जेल बसाइका ती दिनहरु – दुइ

जेल बसाइका ती दिनहरु – दुइ

भदौ २०५९

भदौ ३ गते संयुक्त सुरक्षा फौजले कारागारमा ज्यादती गरेर फर्किएपछि कारागार शाखाका हाकिम रुझेको बिरालो जस्तै बने । आफ्ना जिम्मामा रहेका थुनुवा र कैदी बन्दी मध्ये खासगरी आस्थाका माओबादी माथि अमानवीय यातना दिइएपछि उनी थुनुवाका अघि नालायक ठहरिए । खासमा त्यो मासु सरकारी सिदाभित्रकै सहुलियत थियो । मासु खरीदका लागि मेष नाइके कारागारको कार्यालय सहयोगी र सुरक्षाको प्रहरीले खरीद गरेका थिए । आफू मातहतका थुनुवामाथि सेनाको ज्यादतीले प्रमुख जिल्ला अधिकारीमाथि पनि प्रश्न खडा भयो तर सिडिओले न सेनासङ्ग स्पष्टिकरण लिन सक्छ न हामिसँग माफी माग्न सक्छ । जिल्लाको प्रशासन अकर्मण्यमा फसेको भान हुन्थ्यो । सैनिक हैकम यत्तिकैमा रोकिएन ।

आज बुधबार तीजे पन्चमीको दिन अधिकाँश महिलाहरु आफ्ना श्रीमान भाइ दाइ भेट्न सदर मुकाम आए । धेरैजसो बन्दिहरुका आँखा कारागारको मुल ढोकामा छ । अहँ एकजनासम्म भेट्न आएको देखिँदैन । अदालतको अगाडिपट्टिको बाटोमा सेनाको तैनाथी खडा भएर बसेछ । सरकारी काममा जाने बाहेक कारागारमा भेट्न जाने परिवार र आफन्तको हूल हरमटारी चोकमा खडा भएर अनुमती मागेका छन् तर सेनाको कमाण्डरसित कुनै सम्बेदना छैन । आफ्ना बन्दी भेट्न ल्याएका खाद्य बस्तु सडकमा प्रदर्शन गरेर उनीहरु अडिग छन् । चोकमा मेला लागेजस्तै भिड छ । तीज पर्वको पन्चमी भएका कारण महिलाहरु उपवासको भोक बिर्सिएर आफन्त भेटेर दुख पोख्न हतारिएका छन् तर स्थानीय प्रशासन यो दृश्य हेरेर मौन बस्छ । झिनो सूचना प्रहरीले साउतीको स्वरमा हरमटारीको दृश्य बताइरहेका छन् ।

अस्तिको पिटाइले गलेका हामी धेरै साथी ओछ्यान ढुकेर चुपचाप झोक्राएका छौँ । कुनै बेला बाहिर निस्किएर दक्षिणी बुर्जामुनी उभिएर उत्तरतिर आँखा लगाउँछौँ र उदास अनुहार लिएर कोठामा फर्कन्छौँ । आशा भन्ने जिजीविषा पनि अनौठो हुने रहेछ । प्रत्येक बुधबार भेट्न पाइने आशमा ढुकेका हामी थुनुवाको मन साँच्चै एकतमासले अमिलिएको छ । दिनभर कुर्दै र हेर्दै आजको घाम ओरालो लाग्यो । बाहिरी पोष्टमा पाँच बजेको घण्टी हानेपछि जेलको नाइके सरोज राइले सिठ्ठी फुक्यो । मन नलागी नलागी आआफ्ना थाल समातेर खानाको लाइनमा उभियौँ ।

२०५९ भदौ ७

कारागारमा सेनाको अप्रेशनपछि र बन्दिहरुमा भेटघाटमा लगाइएको प्रतिबन्धपछि एक प्रकारको सन्नाटा आयो । हामीभित्र एकखाले डर पैदा भयो । उता माथि बजारतिर पनि इतर काङ्ग्रेस एमालेलाइ पनि सम्बेदित बनाएछ । सदरमुकामका नागरिक समाजले यस्तो ज्यादतिको खुलेर बिरोध नगरे पनि भित्र असन्तुष्टी ब्यक्त गरेको खबर कारागारको सहयोगी कर्मचारी जितबहादुरले सुनाए । उनीहरुले सिडिओसित भेटेर जेलरले माफी माग्नुपर्ने कुरा गरेपछि सिडिओ जेल निरीक्षणमा आउने भयो । समाचार सुनाएर जितबहादुर बाहिर गयो ।

दिउँसो डि एस पि र सिडिओ सहित कारागार शाखाको नासु जेलभित्र पसे । सिडिओ नतमस्तक थिए । उनले सिङ्गो शासन ब्यबस्थामा सेनाको हस्तक्षेपले आफुहरु केही गर्न नसकेको लाचारी बताए । मेरो अडानले जेल आएका सबै बचाउन सकेको छु यसैमा गर्व गर्नुस् भने । तपाइहरु धेरैजसो शिक्षक बुध्दिजीवी हुनुहुन्छ लेखपढ गर्नुस् सकारात्मक सोच्नुस् कुनैदिन छुट्नु हुन्छ यसो भनेर उनी फर्किए । प्रहरी प्रशासन माओवादीप्रति अघिल्ला बर्षझैँ कठोर हुन छोडेको छ । दमनले यो आन्दोलन रोकिन्न भन्ने उनीहरुको बुझाइ हुन थालेको छ । मुलुकमा सेना परिचालन गरेपछि गोरखा हिरासतबाट खोसेर पटक पटक गरि सेनाले सामुहिक हत्या गरेर मुठ्भेढको बहाना बनाएको छ । सेनाले कारागारबाट पनि केही थुनुवा सिध्याउन खोजेको गाइँगुइँ सुनिएको थियो । सिडिओको प्रस्तुतिले त्यो हल्ला पुष्टि गर्ने आधार बन्यो ।

परिवारका मानिस जेल परेपछि आफ्ना छोराछोरी गुमाएका केही साथीहरु हुनुहुन्छ । मेरो एकोदरको दाज्यै नरनाथ मरहट्टाका पन्ध्र दिनको फरकमा छोरी मिना र छोरा महिन्द्रको हत्या भयो । त्यसैगरी तेजबहादुर थापा, कृष्ण बहादुर श्रेष्ट, बाबुराम अधिकारीका छोराहरु पनि सेनाले पक्रिएर हत्या गरेको छ । सरकारी एन नियम देखेर कहिले हाँसो पनि उठ्छ । पुस ५ गते पक्राउ गरेर हिरासतमा यातना भोगेका साथीहरुलाई पुस २७ गते कुन्दुरमा बैठक बसेर सदरमुकाम हान्ने योजना बनाएको भन्ने झुटो ब्यहोराको अभियोगमा आतङ्ककारी अध्यादेशको आधारमा निवारक नजरबन्दको पुर्जी थमाएर जेल पठाएको छ । म स्वयम् जिल्ला शिक्षा अधिकारीको चिठिको आधारमा डाकिएर उनीकहाँ हाजिर हुँदै गर्दा प्रहरीले समातेर बोराभित्र खाँदेर आलुको बोरा फालेजसरी भ्यानमा हुत्याएर दिनभर जिल्ला डुलाउँदै राती हिरासत पुर्‍यायो । हिरासतमा उन्नाइसदिन कटाएपछि पन्ध्र गते माघमा सदरमुकाममै बैठक बसिरहेको अवस्थामा हातहतियार सहित पक्राउ गरिएको अभियोगमा थुनुवा पुर्जी थमाएर जेल आएको छु ।

भदौरे घाम एक तमासले चर्किएको छ । सिडिओको टिम फर्किएपछि केही साथीहरु तरङ्गित बन्यौ । सेनाले सिध्याउन खोजेका हामी को को थियौँ भन्ने बिषयले आङ ढक्क फुल्यो । जे होस् आजका मितिसम्म सकुशल रहेकोमा रुन्चे हाँसो हाँसियो ।

२०५९ भदौ १०

“जेल सुधार गृह हो ।”

प्रवेशद्वारको भित्तामा लेखिएको छ यो वाक्य । बाहिरी चौरबाट भित्र पस्दा सबै बन्दिहरुको आँखा यी अक्षरहरुमा पर्छन् । अहिले हामी जो आस्थाका बन्दिहरु छौँ एउटा बिचारको आधारमा यहाँ आएका हौँ । तर भित्र पसेपछि हामी जुट होइन एक्लो छौँ । शिक्षण पेशामा जोडिएकाले हामी बुध्दिजीबी भित्र पर्न सक्छौँ र कहिलेकाहीँ पार्टीका साथीहरु पेटिबुर्जुवा अथवा मध्यमार्गी अवसरवादी भन्नुहुन्छ । केही हदसम्म यो सत्य पनि हो । आस्था भएर पनि हामी पुर्णकालिक वा पेशेवर बन्न नसकेको सत्य हो । विचारलाई केन्द्रमा राख्ने हो भने संगठनमा विचार छलफल हुनु पर्छ तर यो पद्दती लागू गर्न सकिएन । अर्थात् राज्यसत्ताले हाम्रो दिमाग पखाल्न खोजेझैँ हामी रित्तिदै गएका छौँ । प्रतिकृयावादी राज्यको आँखामा हामी सुधृएका हुन सक्छौँ । हामी अधिकाँश शिक्षक साथीहरुको बर्ग धरातल योग्यता वा तहको आधारमा बर्ग बनेको रहेछ । जेलभित्र खाने बस्ने सवालमा पनि हामी आर्थिक हैसियत हेरेर चलिरहेका छौँ ।

कारागारभित्रको पसले बन्दी सोमबहादुर हरेक दिन मासु पकाएर बेच्छ । हैसियत हुने बन्दिहरु सरकारी सिदाको अतिरिक्त मासु भात डकार्छन् । कुनै बिहान मासु पाकेन भने अम्लेट बिना भाग नबस्ने पनि हामी मध्ये कोही छौँ । विचारमा हामी समाजवाद वा साम्यवादी भन्छौँ ब्यबहारमा फरक देखिन्छौँ । हामी मध्ये कोही माबिका शिक्षक छौँ । एसएलसीको नतिजा खस्किएकोमा हामी चिन्तित छौँ । कयौँ साथीहरु घर परिवार त्यागेर हिँडेका छन् तर हामी धेरैजसो भने घर व्यवहार खस्किएको जहान बच्चाले दुख पाएकोमा मात्र चिन्तित छौँ । सांस्कारिक रुपमा पनि हामी फेरिन सकेका छैनौ । बा आमाको तिथिको श्राध्द अड्किएकोमा पनि चिन्तित छौँ । नजिकिदै आएको दशैँ तिहारको पिरलो पनि उत्तिकै छ ।

कारागारमा पुर्जी लिएर आउने क्रम रोकिएको छैन । छुटेर जानेहरु भने खासै छैनौँ । घ श्रेणिको यो जेल अंग्रेजी सि आकारको छ । हामी कैदी बन्दी र थुनुवा गरि १५० भन्दा बढी छौँ । तीनवटा कोठामा कोचाकोच बस्न हामी बाध्य छौँ । उता महिला ब्लकमा पनि उस्तै कोचाकोच छ । २०५७ मा महिला बन्दिहरुले जेल ब्रेक गरेर निस्किएपछि जेलको सुरक्षामा कडाइ गरेको छ । यसकारण पनि हामी असंगठित हुनु परेको एउटा सत्य हो ।

कारागारका तीनसय उनान सय दिन अप्रकाशित जेल अनुभूतिबाट