काठमाडौं । नेपाली कम्युनिस्ट आन्दाेलन तथा माओवादी आन्दाेलनकाे एकजना सुपरिचित व्यक्तित्व श्रीनाथ अधिकारी क.श्यामकाे तेस्राे स्मृति दिवसका दिन ‘श्रीनाथ अधिकारी (क.श्याम) स्मृति ग्रन्थ’ विमाेचन गरिएकाे छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन वैद्य किरणले स्मृति दिवस कार्यक्रममा स्मृति ग्रन्थकाे विमाेचन गर्नु भएकाे हाे ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे सभाहलमा कमरेड श्यामकाे फाेटाेमा अबिर, मालासहित अर्पणसहित श्रद्धाञ्जलीसहित कार्यक्रम सुरु भएकाे थियाे ।
पहिलाे खण्डमा कमरेड श्यामकाे संक्षिप्त जीवनी, दाेस्राे खण्डमा उहाँसँग सहकार्य गरेका नेताहरु, सहयाेद्धाहरु, परिवारका सदस्यहरुकाे संस्मरणात्मक लेखहरु र तेस्राे खण्डमा उहाँकाे विषयमा भएकाे अन्तरक्रियात्मक कार्यक्रम, श्रद्धाञ्जली, समवेदनम पत्र र तस्बीरहरु समेटिएका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)काे केन्द्रीय समितिले प्रकाशन गरेकाे स्मृति ग्रन्थमा पार्टी महासचिव माेहन वैद्य किरण, नेताहरु सिपी गजुरेल, रामसिंह श्रीस, हरिभक्त कँडेल, इन्द्रमाेहन सिंग्देल लगायतका नेताहरुकाे संस्मरण लेखहरु प्रकाशित रहेकाे छ ।
“प्रस्तुत स्मृतिग्रन्थमा हाम्राे पार्टीका नेता तथा पिवीएम कमरेड श्रीनाथ अधिकारीकाे जीवनी, उहाँले देश जनता, क्रान्ति तथा पार्टीको निम्ति गर्नुभएका काम र याेगदानहरुकाे अभिलेखाङ्कन गरिएकाे छ ।” महासचिव किरणले लेख्नुभएकाे छ, ” याे स्मृतिग्रन्थ हाम्राे पार्टीका नेता, कार्यकर्ता तथा सम्पूर्ण सदस्यहरु, शुभेच्छुकहरु र देश, जनता, क्रान्ति तथा कम्युनिस्टप्रति आस्थावान् सबैका लागि विशेष पठनीय तथा संग्रहणीय रहेकाे छ।”
कार्यक्रममा क्रान्तिकारी माओवादीका नेताहरु सीपी गजुरेल, रामसिंह श्रीस, नेकपा बहुमतका संयाेजक धर्मेन्द्र बास्ताेला, कमरेड श्यामकी जीवनसंगिनी राधिका अधिकारी, छाेराहरु नारायण अधिकारी, क्रान्तिकारी संयुक्त माेर्चा, नेपालका संयाेजक नारायण शर्मा लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।





























