काठमाडौ । अखिल नेपाल क्रान्तिकारी वैदेशिक रोजगार मजदुर संघको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । संगठनका संयोजक युवराज थापाको अध्यक्षतामा सम्पन्न बैठकले माघमा संगठनको राष्ट्रिय सम्मेलन गर्ने, एक केन्द्रीय सदस्य एक इकाईको योजना अनुसार न्यूनतम एक हजार सदस्यता वितरण गर्ने, नेपाली मजदुरहरु रोजगाररत मध्यपूर्व, मलेसिया लगायतका न्यूननतम १० देशहरुमा नेपाली मजदुरहरुको सम्पर्क इकाई निर्माण गर्ने निर्णय गरेको छ । संगठन सम्बन्धी रोशन कार्कीलाई सह संयोजकको जिम्मेवारी दिने निर्णय गर्दै केन्द्रीय समितिमा ५ जना नयाँ सदस्यहरु समेत थप गरेको छ ।
यसैगरी वैदेशिक रोजगारीको प्रक्रियामा मजदुरहरु विद्यमान राज्य व्यवस्था र सम्बद्ध निकायबाट ठगिनु, अपमानित हुनु, अधिकारविहिन हुनु परेको एवं वैदेशिक श्रम बजार नेपाली मजदुरका निम्ति असुरक्षित रहेको स्थितिमा समस्याको सहि पहिचान गरि तात्कालिक र दीर्घकालीक सम्बोधनका निम्ति वैदेशिक रोजगार बोर्ड, बिभाग र श्रम मन्त्रालयमा मागपत्र बुझाउने र अन्तरक्रिया सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकलाई प्रमुख अतिथि एवं महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, महासचिव वसन्त बोगटीले आवश्यक प्रशिक्षित गर्दै वैदेशिक रोजगारको क्षेत्रमा राज्यको संरक्षणमा मानव तस्करहरुको जालो मजबुत बन्दै गएको र त्यसलाई ध्वस्त गर्ने बलशाली आन्दोलनको सृष्टि एवं नेतृत्व वैदेशिक रोजगार मजदुर संघले गर्नुपर्नेमा जोड दिनुभयो ।