बदलिसकेको मानिस

बाटो बदलिसकेको मानिस

जब तपाईंका अगाडि उभिएर

फेरि बाटोको कुरा गर्छ

सम्झनुस् त्यो मानिस

हिजोको मानिस नभएर

कुनै नयाँ स्वरूपमा फेरिएको

नवउदारवादको मन्त्र जप्ने

उत्तरआधुनिक समाजवादी

वा त्यस्तै त्यस्तै

बहुराष्ट्रिय कम्पनीमा उत्पादित

नयाँ लाग्ने तर पुरानै

सामग्री हो भन्ने मान्नुस्

 

कमरेड वा समाजवादी

विशेषण वा उपाधि

यस खाले शब्द

तिनकै कारखानामा

बनेर बाहिर आएका छन्

मानिस जस्तै तिनले पनि

आफ्नो रङ्ग खुइल्याएका छन्

 

झापा कहिले

काठमाडौ कहिले

जनकपुर कहिले

कहिले पूर्व

कहिले पश्चिम

कहिले उत्तर दक्षिण

दौडाहामा छन्

नाउँ जे राखेको होस्

विद्रोह क्रान्ति मुक्ति

प्रहार प्रगति अथक

सबै जाली छन् जाली

कुकुरको मासु बेच्ने

सुँगुरको खोरमा पस्ने

ठग छन् ठग

चटके दुइजिब्रे छन्

तिनकै गीत तिनकै बाजा

सुन्न बाध्य छन् मानिस ।

 

चुनाव

आओ सबै

हिजोका दुस्मनी भुलौं

र दाम्लोमा बाँधियौं

 

घाँस खाने पर्व

उत्सव आएका छन्

एउटै गोठमा नारियौं

र छानी छानी

स्वादिलो घाँस खाऔैं

 

भारतेली अम्रिकाली

देसी विदेसी

उत्तरआधुनिक आधुनिक

नवउदारवादी कुँडो

ल्याप्ल्याप्ती चाटौं

अनि आफुलाई

चौबिस क्यारेटको

क्रान्तिकारी समाजवादी

लोकतन्त्रवादी बनाऔं

 

घाँस खाऔं

कुँडो खाऔं

गणतन्त्रको नयाँ

पर्व मनाऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार