काठमाडौं । जेठ १३ गते सहिद कृष्णसेन इच्छुकको २१ औं स्मृति दिवस मनाइयो । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध पत्रकार र जनसांस्कृतिक महासंघले विहान प्रभातफेरी कार्यक्रम गरे । दिउसो इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरियो । विहान रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरी इच्छुकको हत्यास्थल प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लव अगाडि संक्षिप्त कोणसभासहित सम्पन्न भयो । त्यसलगत्तै प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रम प्रतिष्ठानको सभाहलमा सुरु भयो । कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो– सौन्दर्य चिन्तनको क्षेत्रमा चैतन्य नामले स्थापित नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव समेत रहनु भएका मोहन वैद्य किरण । उहाँले कार्यक्रमको अन्तमा सम्बोधन गर्दै विचार, भावना र उद्गारका दृष्टिले कार्यक्रम निकै राम्रो भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा चारजना प्रगतिवादी साहित्य क्षेत्रमा क्रियाशील स्रष्टाहरुलाई इच्छुकको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत गरिएको थियो । पुरस्कृत स्रष्टामध्ये रविकिरण निर्जीवले इच्छुकको सम्झनामा लेखिएको रचना गीती लयमा प्रस्तुत गर्दा इच्छुककी छोरी समीक्षा सेन डाकै छोडेर रुनु भयो । छेउमै रहेकी छोरी यसरी रोएपछि इच्छुककी जीवनसंगिनी तक्मा केसी पनि भक्कानिएर रुनु भयो । यो दृष्यले सिंगो हललाई नै स्तब्ध बनायो । सबैका आँखा रसाए । माहौल निकै भावुक बन्यो । एकछिन सबैमा मौनता छायो । पछि कार्यक्रम फेरि अगाडि बढ्यो । यही क्षणको सन्दर्भमा दार्शनिकहरु प्लेटो र अरस्तुको भनाइलाई उल्लेख गर्दै चैतन्य (कमरेड किरण)ले भन्नुभयो, “कविहरु कविता लेखेर पाठकहरुलाई उत्तेजित बनाउने र रुवाउने गर्छन्, उनीहरुलाई लखेट्नु पर्छ । तर पछि उनका शिष्यले भने भावना र आवेगमा उर्जा हुन्छ । भावना र आवेगविनाको मान्छे हुँदैन । तर त्यसलाई विवेकमा रुपान्तरण गर्नुपर्छ ।”

भावनालाई बर्खाको भेलबाढीसँग तुलना गर्दै उहाँले भेलबाढीलाई बाँध हाल्न सकियो भने त्यसबाट बिजुली उत्पादन गर्न सकिएजस्तै यसरी व्यक्त हुने भावना र आवेगलाई विचारको बाँध हालेर क्रान्तिका निम्ति शक्ति पैदा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “शोकलाई शक्तिमा रुपान्तरण गर्नुपर्छ ।”

सहिदहरु क्रान्तिका लागि सँधै उर्जा र उत्प्रेरणा हुने भन्दै सहिद कृष्णसेन इच्छुकको बहुआयामिक (समग्र) व्यक्तित्वलाई सहिदहरुमा पनि सर्वोत्तम सहिदको हैसियतमा स्थापित गरेको बताउनु भयो ।

उहाँले इच्छुकको राजनीतिक, साहित्यिक, पत्रकारितासम्बन्धी व्यक्तित्वका साथै पार्टीभित्रको अन्तरविरोध हल गर्ने ‘दार्शनिक व्यक्तित्व’ रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “कृष्णसेनले अन्तरविरोधको हल गर्नेमा महत्वपूर्ण भुमिका खेल्नुहुन्थ्यो । दुश्मनीपूर्ण अन्तरविरोधलाई मैत्रीपूर्ण रुपमा हल गर्नमा जोड दिनु हुन्थ्यो ।”

वीरता र बलिदानलाई स्थापित नगरी क्रान्ति नहुने भन्दै इच्छुकको वीरता, बलिदान र उहाँको योगदानलाई देशभित्र र बाहिरसमेत स्थापित गरेर लैजानुपर्नेमा जोड दिनुभयो । ‘इतिहासका आदर्श नायकहरुलाई स्थापित गर्नु भनेको क्रान्तिको तयारी गर्नु पनि हो । अब हामी क्रान्तिको अर्को प्रक्रियामा जानु आवश्यक छ । क्रान्तिको तयारी गर्नुपर्ने आवश्यकता छ । भावी क्रान्तिका लागि कृष्णसेन इच्छुकका योगदानहरुलाई अझ स्थापित गर्नुपर्छ । इतिहासका आदर्श नायकहरुलाई स्थापित नगरी क्रान्ति हुन्न । कृष्णसेन इच्छुक नेपाली क्रान्तिको एक आदर्श नायक हो ।’
उहाँले प्रगतिवादी साहित्यको फाटमा रहेर कमल चलाइरहेका स्रष्टाहरुलाई भावी क्रान्तिमा योगदान पुर्‍याउने गरी कमल चलाउन पनि आग्रह गर्नुभयो ।

यही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले अहिले पनि कृष्णसेन इच्छुक नेपालको क्रान्तिकारी आन्दोलनमा जीवित रहेको, उहाँको भौतिक शरीरको अन्त्य भएपनि उहाँको विचार क्रान्तिकारी आन्दोलनसँगै जीवित रहेको र जीवित रहने बताउनु भयो । उहाँले भन्नुभयो, “कृष्णसेनकै आदर्शमा अहिले पनि हामी हिडिरहेका छौं ।’

राजनीति आदर्शविना नचल्ने बताउनुहुँदै अध्यक्ष गजुरेलले इच्छुकका सपना र आदर्शमाथि घात गर्ने प्रचण्डहरुले अहिले पनि इच्छुकका बलिदानहरुलाई भजाएर खाइरहेको, सहिदहरुका बलिदानलाई बिक्रि गरिरहेको भन्दै विरोध गर्नुभयो । ‘कृष्णसेन इच्छुक क्रान्तिकारी लाइनलाई अगाडि बढाउने एक सुयोग्य आदर्श व्यक्ति हो । उहाँलाई स्थापित गर्नु भनेको क्रान्तिकारी धारालाई स्थापित गर्नु हो । क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनु हो ।’ उहाँले भन्नुभयो, “कृष्णसेन इच्छुकहरुलाई अझ बढी स्थापित गर्नुपर्छ । उहाँका विरोधीहरुलाई अझ बढी नङ्ग्याउने प्रयत्न गर्नुपर्छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै इच्छुककी जीवन संगिनी तक्मा केसीले इच्छुकको भौतिक शरीरको हत्या गर्ने हत्याराहरु र उहाँको सपना र आदर्शमाथि घात गर्नेहरुलाई नङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले इच्छुकका हत्याराहरुलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गरिएको भन्दै हत्याराहरुको नामै लिएर उहाँले भन्नुभयो, “उनीहरुलाई कारबाही भएको दिन म सबैभन्दा खुशी हुनेछु ।”

इच्छुकका सपना र आदर्शमाथि घात गर्नेहरुले हत्याराहरुलाई कारबाहीको सट्टा पुरस्कृत गरेकोले अब ती दुवैथरीलाई साहित्यकारहरुले नङ्याउनुपर्ने, धेरैभन्दा धेरै लेखेर तिनीहरुलाई सामाजिक रुपमा दण्डित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी सौन्दर्य चिन्तक निनु चापागाईंले पनि सत्ताको चरित्र नै क्रान्तिकारीहरुलाई दमन गर्ने हुने भन्दै सत्ता र व्यवस्थाका विरुद्ध प्रगतिवादी साहित्यका फाटमा कलम चलाउनेहरुले विद्रोह बोल्न सक्नुपर्ने बताउनु भयो । उहाँले सहिद कृष्णसेन इच्छुकको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै उहाँ नेपाली क्रान्तिको आदर्श नायक रहेकोमा जोड दिनुभयो । उहाँ अरुलाई गर्न भनेर आव्हान गर्नुहुन्थ्यो, आफ्नो जीवनमा त्यही गरेर देखाउनु भयो भन्दै उहाँले भन्नुभयो, “कृष्णसेनमा शब्द र कर्ममा कुनै अन्तरविरोध थिएन । उहाँ त्याग, तपसस्या, वीरता र बलिदानको उच्चतम रुप भएको र सहिदहरुमा पनि सर्वोत्कृष्ट सहिद हुनुहुन्थ्यो ।”

‘इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार तथा सम्मान कार्यक्रम’ नाम दिइएको कार्यक्रममा ‘इच्छुक स्मृति पुरस्कार– २०७९’ प्रगतिवादी धाराका स्थापित साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गरियो । ‘इच्छुक प्रतिभा पुरस्कार २०७९’ बाट विगत लामो समयदेखि साहित्यलेखन, खासगरी गीत र कवितालेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई अभिव्यक्त गर्दै आएका पोखरानिवासी काजीबाबु श्रेष्ठ (काजी गाउँले) र जनयुद्ध कालदेखि हालसम्म विशेषत: नृत्यतर्फ क्रियाशील भएर संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी रोल्पा निवासी कविता पुनमगरलाई पुरस्कृत गरिएको थियो ।

इस्मालीले स्वागत गरेको कार्यक्रममा पुरस्कृत स्रष्टाहरुको बारेमा प्रा.डा. ताराकान्त पाण्डेयले प्रकाश पार्नुभएको थियो । इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दु:खीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कवि मित्रलाल पंज्ञानीले गर्नुभएको थियो । कार्यक्रममा इच्छुककी छोरी समिक्षा सेनको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

सामना सांस्कृतिक परिवारका कालाकारहरुले इच्छुकद्वारा रचित ‘प्रतिबन्ध’लाई स्वागत गीतको रुपमा प्रस्तुत गरिएको कार्यक्रममा कवियत्री गौरी देवकोटाले इच्छुकको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा कवि बलराम तिमिल्सिनाले ‘उनी मरेका छैनन्’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर