मैले वी.ए.मा एक विषय दर्शनशास्त्र लिएको थिएँ । एम.ए.को अध्ययन गर्दा मेरो रोजाइमा दर्शन नभएर अङ्ग्रेजी परेको थियो । तर अङ्ग्रेजी र दर्शन दुबै विषयको फर्म भरेको थिएँ । अङ्ग्रेजीमा एड्मिशन खुल्नुभन्दा पहिले दर्शनशास्त्रको एड्मिशन खुल्यो । म दर्शनशास्त्रमा भर्ना भएँ । दर्शनशास्त्रमा एम ए अध्ययन गर्न थालें । पछि अङ्ग्रेजीमा एड्मिशन खुल्यो । म सेलेक्ट भएँ । अङ्ग्रेजीमा भर्ना हुन दर्शनशास्त्रबाट विदा लिएँ । मलाई लागिरहेको थियो मेरा प्राध्यापकहरू अङ्ग्रेजीमा सर्दा दुखित थिए । दर्शनशास्त्रमा एम.ए. पढ्ने एकजना मात्र नेपाली छात्रा आसामतिरकी क्षेत्री (नाम विर्सें) थिइन् । एम.ए.अङ्ग्रेजीमा पनि एक जना मात्र नेपाली भाषी विद्यार्थी चन्द्रा राई थिइन् । चन्द्रा राई नागालैण्डकी बासिन्दा थिइन् । यिनको विवाह आसामका टंक राईसित भएको थियो । त्यतिबेला टंक राई नागालैण्डको राजधानी कोहिमामा वकालत गर्दथे । पछि उनी आसाम विधानसभाका सभामुख (स्पीकर) भएका थिए ।
एक दिन बाटोमा मेरो भेट समाजशास्त्रका विभागीय प्रमुख पञ्जाबी प्रोफेसरसित भयो । उनले कुरै कुरामा मसित नेपाली जाति, नेपाली भाषा तथा संस्कृतिबारे जानकारी लिन खोजे । त्यस बारे मैले जानकारी दिएपछि उनले भने मलाई समाजशास्त्रमा भर्ना गर्न इन्छुक थिए । शिलाङको सेन्ट एन्थनी कलेजका नेपाली विषयका प्राध्यापक गोपीनारायण प्रधान चाहन्थे म नेपाली विषयमा एम.ए. गरुँ । मैले प्रा. गोपीनारायण प्रधानलाई भनेको थिएँ– ‘अङ्ग्रेजीमा एम.ए. गरेपछि म नेपालीमा एम.ए. गर्छु । तर नेपाल आएर नेपालीमा एम.ए. गर्ने कुरा त परै जाओस् टियुबाट राजनीतिशास्त्रमा एम.ए. दिएर सबै लिखित पेपरमा पास गरेर पनि भिलेज प्रोफाइल नबुझाएको हुनाले त्यो डिग्री त्यत्तिकै अधुरो रह्यो । यहाँसम्म कि मैले शिलाङमा वी.टी. (एक वर्षे वी.एड. बराबर) पढेर पनि पूरा जाँच नदिएको हुनाले अधुरो रहन पुग्यो । म फेरि वी.टी.को परीक्षा दिन पट्टि लागिन । मलाई लाग्छ वी.टी.को डिग्री नलिए पनि त्यसको अध्ययन पूरा गरेको हुनाले मलाई त्यो शिक्षण पेशामा धेरै सहायक हुन पुगेको थियो ।
मैले हाई स्कुलमा एक विषय संस्कृत लिएको थिएँ । पी.यु.वी.ए.मा पनि एक विषय संस्कृत लिन चाहन्थें । तर अरू विषय लिंदा संस्कृत रोजाइमा पछि प¥यो । पी.यु.मा सेन्ट एन्थनी कलेजमा पढ्दा एक विषय लजिक (तर्कशास्त्र) लिएको थिएँ । यसकारण कि दर्शनशास्त्र पढ्न लजिक आवश्यक मानिन्थ्यो । वी.ए.मा दर्शनशास्त्र अध्ययन गर्न खोज्दा सेन्ट एन्थनी कलेजका प्रिन्सिपल फादर जोसेफले दर्शनशास्त्र पढ्न कम्तीमा १० विद्यार्थी हुनु पर्दछ भने । हामी मात्र पाँच जना विद्यार्थी भयौँ । चार जना नेपाली एक जना मारवाडी । दर्शनशास्त्र अध्ययनको लागि अनुमति नपाएपछि अर्थशास्त्र लिएर वी.ए.मा भर्ना भएको थिएँ म अरू साथीहरू सहित । पछि शिलाङ कलेजले हामीलाई दर्शनशास्त्रमा अध्ययन गर्ने अनुमति दिएको हुनाले सेन्ट एन्थनी कलेज छोडर शिलाङ कलेजमा भर्ना भयौँ । सुरुमा शिलाङ कलेजमा प्रिन्सिपल दर्शनशास्त्रकै प्रोफेसर बङ्गाली थिए । पछि हामीलाई नेपाली विषय अध्यापन गर्ने वाणिज्य शास्त्रका प्रोफेसर ध्रुवसिंह रावत प्रिन्सिपल भए । नेपालीमा एम.ए.गरेको शिक्षकको अभावमा बाणिज्यमा एम.ए. ध्रुव सिंह रावतले नेपाली पनि पढाउँथे ।
जे होस्, म एक महिनासम्म नेहुमा दर्शनशास्त्र विभागमा दर्शनशास्त्रको विद्यार्थी रहेको थिएँ । पछि अङ्ग्रेजीमा अध्ययन गर्ने सुरमा मैले मेरो एक प्रिय विषय दर्शनको अध्ययन छोडिदिएको थिएँ । तर पनि म दर्शनशास्त्रबाट जति टाढा भाग्न खोजे पनि मलाई दर्शनशास्त्रले पच्छाइरह्यो निरन्तर । मैले बुटवल बहुमुखी क्याम्पसमा अङ्ग्रेजीमा एम.ए.को अध्यापन गर्दा एक विषय दर्शनशास्त्रसित सम्बन्धित पुस्तक अध्यापन गर्न रुचाएँ । त्यो पुस्तक थियो – सोफीज वल्र्ड (Jostein Gaarder’s Sophie’s World) । यो पुस्तकको अध्यापन गर्दा मलाई कुनै इङ्गलिसको प्राध्यापक नभएर दर्शनशास्त्रका प्राध्यापक हुँ जस्तो अनुभूति हुन्थ्यो ।
मैले नेहुमा दर्शनशास्त्रको विषय छोडेर अङ्ग्रेजीमा एम.ए.मा भर्ना हुने बेलामा दर्शनशास्त्रका विभागीय प्रमुख डा.प्रोफेसर मृणाल मिरीलाई भनेको थिएँ –‘तपाईंले दर्शनशास्त्र सम्बन्धी गोष्ठी सेमिनार आदि कार्यक्रम आयोजना गर्दा मलाई पनि खबर गर्नु होला । म त्यसमा उपस्थित हुने छु ।
डा मृणाल मिरी आसामका एक जनजाति समुदायका व्यक्ति थिए । उनले दिल्लीबाट दर्शनशास्त्रमा एम.ए. गरेपछि बेलायतबाट पीएचडी गरेका थिए । उनी भारतका दर्शनशास्त्रका यिनेगिने व्यक्तिमध्ये एक थिए । उनको सरल व्यक्तित्वबाट जो कोही पनि सजिलै प्रभावित हुन सक्दथ्यो । उनले दिल्लीमा अध्ययन गर्दा उनको एक पञ्जावी छात्रा सुजातासित प्रेम भएको रहेछ । उनीहरू दुबै विवाह गर्न मंजुर रहेछन् । तर सुजाताको बुबाले आसामको जङ्गलको युवकलाई म छोरी दिन सक्दिन भनेर विवाह गर्ने अनुमति दिएका रहेनछन् । उल्टै उनको विवाह अर्कै युवकसित गराइदिएका रहेछन् । सुजाताको बिबाह भएको केही वर्षपछि उनका पतिको अचानक असामयिक मृत्यु भएको रहेछ । दिल्लीबाट दर्शनाशास्त्रमा पीएचडी गरेकी सुजाताले पुनः यिनै डा. मृणाल मिरीसित दोस्रो विवाह गरेकी रहिछन् । उनका पहिलेका पतितर्फका सन्तानलाई डा मृणाल मिरीले आफ्नै सन्तानको रुपमा ग्रहण गरेका रहेछन् । डा. सुजाता मिरी पनि आफ्नै श्रीमानसित दर्शनशास्त्रकी प्राध्यापक रहेकी थिइन् । उनले पनि नेहुको दर्शनशास्त्र विभागमा दर्शनशास्त्रको अध्यापन गर्दथिइन् ।
दर्शनशास्त्र विभागले एकजना पादरीलाई धर्मबारेको प्रवचनको लागि आमन्त्रित गरेको रहेछ । यसको सूचना मलाई डा मृणाल गिरीबाट प्राप्त भयो । म कार्यंक्रम स्थलमा पुगें । हल खचाखच भरिएको थियो । दर्शनशास्त्र विभागमा धार्मिक विचार सम्बन्धी प्रवचन रुचिकर नहुने कुरै भएन । त्यस दिन ती ईशाई पादरीले ईंश्वरका बारेमा दिएको प्रवचनको एउटा कुरा मलाई निकै उचित र सटीक नै लाग्यो । ती पादरीले ईश्वरका बारेमा चर्चा गर्दै भनेका थिए– ‘यदि तपाईहरूले मलाई तिम्रो ईश्वर छ भने हामीलाई देखाऊ भन्नु भयो भने म यहाँ मेरा ईश्वरलाई सशरीर उपस्थित गराएर देखाउन सक्दिन । ईश्वरको अस्तित्व कुनै प्रयोगशालामा जाँच पडताल गर्ने कुरा होइन । प्रमाणित गर्नुपर्ने कुरा होइन । ईश्वरको अस्तित्व वा ईश्वर भए नभएको कुरा कुनै तर्कशास्त्रले प्रमाणित गर्ने कुरा पनि होइन । ईश्वर मान्नु नमान्नु वा ईश्वरमा विश्वास गर्नु नगर्नु एउटा आस्थाको कुरा हो । भगवानमा आस्था हुनेहरूका लागि भगवान छन् । आस्था नहुनेहरूका लागि भगवान छैनन् ।’
जे होस्, ईशाई धर्मगुरुले ईश्वरको अस्तित्व तर्कले प्रमाणित गर्ने कृुरा होइन भने पनि फ्रेन्च दार्शनिक देकार्ताले तर्कद्वारा ईश्वरको अस्तित्व भएको कुरा प्रमाणित गर्न सक्दछु भनेका छन् ।
बाइबलले भनेको छ भगवानले मान्छेलाई आफ्नै स्वरुपमा बनाएका थिए । भगवानले ईडनको बगैचामा पहिला आदम र ईभलाई जन्म दिएका थिए । हिन्दु धर्मशास्त्रले मनुलाई प्रथम मानव मान्दछ । कार्ल मार्क्स भन्दछन् भगवानले मान्छेको सृष्टि गरेको होइन । बरु मान्छेहरूले नै भगवानको सृष्टि गरेका हुन् । एङ्गल्स आफ्नो पुस्तक ‘बाँदरदेखि मानवसम्म’मा भन्दछन्– ‘मान्छे बाँदरको विकसित रुप हो’ । ब्रिटिश बैज्ञानिक डार्विनको विकासवादको सिद्धान्तले पनि यही कुरालाई पुष्टि गर्दछ ।
प्राचीनकालका ग्रिक दार्शनिक तथा कवि जेनोफानिजले मान्छेले आफू जस्तो भगवानलाई सृष्टि गरेका छन् भनेका छन् । गोराले गोरा भगवान बनाउँछन् भने कालाले काला भगवान । घोडा वा गोरुलाई पनि भगवान बनाउन दिने हो भने उनीहरूले पनि आफू जस्तै भगवान बनाउने छन् । घोडाले घोडा जस्तो भगवान बनाउने छ । गोरुले गोरु जस्तो भगवान ।
यो कुरा उनी यसरी भन्छन् –
But mortals suppose that gods are born,
wear their own clothes and have a voice and body.
Ethiopians say that their gods are snub-nosed and black;
Thracians that theirs are blue-eyed and red-haired.
But if horses or oxen or lions had hands
or could draw with their hands and accomplish such works as men,
horses would draw the figures of the gods as similar to horses,
and the oxen as similar to oxen,
and they would make the bodies
of the sort which each of them had.
२३–५–२०७९