प्रतिक्रियावादी चुनाव अर्थात संसदीय चुनावमा एउटा सच्चा कम्युनिष्ट पार्टीले कस्तो नीति लिनु पर्दछ भन्ने विषयमा लेनिनको पालामा नै प्रष्ट भैसकेको विषय हो । तेस्रो अन्तराष्ट्रियको दोस्रो महाधिवेशन(सन १९२०) मा कम्युनिष्ट पार्टी र संसदवाद भन्ने एउटा थेसिस नै पारित भएको थियो । तर आज नेपालको कम्युनिष्ट आन्दोलनमा त्यस विषयमा पुन बहसको आवश्यक्ता देखिएको छ । लेनिनको पालामा प्रतिक्रियावादी चुनावमा भाग लिने कि नलिने भन्ने विषयमा कार्यनीतिक विषय बनाइएको थियो तर अहिले यो विषयमा रणनैतिक हो भन्ने कोणवाट बहस सुरु भएको छ । जस्तो नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष का. ऋषि कट्टेलले आफ्नो फेसबुक पेजमा “संसदवाद र संसदीय निर्वाचनको प्रयोग” भन्ने शिर्षकमा लेख्नु हुन्छ “यी आन्दोलनहरुको समीक्षा गर्दा र आजको संसदको चरित्र हेर्दा संसदमा सहभागिता वा उपयोगको प्रश्न केवल कार्यनीतिक प्रश्नको रुपमा मात्र क्रान्तिकारी कम्युनिष्टहरुले हेर्न हुदैन । तसर्थ संसदवादी निवार्चन र त्यसमा सहभागीताको प्रश्न रणनैतिक सवाल संग जोडिएको कुरा स्वत प्रस्ट भएको छ ।” त्यसै गरी नेकपा (बहुमत) का प्रवक्ता का. हेमन्त प्रसाद ओली (सुदर्शन) ले वि.स २०७९ साल १९ जेष्ठमा “इ–रातो खबरमा” प्रकाशित “विप्लव–प्रकाण्ड पतनको अन्तरकथा”मा भन्नु भएको छ “चुनावमा जाने भनेको आजको अवस्थामा लेनिनको समयको जस्तो होइन, लेनिनको समयमा के थियो भने जारशादी शासन थियो र त्यस वेलाको समयमा भाग लिनु स्व्वभाविक थियो तर आज यसको औचित्य सामाप्त भएको छ किन भने नेपालमा संसदीय व्यवस्था कस्तो हुन्छ भन्ने कुरा दुनियालाई सोध्नै पदैन ।”
का.सुदर्शनले लेनिनको समयमा प्रतिक्रियावादी चुनावमा भाग लिन स्वाभाविक थियो तर आज यसको औचित्य समाप्त भएको छ भनेर जुन निष्कर्ष निकाल्नु भएको छ त्यसको अर्थ हुन्छ अव संसदीय चुनावमा रणनैतिक बहिस्कार गर्नुपर्दछ । यस विषयमा अरु प्रस्ट पार्दै उहाँहरुको पार्टी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को विशेष भेलावाट पारित राजनीतिक प्रस्तावमा भनिएको छ “यसकारण चुनाव उपयोग वा वहिस्कार एउटा क्रान्तिकारी पार्टीकोलागी कार्यनीतिक प्रश्न हुँदाहुँदै समाजको क्रान्तिकारी रुपान्तरण गर्न सकिने विशिष्ट अवस्थामा बाहेक नेपाल र संसारको सवै देशहरुमा रणनैतिक वहिस्कार हुन पर्दछ ।” उहाँहरुको “नेपाल र संसारको सवै देशहरुमा रणनैतिक वहिस्कार हुनुपर्दछ ।” भन्ने दृष्टिकोण लेनिनवादी दृष्टिकोण संग मिल्दैन ।
यसरी आज नेपालमा प्रतिक्रियावादी निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने वा वहिस्कार गर्ने प्रश्न कार्यनीतिक हो वा रणनैतिक भन्ने वहस चलिरहेको अवस्थामा यस विषयमा लेनिनको वास्तविक दृष्टिकोण के थियो त ? यसलाई ठीकसंग बुझ्नु पर्दछ र त्यसको महत्व अहिले पनि छ या छैन भन्ने कुराको टुंगो लगाउन जरुरी छ ।
प्रतिक्रियावादी चुनावलाई क्रान्तिकारी उपयोग वा वहिस्कार किन र कुन अवस्थामा गर्ने भन्ने विषयलाई राम्ररी बुझ्नको लागी लेनिनको “वामपंथी साम्यवाद–एक वाल रोग” भन्ने प्रसिद्ध पुस्तकको “ के वुर्जुवा संसदमा भाग लिनु पर्छ ?” भन्ने लेखलाई राम्रो संग अध्ययन गर्न जरुरी छ । यो लेख का. लेनिनले रुसमा अक्टोवर क्रान्ति भएको तीन पर्ष पछि सन १९२० मा लेख्नु भएको थियो । लेनिन को लेख रुसको कम्युनिष्टहरुको लागी भन्दा पनि जर्मन वेलायत लगायत त्यतिवेलाका उन्नत राष्ट्रका वामपंथी कम्युनिष्टहरुलाई शिक्षा दिने उद्धेश्यले लेखिएको थियो र यो पुस्तक तेस्रो अन्तराष्ट्रियको दोस्रो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गएिको थियो । यसै लेखको आधारमा नै कम्युनिष्ट इन्टरनेशनलको दोस्रो अधिवेशनले कम्युनिष्ट पार्टी र संसदवाद भन्ने थेसिस पास गरेको थियो ।
घोर प्रतिक्रियावादी संसदीय चुनावको प्रश्नलाई कार्यनीतिक वा रणनीतिक के मान्ने? यस्तो चुनावको उपयोग वा वहिस्कार के आधारमा गर्ने? भन्ने विषयमा लेनिनको वास्तविक दृष्टिकोण के थियो भनेर प्रस्ट हुनकालागी यो लेखमा उहाँको लामा र थुप्रै उद्धरणहरु राखिएको छ । जसले गर्दा यो लेख भन्दा पनि लेनिनका उद्धरणहरुको संगालो जस्तो भएको छ । तर विषयलाई प्रस्ट पार्न ती उद्धरणहरु दिन आवश्यक छ ।
लेनिनहरुले घोर प्रतिक्रियावादी संसदीय चुनावहरुलाई कुनै वेला वहिस्कार गरेका थिए भने कुनै वेला क्रान्तिकारी उपयोग गरेका थिए । लेनिनहरुले सन् १९०५ र सन् १९०६ को दुमाको चुनावलाई वहिस्कार गरेका थिए भने सन १९०६ पछिको चुनाव र सन १९१७को फ्रेब्रअरी क्रान्ति पछिको प्रतिक्रियावादी चुनावहरुमा भाग लिएका थिए । यति सम्म कि आफ्नो हातमा सत्ता लिए पछि पनि बोल्सेभिकहरुले प्रतिक्रियावादी संविधान सभाको चुनावमा भाग लिएका थिए । लेनिन भन्नुहुन्छ “ रुसी अनुभवले बोल्सेभिकहरुले गरेको वहिस्कारको एउटा सफल र सही उदाहरण (सन १९०५ मा) र अर्को असफल उदाहरण (सन् १९०६मा) हामीलाई दिएको छ ।” (लेनिन संकलित रचना भाग ७ प्रगति प्रकाशन भएको पृ. ५६) ।
लेनिन अगाडि भन्नुहुन्छ “पहिलो उदाहरणहरुको विश्लेशण गर्दा हामी के देख्छौं भने त्यस परिस्थितिमा जब जनताको गैरसंसदीय, क्रान्तिकारी कारवाहीहरु (विशेष गरेर हडतालहरु) असाधारण शिघ्रताका साथ बढ्दै थिए, यो जव सर्वहारा वर्गको र किसानहरुको एउटा हिस्साले मात्र पनि प्रतिक्रियावादी सत्तालाई कुनै रुपले समर्थन गरेको थिएन र जव हडतालहरु र किसान आन्दोलनद्वारा क्रान्तिकारी सर्वहार वर्गले पिछडिएको जनतामाथि आफ्नो व्यापक प्रभाव वढाउदै थियो । बोल्सेभिकहरु प्रतिक्रियावादी सरकारलाई प्रतिक्रियावदी संसद बोलाउन नदिन सफल भएका थिए ।” उही पृष्ठ ५६ ।
यसरी लेनिन एकातिर सन् १९०५ को चुनाव वहिस्कारलाई सही र सफल बताउनु हुन्छ भने अर्कोतिर सन् १९०६कोे चुनाव वहिस्कारलाई असफल वहिस्कार र गल्ति भन्नु भएको छ । जस्तो लेनिन भन्न्नु हुन्छ “सन १९०६ मा बोल्सेविकहरुले ”दुमालाई“बहिस्कार गर्नु गल्ति थियो, हुन त यो गल्ती सजिलै संग सच्चाउन सकिन्थ्यो र सानै थियो, सन् १९०७, १९०८ र पछिका वर्षहरुमा भएका बहिस्कार मुश्किल संग सच्चाउन सकिने र गम्भिर गल्ती थियो ।” उही पृष्ठ २५ ।
लेनिनको नेतृत्वमा बोल्सेभिकहरुले प्रतिक्रियावादी चुनावलाई क्रान्तिकारी उपयोग गर्नुपर्दछ भन्दा बहिस्कार गर्नु पर्दछ भन्ने मतको गम्भिर प्रकारको सामना गर्नु परेको थियो । जस्तो लेनिन भन्नुहुन्छ “सन् १९०८ मा घोर प्रतिक्रियावादी संसदमा भाग लिने आवश्यक्ता बुभ्mन हठपुर्वक अस्वीकार गरे बापत वामपंथी बोल्शेभिकहरु हाम्रो पार्टीबाट निकालिए ।” उही पृष्ठ २४ ।
लेनिनका यी विश्लेषणलाई हेर्दा क्रान्तिकारी उभार उठेको बेला प्रतिक्रियावादी चुनावलाई क्रान्तिकारी वहिस्कार गर्दा ठीक हुने जस्तो देखिन्छ । तर त्यस्तो पनि होइन “रुसमा सन् १९१७ को सेप्टेम्बर देखी नोभेम्बरसस्म क्रान्तिकारी उभार उठेको समय थियो । त्यो बेला पनि बोल्सेभिकहरुले घोर प्रतिक्रियावादी संसदीय चुनावमा भाग लिएका थिए ।” जस्तो लेनिन भन्नुहुन्छ “हामीले सन् १९१७ को सेप्टेम्बर देखी नोभेम्बर महिनासम्म रुसको वुर्जुवा संसद, विधान सभाको चुनावमा भाग लिएका थियौं ।” उही पृष्ठ ५२ ।
उहाँ अझै अगाडि भन्नुहुन्छ “के कुरा विल्कुल निर्विवाद, पूर्णत सिद्ध ऐतिहासिक सत्य हो भने कतिपय विशेष कारणहरुले गर्दा रुसी सहरहरुमा मजदुर वर्ग, सैनिक तथा किसानहरु सन् १९१७ को सेप्टेम्बर–नोभेम्बरमा सोभियत व्यवस्था स्वीकार्नु र सबभन्दा प्रजातन्त्रवादी वुर्जुवा संसद भंग गर्नलाई विशेष रुपले तयार थिए । तै पनि बोल्सेभिकहरुले विधान सभाको वहिस्कार गरेनन्, बरु सर्वहार वर्गले राजनीतिक सत्तामाथि अधिार प्राप्त गर्न भन्दा पहिले र पछि पनि चुनावमा भाग लिए ।” उही पृष्ठ ५२/५३ । लेनिनका यी भनाइहरुबाट के प्रस्ट हुन्छ भने क्रान्तिकारी उभार उठेको एउटा अवस्थामा चुनाव वहिस्कार गरियो (सन् १९०५) । फेरी क्रान्तिकारी उभार उठेको अर्को अवस्थामा चुनावलाई उपयोग गरियो (सन् १९१७ को सेम्टेम्बर देखी नोभेम्बर सम्म) । यी दुवै अवस्थामा देशको राजनीतिक स्थितिको ठोस विश्लेषण् गरेर एउटा अवस्थामा क्रान्तिकारी वहिस्कार गरियो भने अर्को अवस्थामा क्रान्तिकारी उपयोग गरियो । त्यस्तै क्रान्तिकारी उभार नउठेको अवस्था (सन् १९०७ देखी सन् १९१४ सम्म) र क्रान्तिकारी उभार उठेको अवस्था (सन् १९१७) यी दुवै अवस्थामा लेनिनहरुले संसदीय चुनावलाई उपयोग गरे । त्यसकारण प्रतिक्रियावादी संसदीय चुनावमा भाग लिने वा वहिस्कार गर्ने प्रश्न कार्यनीतिक प्रश्न हो रणनैतिक प्रश्न होइन भन्ने कुरा प्रस्ट हुन्छ ।
प्रतिक्रियावादी संसदीय चुनावको प्रश्नलाई कार्यनीतिक प्रश्न मान्दा मान्दै पनि जब ठोस स्थितिको ठोस विश्लेषण गर्दै चुनाव वहिस्कारको पक्षमा तर्कहरु दिइन्छ र कारणहरु देखाइन्छन् कतिपय ती तर्कहरु र कारणहरुले चुनावको प्रश्नलाई कार्यनीतिक होइन रणनैतिक वहिस्कारको ठाउँमा पुर्‍याउँछ । जस्तो यो संंसदीय व्यवस्था दलाल पूँजीवादी भएकोले, यो व्यवस्थाको औचित्य सामाप्त भएकाले, चुनावमा पैसाको खोलो बगाइने भएकाले, यो व्यवस्थामा स्वतन्त्र तथा निश्पक्ष चुनाव नहुने भएकाले, नोकारसाही राज्ययन्त्रको वलमा यो सत्ता तथा व्यवस्था टिकेको हुनाले आदि कारणहरुले गर्दा संसदीय निर्वाचन वहिस्कार गर्नुपर्दछ भन्ने तर्कहरु विभिन्न पक्षहरुबाट आइरहेका छन् । यस्ता तर्कहरुको बारेमा पनि लेनिनले स्पस्ट उत्तर दिनुभएको छ । जर्मनीका “वामपंठी” कम्युनिष्टहरुले “ ऐतिहासिक एवं राजनीतिक दृष्टिकोणले वेकम्मा ठहरिएको संघर्षका संसदीय रुपहरुप्रतिका सवै प्रत्यावर्तनहरुलाई जोडदार तरिकाले अस्विकार गर्नुपर्दछ ।” भन्ने कुरा गर्दा यो सोचाइलाई लेनिनले “यो दावा अति हास्यास्पद र गलत छ” भन्नु भएको छ । पृष्ठ ४८/४९ ।
लेनिन भन्नुहुन्छ “संसदवाद ऐतिहासिक दृष्टिकोणले बेकम्मा भैसकेको छ । प्रचारको अर्थमा यो सहि छ । तर जसलाई पनि थाहा भएको कुरा हो यस भनाइबाट यसको व्यवहारिक कार्यानवयन सम्म निकै लामो बाटो पार गर्नुपर्दछ ।……..विश्व इतिहासको दृष्टिकोणले संसदवाद “ऐतिहासिक रुपले बेकम्मा ठहरिको छ” अर्थात वुर्जुवा संसदवादको युग समाप्त भइसकेको छ र सर्वहारा अधिनायकत्वको युग आरम्भ भएको छ । यो कुरा निर्विवाद छ ।” उही पृष्ठ ४९ । यति भनिसके पछि लेनिन भन्नुहुन्छ “व्यवहारिक राजनीतिलाई विश्व इतिहासको मापडण्डले नाप्नु धेरै ठूलो सैद्धान्तिक गल्ती ठहरिन जानेछ । ” उही पृष्ठ ४९ । लेनिन अझै अगाडि भन्नुहुन्छ “जर्मनीका कम्युनिष्टहरुकालागी संसदवाद “वास्तवमै राजनीतिक दृष्टिकोणले काम नलाग्ने भइसकेको छ ।” तर कुरा के छ भने हाम्रो लागी थोत्रो भएको कुरा वर्गकोलागी थोत्रो भइसकेको छ, जनसमुदायको लागी थोत्रो भैसकेको छ भन्ने ठान्नु हुदैन । यहि त हामी फेरी देख्छौं “वामपंथीहरु तर्क गर्न जान्दैनन्, वर्गको पार्टीले जस्तो, जनसमुदायको पार्टीले जस्तो काम गर्न जान्दैनौं । उही पृष्ठ ५१ । लेनिनका माथिका यी भनाइहरुले पूँजीवादी संसदीय व्यवस्थाको औचित्य समाप्त भएकाले संसदीय निर्वाचनलाई वहिस्कार गर्नुपर्दछ भन्ने ”तर्क र कारणहरुको खण्डन गर्दछ ।
अब अन्य प्रसंगहरु यो चुनावमा पैसाको खोलो बगाइने भएकाले, यो व्यवस्थामा स्वस्थ र निश्पक्ष चुनाव नहुने भएकाले, नोकरसाही राज्यसत्ताको बलमा सत्ता तथा व्यवस्था टिकेको हुनाले आदि कारणहरु देखाएर संसदीय चुनाव वहिस्कार गर्नुपर्दछ भन्ने जुन तर्कहरु आइरहेका छन् यसको अर्थ यो हुन्छ की उपरोक्त कुराहरु नहुने हो भने संसदीय चुनावमा भाग लिन सकिन्छ । तर यी कुराहरु त संसदीय व्यवस्थाहरुको चरित्र नै हो । त्यसकारण जब सम्म पूँजीवादी व्यवस्था रहन्छ त्यतिवेला सम्म त्यस व्यवस्थामा हुने चुनावमा ती कुराहरु भइरहन्छन् । त्यतिवेला सम्म संसदीय चुनाव वहिस्कार गर्नु पर्दछ भन्नुको अर्थ संसदीय चुनावको प्रश्न कार्यनीतिक हुदैन कि रणनैतिक वहिस्कार हुन पुग्दछ । त्यसो भए संसदीय चुनावको वहिस्कार गर्ने अवस्था कहिले हन्छ त ? यसको सम्वन्ध मुलत: पार्टीको राजनैतिक रणनीति र कार्यनीति संग हुन्छ । कार्यनीतिले रणनीतिको सेवा गर्नु पर्दछ । पार्टीले कुन प्रकारको राजनीतिक कार्यनीति अपनाएको छ त्यसलाई सहयोग पुग्ने गरी प्रतिक्रियावादी चुनावको वहिस्कार वा उपयोग गर्नु पर्दछ ।
यो कार्यनीतिक प्रश्नलाई क्रान्तिको हितमा कसरी लागु गर्ने हो भन्ने प्रश्न नै मुख्य प्रश्न हो । बोल्सेभिकहरुको उदाहरण हेर्ने हो भने वहिस्कारले प्रतिक्रियावादीहरुको योजना असफल बनाउन सकिने अवस्था सृजना भएको वेला वहिस्कार गरेका छन् । त्यसरी नै प्रतिक्रियावादी चुनावमा भाग लिनुको मुख्य उद्धेश्य पनि त्यहि प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त पार्ने नै थियो । प्रतिक्रियावादी संसदलाई भंग गर्न एकातिर बाहिर (सडकवाट) व्यापक आन्दोलन गर्ने अर्कोतिर संसद भित्रवाट पनि संसद विघटन गराउन सजिलो हुन्छ भन्ने लेनिनहरुको विचार थियो । जस्तो लेनिन भन्नुहुन्छ “क्रान्तिको समयमा प्रतिक्रियावादी संसद वाहिर हुने जनताको संघर्षको साथ साथै संसद भित्र क्रान्ति प्रति सहानुभुति राख्ने (अथवा प्रत्यक्षरुपले क्रान्तिको समर्थन गर्ने भए झन राम्रो भयो) एउटा विरोधी दल पनि छ भने ती दुवैको मेल ज्यादै उपयोगी ठहरिन जान्छ । उही पृष्ठ ५५ ।
यस विषयमा स्पस्ट पार्दै लेनिन भन्नुहुन्छ “हामीलाई राम्ररी थाह छ ५ जनवरी १९१८ मा भंग गरिएको प्रतिक्रियावादी विधान सभा भित्र एउटा सुसंंगत बोल्सेभिकहरुको साथ साथै असंगत वामपथी समाजवादी क्रान्तिकारीहरुको सोभियत पक्षीय विरोधी दलको उपस्थितिले यस काममा वाधा पुर्‍याउनु त टाढाको कुरा भयो उल्टो सजिलो पारेको थियो ।” उही पृष्ठ ५५।
यसरी लेनिनहरुले प्रतिक्रियावादी संसद र संविधान सभालाई विघटन गराउन संसद भित्र र संसद बाहिर दुवै ठाउँबाट जोडदार हमला गरेका थिए । प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त पार्न वोल्शेभिकहरुको कार्यनीति प्रतिक्रियावादी संसद भित्र मात्र होइन अन्य प्रतिक्रियावादी संघ संस्था भित्र पनि क्रान्तिकारीहरुको डफ्फा बनाउनु पर्दछ भन्ने थियो । जस्तो लेनिन भन्नुहुन्छ “के क्रान्तिकारीहरुले प्रतिक्रियावादी टे्रडयुनियनहरुमा काम गर्नु पर्दछ ? जर्मन वामपंथिहरु नकारत्मक उत्तर नै आफ्नो लागी यस प्रश्नको हल ठान्दछन् । उनीहरुको विचारमा क्रान्तिकारी र कम्युनिष्टहरुले पहेला, समाजिक अन्तराष्ट्रवादी, सम्झौतापंथी लेनिनवादी प्रतिक्रियावादी टे्रडयुनियनहरुमा काम गर्न अनावश्यक र अक्षम्य समेत छ भन्ने कुरा “प्रमाणित गर्नका लागी “प्रतिक्रियावादी” र “प्रतिक्रान्तिकारी” टे्रडयुनियनहरुको विरुद्ध रिसले रातो भएर गालि गर्ने र भाषण गर्ने काफि छ । ……..तर जर्मन वामपंथीहरु त्यस्तो कार्यनीतिको क्रान्तिकारी पन जति नै विश्वस्त किन नहोउन र वास्तवमा त्यो कार्यनीति मुलभुतरुपले गलत छ र यसका खोक्रा शब्दहरु वहेक अन्य केही छैन ।” उही पृष्ठ ३८ ।
लेनिन अझ जोड दिदै भन्नु हुन्छ “जनताको सहानुभुती तथा समर्थन प्राप्त गर्नकालागी कठिनाइहरुवाट डराउनु हुँदैन, नेताहरुको तर्फवाट (जो अवसरवादी र समाजिक अन्तराष्ट्रियवादी भएका हुनाले प्रायश: वुजुर्ववर्ग तथा पुलिससंग सम्वन्धित भएका हुन्छन्) हुने आक्षेप, छेडकी, अपमान, थिचोमिचोबाट डराउनु हुँदैन जहाँ जनताहरु ह्ुन्छन् अनिवार्य रुपले त्यही काम गर्नु पर्दछ । सर्वहारा र अर्धसर्वहारा जनता भएका कुनै पनि संस्था, समाज, संगठन चाहे त्यो जतिसुकै प्रतिक्रियावादी किन नहोस नियमित रुपले लगनता, धैर्यता र दृढताकासाथ प्रचार प्रसार कार्य गर्न हर प्रकारको वलिदान दिन सक्नु पर्दछ, कठिन वाधाहरु पार गर्न सक्नु पर्दछ ।” उँही पृष्ठ ४५।
लेनिनको निषकर्ष छ “बोल्शेभिकहरुले घोर प्रतिक्रियावादी संसदमा र प्रतिक्रियावादी कानुनले जोडिएको कैयौं अन्य सघंसस्थाहरु (विमा संस्थाहरु आदि) मा भाग लिन आवश्यक छ भन्ने विचार र वैधानिक तथा अवैधानिक दुवै संघर्षलाई जोड्न आवश्यक छ भन्ने दृष्टिकोण अति कठोर संघर्षमा रक्षा नगर्दा हुन त तीनीहरुले सन् १९०८–१९१४ मा सर्वहारा वर्गको क्रान्तिकारी सुदृढ दस्तालाई सुरक्षित राख्न पनि (मजवुत वनाउने, विकाश गर्ने, सुदृढ तुल्याउने जास्ता कुराहरु टाढाका भैहाले) सक्ने थिएनन् भन्ने कुरा विशेष रुपमा छर्लङग हुन जान्छ । उही पृष्ठ २६ यसरी लेनिनले प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त पार्न सडक बाहिर मात्र होइन स्वयम प्रतिक्रियावादी संघ संस्था, संसद भित्रबाट पनि संघर्ष गर्नुपर्ने कार्यनीति लिनुभएको कुरा प्रस्ट हुन्छ । लेनिनले त्यस बेला लिएका त्यस प्रकारको कार्यनीतिको औचित्य समाप्त भइसकेको हो त ? के अब क्रान्तिकोलागी प्रतिक्रियावादी संसद, संघ संस्था भित्र क्रान्तिकारीहरुको डफ्फा बनाउन आवश्यक छैन ? लेनिनहरुले प्रतिक्रियावादी संसद र संघ संस्थाहरुमा भागलिनुको मुख्य उद्धेश्य त्यहाँ भित्र क्रान्तिकारी मोर्चा निमार्ण गर्नु थियो । त्यसप्रकारको आवश्यक्त्ता अहिले पनि छ ।
लेनिनको समय भन्दा अहिले समाजमा धेरै परिवर्तनहरु भएका छन् । प्रतिक्रियावादीहरुले आफ्नो सत्ता जोगाउन धेरै सुधारहरु गरेका छन् र बलियो संयन्त्रहरु बनाएका छन् । त्यसकारणले क्रान्तिकारीहरुले सबै प्रतिक्रियावादीहरु संघ संस्था संसदहरुमा रणनैतिक रुपमा वहिस्कार गर्नुपर्द भन्ने कुरा सही हुन्न । त्यस प्रकारको सबै प्रतिक्रियावादी संघ संस्था, संसद भित्र क्रान्तिकारीहरुको डफ्फा बनाउन हुन्न भन्ने कार्यनीति जर्मन तथा वेलायतका वामपंथी कम्युनिस्टहरुले लिएको कार्यनीति हो, जसलाई लेनिनले कडा आलोचना गर्नुभएको थियो । प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त पार्न स्वयम प्रतिक्रियावादी संघ संस्था र संसदहरुमा पनि क्रान्तिकारीहरु पस्नु पर्दछ भन्ने कार्यनीतिको औचित्य अहिले पनि समाप्त भएको छैन । जब सम्म प्रतिक्रियावादी व्यवस्था रहन्छ त्यस बेला सम्म त्यसलाई ध्वस्त पारेर सर्वहारा वर्ग तथा जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्नाका लागी प्रतिक्रियावादी व्यवस्थाको भित्र र बाहिर दुवै ठाउँ बाट संघर्ष गर्न जरुरी छ । निश्चयनै यो संघर्षमा बाहिरबाट हुने संघर्षको प्रमुख भुमिका हुन्छ र त्यो प्रधान पक्ष हो । भित्रबाट हुने संघर्षले बाहिरबाट हुने संघर्षलाई बल पुर्‍याउछ र त्यसकोलागी तयारी पनि क्रान्तिकारीहरुले नै गर्नु पर्दछ ।
प्रतिक्रियावादी संघ संस्था तथा संसदमा गएर क्रान्तिकारी भुमिका खेल्ने काम अत्यन्तै कठिन हुन्छ । पहिलो कुरा त्यस्ता प्रतिक्रियावादी संघ संस्था भित्र छिर्न नै गाह्रो हुन्छ । दोस्रो छिरिसके पछि पनि त्यहाँ क्रान्तिकारी भुमिका निर्वाह गर्ने काम झनै कठिन हुन्छ । तर जस्तो सुकै गाह्रो अप्ठ्यारो भएता पनि क्रान्ति सम्पन्न गर्नु छ भने त्यस कठिनाइलाई चिर्नै पर्दछ । यस बारेमा लेनिन भन्नु हुन्छ “संसदीय अवसरवादलाई गाली मात्र गरेर अथवा संसदमा भाग लिने कुरालाई अस्वीकार गरेर आफ्नो “क्रान्तिकारीपन” देखाउन ज्यादै सजिलो कुरा छ, तर यसको त्यहि सजिलोपनाले गर्दा यसलाई एउटा कठिन ज्यादै कठिन समस्याको समाधानमा परिणत गर्न सकिदैन ।” उही पृष्ठ ५७ । लेनिन अझै अगाडि भन्नुहुन्छ “क्रान्तिकारी उद्धेश्य प्राप्तीकोलागी संसदलाई प्रयोग गर्ने कठिन कामलाई “नाघेर” यो कठिनाई “छल्ने” प्रयत्न गर्न बिलकुल केटाकेटी पन हो । तपाइहरु नयाँ समाजको निर्माण गर्न चहानु हुन्छ ? तर एउटा प्रतिक्रियावादी संसदमा पक्का विश्वासिला बहादुर कम्युनिष्टहरुको राम्रो संसदीय डफ्फा खडा गर्न चाहि डराउनु हुन्छ । के यो केटाकेटीपन होइन ?” उही पृष्ठ ५८। यो कुरा लेनिनले सन् १९२० मा तेस्रो अन्तराष्ट्रियको दोस्रो अधिवेशनको वेला युरोपका वामपंथी कम्युनिस्टहरुलाई भन्नु भएको हो । त्यतिवेला (सन् १९१७)मा रुसमा क्रान्ति सम्पन्न भइसकेको थियो । जर्मन वेलायत जस्ता देशमा पूँजीवादको विकास भएर साम्राज्यवादमा परिणत भइसकेको देशका वामपंथी कम्युनिस्टहरुलाई उहाँले यो कुरा भन्नुु भएको थियो । किनभने त्यतिवेला त्याहाँका वामपंथी कम्युनिस्टहरुले संसदीय व्यवस्था र सवै प्रतिक्रियावादी संघ संस्थाहरुलाई वहिस्कार गर्ने नीति लिइरहेको थिए जसलाई लेनिनले वामपंथी कम्युनिज्म एक बाल रोगको संज्ञा दिनु भयो ।
लेनिनले प्रतिक्रियावादी संसद भित्र क्रान्तिकारीहरुको डफ्फा खडा गर्न निरन्तर प्रयत्न गर्नु पर्दछ भन्ने कुरामा विशेष जोड दिनु भएको थियो । यस प्रकारको प्रयत्न कति समय सम्म गर्ने ? भन्ने विषयमा लेनिनले युरोपमा वामपंथी कम्युनिस्टहरुलाई भन्नु भएको थियो “लाखौ लाख” र “वटालियनका वटालियन” नभएता पनि औधगिक मजदुरहरुको निकै ठूलो अल्प संख्याले क्याथोलिक पादरीहरुको अनुसरण गर्दछन् र यस्तै ग्रामीण मजदुरहरुको अल्प संख्याले जमिन्दार र कुलकहरुको (धनीकिसान) पक्षमा लाग्छन् भने त्यस बाट निसन्देह निस्कर्ष निस्कन्छ, संसदको चुनाव तथा संसदको मञ्चबाट हुने संघर्षमा भागलिनु क्रान्तिकारी सर्वहारा वर्गको पार्टीको निमित्त अनिवार्य छ र त्यसमा भाग लिनुको उद्धेश्य आफ्नो वर्गको पिछडिएको तप्कालाई शिक्षित पार्नु, गाउँका अविकसित पिसिएका अज्ञात गाउँले जनसमुदायलाई प्रशिक्षित गर्नु नै हो । जब सम्म तपाईहरुमा वुजुर्वा संसद र अरु कुनै किसिमको प्रतिक्रियावादी संस्थाहरुलाई भंग गर्ने तागत हुन्न त्यसवेला सम्म तपाईहरुले यी संस्थाहरुभित्र काम गर्नुपर्दछ किनभने त्यहाँ अझै पादरीहरु र गाउँले संकोचितपनाले मुर्ख बनाईएका मजदुरहरु पाउनुहुने छ, अन्यथा तपाईले खाली गफी बन्ने जोखिम उठाउनु हुने छ ।” उही पृष्ठ ५१/५२ ।
लेनिनले क्रान्तिकारी कम्युनिस्टहरु प्रतिक्रियावादी संसद र अन्य संघ संस्थाहरुभित्र पसेर कामगर्न सक्नु पर्छ भनेर जोड दिदा सधै अर्थात रणनैतिक रुपमा प्रतिक्रियावादी चुनावमा जानुपर्दछ भनेर भन्नु भएको छैन । प्रतिक्रियावादी चुनावमा जानु भन्दा वहिस्कार गर्दा प्रतिक्रियावादीहरुलाई असफल बनाउन सकिने वा कम्जोर बनाउन सकिने अवस्था सृजना हुन्छ भने त्यसवेला उपयोग होइन वहिस्कार गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोण हो । लेनिनहरुले सन् १९०५को जारको दुमाको चुनावलाई वहिस्कार गरेर असफल बनाएका थिए । जव प्रतिक्रियावादी संसदको उपयोग भन्दा वहिस्कारले जनताको ठूलो हिस्सालाई गोल बन्द गर्न सकिने अवस्था आउछ त्यसवेला प्रतिक्रियावादी संसदको उपयोग भन्दा वहिस्कार गरेरै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन पर्दछ । जहाँ संसद नै छैन त्यस्तो ठाउँमा प्रतिक्रियावादी चुनावको वहिस्कार गर्ने वा उपयोग गर्ने भन्ने प्रश्न नै आउदैन । जस्तो का. माओले भन्नु भएको छ “यस प्रकार यहाँ (चीन) नत प्रयोग गर्नका लागी कुनै संसद छ नत मजदुरहरुले हडताल गर्नकालागी संगठित गर्ने कुनै कानुनी अधिकार छ ।” माओका संकलित सैनिक रचनाहरु विदेशी भाषा प्रकाशन गृह पेकिङ १९७० हिन्दी पृष्ठ ५११ ।
नेपालमा कम्युनिस्ट नाम गरेका पार्टीहरु एमाले, माओवादी केन्द्र, मसाल आदि पार्टीहरुले प्रतिक्रियावादी चुनावमा जुन प्रकारले भाग लिएका छन् त्यो बोल्शेभिकहरुले गरे जस्तो क्रान्तिकारी उपयोग होइन । बोल्शेभिकहरुले प्रतिक्रियावादी व्यवस्थालाई अस्वीकार गर्दै त्यसलाई ध्वस्थ गर्ने उद्धेश्य सहित संसदीय चुनावमा भाग लिएका थिए । तर यहाँका एमाले, माओवादी केन्द्रले यो प्रतिक्रियावादी व्यवस्थालाई स्वीकार गर्दै यसको रक्षा र संरक्षण गर्ने उद्घोषका साथ चुनावमा सहभागी भएका छन् । प्रथम त यी दुई पार्टीहरु कम्युनिष्ट पार्टी नै होइनन् त्यसकारण उनीहरुले प्रतिक्रियावादी चुनावलाई क्रान्तिकारी उपयोग गर्ने भन्ने प्रश्न नै आउदैन । दोस्रो उनीहरुको चुनावमा भागलिनुको उद्धेश्य भनेको बहुमत ल्याउने र आफ्नो पार्टीको सरकार बनाउने, बहुमत ल्याउन नसके प्रतिपक्षमा बस्ने वा संयुक्त सरकार बनाउने र यो दलाल तथा नोकरशाही पूँजीपति र सामन्त वर्गको राज्यसत्तालाई अरु मजवुत बनाउने हो । अहिले सम्म (वि.स् २०४७ देखी २०७९ सम्म) त्यही काम भइरहेको छ । त्यसकारण उनीहरुको प्रतिक्रियावादी चुनावमा भाग लिने प्रश्नलाई लेनिनहरुको जस्तो क्रान्तिकारी कार्यनीतिको रुपमा उपयोग गरेको प्रश्न होइन ।
नेकपा (मसाल) भन्ने अर्को कम्युनिष्ट पार्टी नाम गरेको पार्टीले पनि लामो समय देखी यो प्रतिक्रियावादी चुनावमा भाग लिरहेको छ । प्रारम्भमा यस पार्टीको प्रतिक्रियावादी चुनावमा भाग लिने नीति सही नै थियो तर अब आएर यस पार्टीको चुनाव उपयोग पनि सत्तालाई समर्थन गर्ने, सरकारमा जाने काम गरिरहेको छ । यस पार्टीले पनि यो प्रतिक्रियावादी संविधानको रक्षा गर्नुपर्छ भनेर विशेष जोर्ड दिइरहेको छ र काङग्रेश, माओवादी केन्द्र संघ गठवन्धन गरिरहेको छ । त्यसकारण यो पार्टीको चुनाव उपयोग लेनिनहरुको जस्तो क्रान्तिकारी उद्धेश्यवाट प्रेरित छैन् । यो पार्टी पनि अन्तत सत्ता पक्ष बनेको छ , विभिन्न वहानामा मुलत: सत्ता पक्षको समर्थन गरेको छ ।
प्रतिक्रियावादी चुनावलाई उपयोग वा वहिस्कार जे गरेपनि यसलाई त्रान्तिको पक्षमा प्रयोग गर्नका लागी सर्वप्रथम कम्युनिष्ट पार्टी स्वयम आफैमा अनुशासित हुनुको साथै व्यापक जन आधर भएको र राजनीतिक कार्यदिशा सही हुनु पर्छ । अन्यथा स्पस्ट सही राजनीतिक कार्यदिशा छैन, पार्टीमा कडा अनुशासन छैन र व्यापक जनआधार छैन भने त्यस्तो पार्टीले प्रतिक्रियावादी चुनावलाई उपयोग वा वहिस्कार जे गरे पनि त्यसले क्रान्तिको पक्षमा काम गर्दैन त्यसको भ्रष्टिकरण हुन्छ । व्यवहारमा यस प्रकारको प्ररिणाम हामीले देख्दै आएका छौंं । त्यसकारण क्रान्तिको लागी सबभन्दा पहिले सही राजनीतिक कार्यदिशा भएको, व्यापक जनआधार भएको र अनुशासित पार्टी हुन जरुरी छ । पार्टीलाई अनुशासित कसरी बनाउन सकिन्छ? भन्ने विषयमा लेनिन भन्नुहुन्छ “सवभन्दा पहिले त सर्वहारा वर्गको अग्रदलको वर्ग चेतनाबाट र क्रान्ति प्रति उसको निस्ठा, दृढता, आत्मबलिदान र विरता बाट दोस्रो व्यापक श्रमजिवि जनसमुदाय संग, सवभन्दा पहिले त सर्वहारा वर्ग संग र त्यस्तै किसिमले गैर सर्वहारा श्रमिक जनसमुदाय संग पनि आफ्नो सम्वन्ध जोड्ने यीनीहरु संग सधै नजिको सम्वन्ध बनाइ राख्ने र अझ तपाइहरुलाई यी शब्दहरु मनपर्छन भने कुनै हद सम्म यीनीहरुसंग एकाकार हुने समेत क्षमताबाट र तेस्रो यस अग्रदलले दिएको राजनीतिक नेतृत्वको सहीपनद्वारा, यसको राजनीतिक रणनीति र कार्यनीतिको सहीपनद्वारा, तर एउटा सर्तमा, आम जनताले आफ्नै अनुभवबाट यो रणनीति र कार्यनीति ठीक छ भन्ने बुझेको हुनुपर्छ । यी सर्तहरु बिना ठीक मानेमा प्रगतिशिल वर्गको पार्टी बन्न योग्य र पूँजीपति वर्गलाई उखलेर फाल्ने र सम्पूर्ण समाजको आमुल परिवर्तन गर्ने उद्धेश्य भएको क्रान्तिकारी पार्टीमा अनुशान कायम राख्न सम्भव हुदैन ।” उही पृष्ठ १३/१४ ।
यी तीन वटा सर्तहरु पुरा गरेर मात्र पार्टीमा अनुशासन कायम राख्न सकिन्छ भन्ने लेनिनको मान्यता थियो । जब सम्म पार्टीमा क्रान्तिलाई भन्दा व्यक्तिगत स्वर्थलाई प्राथमिकतामा राख्ने , आफुले चाहे अनुसार पद प्रतिस्ठा पाएन भने असन्तुस्त हुने वा पलायन हुने, पद जहाँ पाइन्छ त्यही पार्टीमा जाने प्रवृत्तिहरु पार्टीमा रहन्छन् त्यस वेलासम्म पार्टीमा अनुशासन कायम राख्न सम्भव हुन्न । पार्टीमा अनुशासन कायम राख्न लेनिनले क्रान्तिकारी कम्युनिस्ट पार्टीको श्रमजिवि जनसमुदायसंग त्यसमा पनि पहिलो सर्वहारा वर्गसंग र गैर सर्वहारा श्रमिक जनता संग सम्बन्ध जोडेको हुनुपर्दछ । श्रमिक वर्गसंग व्यापक सम्बन्ध नभएको अर्थात व्यापक जनआधार नभएको पार्टीमा अनुशासन कायम राख्न सकिन्न भन्ने लेनिनको मान्यता छ । पार्टीको श्रमिक जनतासंग व्यापक सम्बन्ध त्यतीवेला हुन्छ जव पार्टीले श्रमिक जनसमुदायको दैनिक समस्यासंग व्यवहारीक रुपमा आफुलाई जोड्छ । आम शोषित उत्पीडित वर्गको समर्थन नभएको पार्टीलाई लेनिनले गुट, साना डफ्फा मात्र हुन भनेका छन् । जस्तो लेनिनले जर्मनी र हल्याणका वामपंथी कम्युनिस्टहरुको बारेमा भन्नुहुन्छ “आफ्नो यो कर्तव्यलाई पालन नगरेर आफ्नो स्पस्ट गल्तीलाई अति सावधानी, सुक्ष्मता र गम्भीरताका साथ अध्ययन नगरेर जर्मनीका (र हल्यान्डका वामपंथीहरु) तीनीहरु वर्गको पार्टीहरु होइनन् खाली गुट हुन, तीनीहरु जन समुदायको पार्टी होइनन्, बुद्धिजीवीवादको अवगुणहरु दोहोर्‍याउने केही मजदुरहरुको साना डफ्फा मात्र हुन भन्ने कुरा सावित गर्दछन्” उही पृष्ठ ५० ।
यसरी लेनिनको दृष्टिकोणमा पार्टी भनेको श्रमिक वर्गले समर्थन प्राप्त भएको हुनुपर्दछ । व्यापक जन आधार नभएको पार्टी भयो भने वास्तवमा त्यो पार्टी होइन त्यो खाली गुट र साना डफ्फाहरु मात्र हुन । त्यसकारण पूँजीपतिवर्गलाई उखेलेर फाल्नु र सम्पूूण समाजको आमुल परिवर्तन गर्ने पार्टी बनाउनको लागी पार्टीलाई श्रमिक जनसमुदायको समर्थन अनिवार्य हुन्छ र पार्टीले त्यो दिशा तिर पहल र प्रयत्न गर्नु पर्दछ ।
यो लेखको मुख्य सार एउटा क्रान्तिकारी र अनुशासित कम्युनिष्ट पार्टीले प्रतिक्रियावादी संसदीय चुनावको प्रश्नलाई कार्यनीतिक प्रश्न मान्दछ । जव यो प्रश्नलाई व्यवहारमा लागु गर्ने अवस्था आउछ त्यती वेला पार्टीले ठोस स्थितिको ठोस विश्लेषण गर्दै आफ्नो राजनीति रणनीति र कार्यनीतिलाई सहयोग पुग्ने गरी क्रान्तिकारी उपयोग वा क्रान्तिकारी वहिस्कार जे गर्दा सही हुन्छ भन्ने ठान्दछ त्यही नीति लागु गर्दछ ।
२०७९/०४/२०

 

प्रतिक्रिया

सम्बन्धित खवर