काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का तत्कालीन पीवीएम श्रीनाथ अधिकारी कमरेड श्यामको तेस्रो स्मृति दिवस कार्यक्रममा क्रान्ति र क्रान्तिकारीहरुबीचको एकताको विषयमा विशेष चर्चा गरिएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा वक्ताहरुले नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्पसहित सम्पुर्ण क्रान्तिकारीहरु एकताबद्ध हुनु नै कमरेड श्यामप्रति सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिनुभएको छ ।


स्मृति दिवस कार्यक्रममा प्रमुख वक्ताको रुपमा आफ्नो मन्तव्य राख्नुहुँदै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले क्रान्तिका लागि छरिएर रहेका क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।


“विचार, राजनीतिक तथा सामरिक कार्यदिशा मिल्ने पार्टीहरु अब एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । क्रान्तिका लागि क्रान्तिकारीहरुबीचको सुदृढ एकता अपरिहार्य छ ।” महासचिव किरणले भन्नुभयो, “प्रतिक्रियावादी व्यवस्थाको संरक्षक बन्न पुगेको नवप्रतिक्रियावादी, संशोधनवादी तथा दक्षिणपन्थी अवसरवादी शक्तिका साथै साम्राज्यवादी र विस्तारवादी शक्तिसँग निर्णायक संघर्ष नगरी क्रान्तिलाई सफल तुल्याउन सकिन्न । त्यसका लागि छरिएर रहेका सम्पूर्ण क्रान्तिकारीहरु एकतबद्ध हुन जरुरी छ ।”


कमरेड श्याम एक सच्चा क्रान्तिकारी व्यक्तित्व रहेको र क्रान्तिको सपना नै उहाँको सिंगो जीवनको सपना भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “कमरेड श्याम लगायत सम्पूर्ण सहिदहरु र मृत्युबरण गरेका सम्पूर्ण क्रान्तिकारी योद्धाहरुप्रति सच्चा श्रद्धाञ्जली गर्नु भनेको क्रान्तिको संकल्प गर्नु हो ।”


नेपालको कम्युनिस्ट आन्दोलन, नयाँ जनवादी तथा माओवादी युद्ध÷आन्दोलनमा कमरेड श्यामको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले गोरखामा कम्युनिस्ट पार्टीको स्थापना र त्यहाँ वर्गसंघर्ष उठान गर्न उहाँको प्रमुख भूमिका रहेको बताउनु भयो ।


जनयुद्धकालमा क्रान्तिकारीहरुको रगत र पसिनाले भिजेको गोरखा जिल्ला अहिले संशोधनवाद र अवसरवादले ढाकिएको तीतो यथार्थलाई समेत प्रकाश पार्नुभयो ।


“गोरखामा मात्रै होइन अहिले सिंगो नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवाद र दक्षिणपन्थी अवसरवाद हावी रहेको छ । यी तत्वसँग निर्णायक संघर्षबिना क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढाउन सकिन्न ।”


कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुँदै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहनु भएका पार्टी स्थायी समिति सदस्य सीपी गजुरेलले कमरेड श्यामले जीवनको उत्तराद्र्धमा पनि आफ्नो स्वास्थ्यको भन्दा बढी क्रान्तिको चिन्ता गर्ने गरेको स्मरण गर्दै क्रान्तिको प्रक्रिया अगाडि बढाउने संकल्प गर्नु, क्रान्तिको प्रक्रियामा लामबद्ध हुनु नै कमरेड श्यामप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।


देश र जनताको लागि बाँच्ने मान्छेहरु मरेर गए पनि सँधै जनताको बीचमा जीवित रहने विचार व्यक्त गर्दै अध्यक्ष गजुरेलले भन्नुभयो, “श्रीनाथ अधिकारीले देखेको क्रान्तिको सपना पूरा भएको छैन । उहाँले देख्नुभएको क्रान्तिको सपना पूरा गर्न संकल्पबद्ध बन्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ ।”

“अब सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउन ढिला गर्नुहुन्न ।”, उहाँले भन्नुभयो, “हामीले त्यसका लागि प्रयास गरिरहेका छौं, यसलाई असफल पार्न षड्यन्त्र पनि भइरहेको छ । क्रान्तिकारीहरुको एकता तथा ध्रुवीकरण अहिलेको प्रमुख आवश्यकता हो ।”

कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले कम्युनिस्ट आन्दोलनको फुटलाई अब एकतामा बदल्ने बेला आएको बताउनु भयो । विचार, राजनीति कार्यदिशा समान रहेका क्रान्तिकारी शक्तिहरुका बीच एकताको सम्भावना रहेको चर्चा गर्दै उहाँले अब क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने समय आएको बचाउनु भयो ।


क्रान्तिकारी संयुक्त मोर्चा, नेपालका संयोजक नारायण शर्माले नेपाली कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा मोहन वैद्य किरण ‘टावर पर्सनालिटी’ रहेको चर्चा गर्दै कमरेड किरणले छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याउन ठोस पहल गर्नुपर्ने सुझाब दिनुभयो । क्रान्तिकारीहरुलाई एकताबद्ध बनाएर क्रान्तिको प्रक्रिया अगाडि बढाएमा मात्र कमरेड श्यामप्रति सच्चा श्रद्धाञ्जली हुनेमा उहाँको पनि जोड थियो ।


कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरी, कमरेड श्यामका सहयोद्धा भक्ति लामिछाने, कमरेड श्यामका जेठो छोरा तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य नारायण अधिकारीले पनि कमरेड श्यामको क्रान्तिकारी व्यक्तित्व र योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा ‘अविचलित योद्धा श्रीनाथ अधिकारी (क.श्याम) स्मृतिग्रन्थ’को समेत विमोचन गरिएको थियो । पार्टी महासचिव किरणले सो स्मृतिग्रन्थ विमोचन गर्नुभएको थियो ।


स्मृतिग्रन्थ र कमरेड श्यामको जीवनको बारेमा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले संक्षिप्तमा चर्चा गर्नुभएको थियो ।
क्रान्तिकारी माओवादीका पीवीएम तथा प्रदेश तीनका इन्चार्ज चन्द्रहरि सुवेदी अटलले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसले गर्नुभएको थियो । कार्यक्रममा पार्टी पिविएम तथा प्रदशे ४ का इन्चार्ज अशोक लम्साल अनुकूलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको आरम्भमा कमरेड श्यामको फोटोमा माल्र्यापणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा कमरेड श्यामकी जीवनसंगिनी राधिका अधिकारी लगायत छोरा बुहारी, नाति नातिनाहरुको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार