संसारसेन स्मृति ग्रन्थको विमोचन कार्यक्रम सम्पन्न

संसारसेन स्मृति ग्रन्थको विमोचन कार्यक्रम सम्पन्न

जाजरकोट । जाजरकोट जिल्लाका स्थापित जनयोद्धा कमरेड संसारसेन पृथकको स्मृति ग्रन्थ विमोचन गरिएको छ । संसारसेन स्मृति ग्रन्थ प्रकाशन तथा व्यवस्थापन समिति, नेकपा (क्रान्तिकारी माओवादी) जाजरकोट–बाँकेको संयुक्त आयोजनामा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ६ लहँ थाप्ला स्थित निर्मलज्योति माविमा संसारसेन स्मृति ग्रन्थको विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

कमरेड संसारसेनको तस्बिरमा माल्यार्पण र अविर सहितको श्रद्धाञ्जली अर्पणसँगै सुरु भएको कार्यक्रमको अध्यक्षता संसारसेनकी जीवनसाथी प्रतीज्ञा चौलागाईले गर्नुभएको थियो भने सञ्चालन लोक गायक जय वहादुर रावलले गर्नुभएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सचिव दिपकबहादुर शाही‘प्रकाशउर्जा’को प्रमुख आतिथ्यता तथा निवर्तमान नलगाड नगरप्रमुख टेकबहादुर रावल‘दर्शन’, हालै निर्वाचित नगरप्रमुख रावतको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि गायतले संयुक्त रुपमा स्मृति ग्रन्थको विमोचन गर्नुभएको थियो । विमोचन कार्यक्रमसँगै जनयुद्धका सहिद परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर अविर लगाई सम्मान गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिले कमरेड संसारसेनपृथकले जाजरकोट तथा नेपालको कम्युनिस्ट आन्दोलनमा गर्नुभएको योगदान र उत्प्ररेणाको विषयमा चर्चा गर्दैै कमरेड संसारसेनको स्मृति ग्रन्थले उहाँजस्तै अब्बल जनयोद्धा तथा क्रान्तिकारीहरु जन्माउने विचार व्यक्त गर्नुभएको थियो । कमरेड संसारसेन पृथककी जीवनसाथी लक्ष्मी चौलागाई ‘प्रतिज्ञा’ले आँसुको ढिक्का खसाल्दै आफ्ना दुई सन्तानलाई लिएर कार्यक्रममा आएको र आफ्ना व्यक्तिगत र पार्टीका आवश्यकतालाई सन्तुलन मिलाउदै शरीरमा एकथोपा रगत र एकमुट्ठि श्वास रहेसम्म कमरेड संसारसेनले उठाएको झण्डालाई झुक्न नदिने संकल्प गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी माओवादी जाजरकोटका सेक्रेटरी राम बहादुर बुढा ‘राजन’ले स्मृति ग्रन्थबारे सम्क्षिप्तमा प्रकाश पार्नुभएको थियो भने त्यसको समालोचनात्मक टिप्पणी प्रेस सेन्टर जाजरकोटका अध्यक्ष लोकेन्द्र विक्रम शाही ‘प्रज्ज्वल’ र प्रेस सेन्टरका भेरीकर्णाली उपाध्यक्ष देविका लामिछाने ‘शोभा’ले विमोचित स्मृति ग्रन्थले गर्नुभएको थियो । उहाँहरुले विमोचित स्मृतिग्रन्थले बिरबहादुर कामी ‘संसारसेनपृथक’लाई सदाका लागि बचाईरहने र समाजको प्रेरणाको श्रोत बनाइरहने विश्वास व्यक्त गर्नुभएको थियो ।