
२४ साउन इटहरी ।
नेकपा(क्रान्तिकारी माओवादी)समर्थक अखिल नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रदेश नम्बर १ ले २८ औँ अन्तराष्ट्रिय विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न गरेको छ । सुनसरीको इटहरीमा विभिन्न जात जातिको झाँकी सहित निस्केको प्रदर्शनले इटहरीको पुर्व लाइन मिलन चौक देखि कार्यक्रम स्थल इटहरीको पश्चिम स्थल म्याजिक तथा ट्याम्पो स्टेशनसम्म परिक्रमा गरेको थियो ।
प्रदर्शनमा सम्पूर्ण उत्पीडित जाति तथा वर्ग एक होऔँ , पहिचान सहितको संघियता स्थापना गरौँ , राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर , भ्रष्टाचार र बढ्दो महंगी नियन्त्र गर , नागरिकता विद्येयक खारेज गर जस्ता नाराहरु लगाएको थियो । प्रदर्शन पछि विभिन्न जात जातिका पहिचान झल्कने नृत्य सहित सभा गरिएको थियो ।

सभाको प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी) का स्थायी कमिटि सदस्य परि थापाले राणा शासन देखि लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा समेत नेपालका आदिवासीहरुले हक अधिकार नपाएको बताउनु भयो । उहाँले लोकतान्त्रीक गणतन्त्रका ठाउँमा संघीय जनगणतन्त्र नेपाल बनाउन सकियो भने मात्र नेपालका उत्पीडित जाति र समुदायले अधिकार पाउने भनाई राख्नु भयो । थापाले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको रक्षा गर्न सम्पुर्ण आदिवासीहरुलाई सहि नेतृत्व,सहि राजनीति र सहि संगठन पहिचान गरेर आवद्ध हुन आह्वान गर्नु भयो । उहाँले आदिवासीहरु खुसी भएर बस्ने भएकाले विभिन्न खाले संस्कृति मनाएर आनन्द लिने गरेकोे भनाई राख्नु भयो ।
सभाका विषेश अतिथि नेकपा(क्रान्तिकारी माओवादी) का पोलिट व्यूरो सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज दिनेश शर्माले हजारौँ सन्ततीहरुले कुर्बानी गरेर दशवर्षे जनयुद्ध लडे पनि आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्न नसकेको बताउनु भयो । उहाँले जनयुद्धबाट सिमित उपलब्धीहरु प्राप्त भएतापनि उत्पीडित वर्ग, उत्पीडित जाति र समुदायहरुले अधिकार नपाएको भन्दै दलाल सत्ताका विरुद्ध लड्न बाँकी नै रहेको स्पष्ट पार्नु भयो । उहाँले क्रान्तिकारी माओवादी पहिचान सहितको संघीयतामा अडिक रहेको भन्दै सबै जातजातिहरुले आत्मनिणर्यको अधिकार सहितको पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने भनाई राख्नु भयो ।
सभामा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा आदिवासी जनजाति महासंघका केन्द्रिय समिति सचिवालय सदस्य मोहन लिम्बु , उराउ मोर्चाका केन्द्रिय सल्लाहाकार विशुलाल उराउ , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष अम्बिका रेग्मी लगायतले जनजाति दिवसको अवसरमा शुभकामना दिदै आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनजाति महासंघको प्रदेश संयोजक तथा तामाङ मोर्चाका केन्द्रिय उपाध्यक्ष पदम तामाङले गर्नु भएको थियो । कार्यक्रमको संचालन क्रान्तिकारी माओवादीका प्रदेश सदस्य तथा लिम्बु मोर्चाको प्रदेश सह—संयोजक पारस लिम्बुले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य टिका राम राईले राख्नु भएको थियो ।