
२१ असार, विराटनगर । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र नेपाल प्रगतिशील ट्रेड युनियन महासंघबीच एकता सम्पन्न भएको छ । विराटनगरमा आयोजित एकता घोषणा कार्यक्रम मार्फत संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै संगठनका अध्यक्ष इश्वर तिमिल्सिना र विष्णु चौधरीले एकताको संयुक्त घोषणा गर्नुभएको हाे ।

एकता घोषणामा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ “नेपाली मजदुरहरुका राजनितिक, आर्थिक, पेशागत लगायत वैचारिक आकांक्षाहरुको प्रतिनिधित्व गर्दै क्रियाशिल विभिन्न संघ संगठनहरुका बीचमा छलफल, बहस र सहकार्य समेत हुदै आएको छ । सरकार र पुँजीपतिवर्गको मिलोमतोमा कथित उदारीकरणका नाममा मजदुरवर्गका आधारभूत नैसर्गिक अधिकार समेत समाप्त गरेर श्रम बजारमा एकाधिकार कायम गर्दै मजदुरहरु र उनिहरुका आवाजलाई बन्द गर्ने प्रयास भैरहेका बेला यस्ता सहकार्य अझ सुदृढ र कसिलो बनाउदै लैजानुपर्ने खाँचो छ ।
खासगरी साम्राज्यवादी परियोजनाअन्तर्गत चलेका केहि संसदवादी ट्रेड युनियनहरुलाइ छाडेर सच्चा मजदुर पक्षिय संघ संगठनहरुलाइ एउटा प्रवाहमा प्रवाहित गराउन सके नेपाली मजदुरवर्गमाथी पुँजिपतीवर्गले थोपर्दै आएको शोषण, दमन र उत्पीडन बिरुद्ध बिजय प्राप्त गर्न सकिन्छ भन्ने ध्येय उद्देश्य सहित हामी कृयाशिल छौं । यसका निम्ति विभिन्न संघ संगठनहरुसँग वार्ता संवाद पनि भैरहेका छन् ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बाेगटीले दिएकाे जानकारी अनुसार कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम क. दिनेश शर्मा, १ नं प्रदेश सेक्रेटरी क. सिताराम बुढाथोकी, पार्टी सिसिएम क. डिल्लीराम बोहोरा, क. विमल निरौला, क. सुमन पराजुली क्रमशः प्रमुख अतिथि र अतिथि रहनुभएको थियो । एकता घोषणा कार्यक्रमलाई प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम क. दिनेश शर्मा तथा १ नं प्रदेश सेक्रेटरी क. सिताराम बुढाथोकीले प्रशिक्षण एवं शुभकामना मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा प्रमुख अतिथि क. सागरले आगामी क्रान्तिकारी आन्दोलनको विजय मजदुरहरुको क्रान्तिकारी एकताको बलमा मात्रै सम्भव हुने स्पष्ट गर्दै मजदुर संगठनलाई त्यो भूमिका पूरा गर्ने गरि अघि बढ्न निर्देशित गर्नुभयो ।
राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका १ नं प्रदेश अध्यक्ष बालकृष्ण बुढाथोकीले गर्नुभएको थियो ।