शुरु गर्ने मेरो महान् अठोठले भने हावा खायो । शिक्षाको मामिलामा जुन रुपमा प्रवास लाग्दा थिएँ त्यही रुपमा सलक्कै नेपाल फर्किएँ ।

मनको लहड नै भनौ खसियाहरूद्वारा सञ्चालित आधुनिक आरनलाई हेरेर ज्ञान आर्जन गर्ने धोको पनि जोवाई पुगेर पूरा गरेँ मैले । घडीको सुइ मेरो हालतउपर तरस खाएर नरोकिने रहेछ । समयको सुइ आफ्नै रफ्तारमा गोता खाइरहेको थियो । यता मेरो मनको बबंडरले पनि सोही रफ्तारमै आँधीको रुप लिइरहेको थियो । उसैबीच म गुवाहाटी पनि पुँगे । गुवाहाटीको पल्टन बजारमा पुगेर आफुसँग रहेको औजारहरूको लिष्ट मुताविक होलसेल दोकानको खोजविन गरी लागत मूल्यको जानकारी लिएँ । पारिवारिक वातावरण, आर्थिक हैसियत जेजस्तो भए पनि संगत गुनाको फल भनेझैँ म सबैले पत्याउने, बिक्ने खालको थिएँ । राम्रैसँग हिन्दी बोल्न सक्ने भइसकेको थिएँ । आइपर्दा अङ्ग्रेजीका दुईचार शब्द पनि घुसाइ हाल्थेँ । गोजीमा जसोतसो गुवाहाटी घुमेर नङ्पो फर्किन सक्ने बस भाडा बराबरको औकातको मालिक भएता पनि औजारहरूको मुल्यबारे मारवाडी ब्यापारीहरूसँग कुरो गर्दा लखपति जस्तो अभिनय गर्न सक्थे । “म सामानको मूल्यको जानकारी लिन मात्र आएको हुँ । उद्योग शुरु गर्दा तपाईंकै दोकानबाट सामान किन्ने छु ।” राम्रै ब्यापार हुने आशामा रोमलिएका मारवाडीले आफ्नो काउण्टरमा बसालेर चिया पिलाउँदाको चिनीको मिठास आज पनि जस्ताको तस्तै छ मसँग । आधुनिक कृषि औजार उद्योगको परियोजना तैयार भयो । कारखाना राख्ने स्थान टुकुने दाइकै जग्गालाई चुनियो । मकैबारीबाट नङ्पो आइपुगेपछि बास तथा आरन सञ्चालन गर्न मिल्ने प्रकारको उपयुक्त घर टुकुने दाइकै घर उपयुक्त हुने लाग्यो । हामी आउनुभन्दा पहिले पनि सो घरमा भाडावाला बस्ने गर्दथे । त्यति लामो त होइन, तर तीनचार परिवार बस्न सकिने बासको कप्टेराले बारेर माटोले लिपपोत गरिएको घर जस्तैजस्तै टहरो थियो त्यो । हामीले दुईटा कोठा किरायमा लिएका थियौं । घरसँगै जोडिएको राजमार्गतिर मुख भएको ससानो आगन पनि थियो । जसलाई बाले बारबेर गरेर आरनको रुप दिएका थिए ।

सिलाङको बडाबजार र गुवाहाटीको पल्टन बजारमा सोधपुछ गरिएको सामानहरूको मूल्यमा तलमाथि प¥यो । निःशन्देह गुवाहाटीभन्दा सिलाङ महंगो ठाउँ हो । त्यसउसले मात्र होइन, गुवाहाटीबाटै सिलाङ पुगेर बिक्री हुने भएकाले सामानको मूल्यमा अन्तर त आउने नै भयो । लिष्टअनुसार सबै सामानको मूल्य पुग्यो सातआठ हजार भारुभन्दा बढी । औजारको नाम लिष्टमा पंखा, लिक, ग्रेण्डर, ससानो, वेल्डीङ मेसिन, विभिन्न साइजका सनासा, विभिन्न साइजका रेती र घन मार्तोल आदि इत्यादि थिए । त्यस उप्रान्त मेरो सपनाको उद्योगको मूल्य सहितको नाम लिष्ट बोकेर चहार्न थालेँ म ऋण दाताहरूको घरआगन । नचहारेर के गर्नु ? किनकि म, मेरा बासँग त गतिलो जहर खाने पैसा समेत साथमा थिएन । चालु पुँजी सहित कुलपुँजी लगभग दश हजारभन्दा बढी चाहिने अनुमान गरियो । गरियो भनेर पनि के भन्नु ? उद्योगको लहड मेरो थियो । बालाई यस बारेमा कुनै मेलोमसो थिएन । अनिताजी झन् सुनारकी छोरी, यो बेतुकको घन ठोकाइको सपनामा उल्झिने कुरै भएन । त्यसैले म आफैले अनुमान गरेँ भन्नुपर्छ, औजार खरिद र उद्योग सञ्चालनमा आउने मोटामोटी रकम रुपैयाँ दश हजार भारुभन्दा बढी वा तलमाथि ।

कहाँबाट जोरजाम गर्नु यत्रो रकम ? साँच्चै नै मेरो लागि यो एउटा महाप्रलयको कुरो थियो । बासँग हुने भनेको बिहानदेखि बेलुकीसम्म घनठोकाइबाट आउने त्यही पचास साठी रुपैयाँ थियो । यद्यपि त्यतिबेलाको जमानामा दैनिक पचास साठी रुपैयाँको आम्दानी हुनुभनेको बहुतै ठुलो कुरो थियो । मकैबारीमा रहेको पुरानो आरनमा कमाइ केही बढी हुन्थ्यो । किनकि त्यो आरन राजमार्गसँग जोडिएको थियो । जोवाई खेलेरीहाटबाट गुवाहाटी कोइला ढुवानी गर्ने गाडीका ड्राइभरहरू बाका नियमित ग्राहक थिए । सिलाङको उकालो लाग्दा गाडीका भाँचिएका स्प्रीङपट्टाहरू औजार बनाउन दिएर जाने गरेको मैले पनि देखेको थिएँ । ती ड्राइभरहरूले बिना मोलमोलाई बाले मागेजति मूल्य तिरेर जाने गर्दथे । नङ्पोमा त आरन राजमार्गसँग जोडिएको भए पनि बाटोभन्दा केही माथि टिलामा थियो । राजमार्गमा चल्ने ड्राइभरहरूले देख्न सक्ने अवस्था नै थिएन । जेजस्तो भए पनि बाको एक्लो ज्यानले ठोकेको घन मार्तोलले त्यत्रो रकम जोरिन सकिने कुरै भएन ।

सपनाको सिरानीको शुरुवातको सेरोफेरोमा आधुनिक कृषि औजार उद्योगको लागतबारे कुरो गर्दा दाजु रणबहादुर क्षेत्रीले स्टेट बैंकको बाटो देखाउनु भएको थियो । मेघालय सरकारको घरेलु उद्योगलाई प्रोत्साहन गर्ने नीति रहेको पनि उहाँले मलाई बताउनु भएको थियो । अब त्यही एउटा सुगम र सोझोबाटो हिड्ने निधो गरेँ मैले र दाइको सरणमा पुगि गुहार लगाएँ— दाइ उद्योग चलाउन त दश हजारभन्दा धेरै पैसा चाहिने भयो । यत्रो पैसा कहाँबाट पाउनु ? दाइले गएर बैंक मेनेजरलाई भनिदिनु पर्ने भयो । दाजु रणबहादुर क्षेत्री आज यस धतीमा हुनुहुन्न । उहाँ बिदावारी भएको पनि दुई दशक पुगिसक्यो । त्यसैले उहाँसँग गरिएको संबादलाई मैले जुनरुपमा लिपिबद्ध गरेको छु, त्यसको अभिषरण गर्न त सकिदैन । तर संबादको आसय यही थियो र उहाँले मेरो आग्रहलाई बडो सहजताकासाथ लिँदै मलाई स्टेट बैंक अफ इण्डियाको नङ्पोस्थित अफिसमा पु¥याई मेनेजरसँग सानदार अङ्ग्रेजी भाषामा मेरो परिचय गराउनु भएको थियो ।

छोटो बार्तालाप रणबहादुर क्षत्री दाजुकै बारेमा गरौं । नङ्पोमा घरजम गरेर बस्नुभएको रणबहादुर क्षेत्री प्रवासी नेपालीहरूको बीचमा मात्र नभएर रैथाने खसियाहरूको बीचमा पनि परिचित हुनुहुन्थ्यो । “यो नेपाली ठिटो….”जस्ता प्रख्यात गीतका सर्जक उहाँ नाटक लेखनमा सिद्धहस्त हुनुहुन्थ्यो । अर्घाखाँचीका सापकोटा थरका सिलाङे ब्रम्हाण महाजनका सुयोग्य सुपुत्र, आमा मगर समुदायको भएको कारणले हिन्दु वर्ण ब्यवस्थाको परिपाटी अनुसार उहाँको जात क्षेत्रीमा गणना हुन पुग्यो । मैले आसाम छोडेर नेपाल फर्केर बुटवलमा घरजम गर्न पुँगे । २०५८/०५९ साल तिर उहाँ आफ्ना पिताजीको थातथलो खोज्दै अर्घाखाँची जानु भयो र कपिलवस्तुतिर अंश वापत जग्गा पाउनु भयो । उहाँ सो बेला मेरो घरमा लगभग हप्तादिनभन्दा बढी बस्नु भएको थियो । सोही बसाइको दौरानमा दाजुलाई उहाँसँगै हुर्केबढेकी क. राधा ज्ञवालीसँग भेट गराउनुका साथै रेडियो लुम्बिनीमा पनि पु¥याएको थिएँ । सो बेला स्टेसन मेनेजर मोहन चापागाई हुनुहुन्थ्यो सायद । मोहनजीसँग मैले दाइको परिचय गराउँदै एउटा अन्तरवार्ता रेकर्ड गरेर राख्न अनुरोध गरेको थिएँ । काम कुरो अपर्झट आइपुगेको र दाइको बारेमा रेडियो लुम्बिनी परिचित नभएको कारणले मोहनजीले उहाँसँग बार्तालाप गर्ने जिम्मा मलाई नै दिनुभएको थियो । दाइसँगको कुरोकानीको भ्वाइस रेकर्ड रेडियो लुम्बिनीको रेकर्डिङ्ग सिस्टममा अझै पनि कतै न कतै लुकेर बसेको होला । दाजु रणबहादुर क्षेत्रीले एंङ्लो इण्डियन बैक मेनेजरसँग जानपहिचान गराइदिनु भयो । आज संझदा पनि उदेक लाग्छ, जुन ऋणधनको चक्करमा रोमलिएर बा सिलाङ हानिएका थिए, त्यही सिलाङको सेरोफेरोमा पुगेर म आफै ऋणधनकै चक्करमा फस्न गइरहेको थिएँ । सायद यहि होला विधिको चक्कर भनेको ।

भाद्र २४, २०७९ बुटवल ।

प्रतिक्रिया

सम्बन्धित खवर