१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर “अन्तर्राष्ट्रिय मजदुर दिवस र मजदुर आन्दोलनका कार्यभार“ विषयक अन्तरक्रिया सम्पन्न

१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर “अन्तर्राष्ट्रिय मजदुर दिवस र मजदुर आन्दोलनका कार्यभार“ विषयक अन्तरक्रिया सम्पन्न

 

१५ वैशाख  कुपोन्डोल, ललितपुर ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आयोजनामा “अन्तर्राष्ट्रिय मजदुर दिवस र मजदुर आन्दोलनका कार्यभार“ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाद्वारा प्रस्तुत अवधारणामाथि कार्यक्रमका प्रमुख वक्ता एवं अन्य वक्ताहरुले धारणा राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता एवं अखिल नेपाल ट्रेड युनियन महासंघका पूर्व अध्यक्ष दिनेश शर्माले नेपालको राजनीतिक परिवर्तनमा मजदुरवर्गले ऐतिहासिक भूमिका पूरा गरेर आएको स्पष्ट गर्दै पुरानो राज्य–व्यवस्था विरुद्धको आगामी संघर्ष मजदुरवर्गको नेतृत्वमा अगाडि बढ्ने र विजयी हुने बताउनुभयो ।

“मजदुरवर्गले इतिहासको निर्माणमा जुन भूमिका पूरा गरेर आएको छ, त्यो गौरवपूर्ण छ, त्यसले दुनियाँलाई ब्युँझाएको छ, बदलेको छ । मजदुरवर्गको आगामी भूमिकाले दुनियाँको नेतृत्व गर्नेछ । यो अवधारणा पत्रले पनि यही स्पष्ट गर्न खोजेको छ ।“ यस्तै अन्तरक्रिया कार्यक्रमका अतिथि वक्ता एवं क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिनाले विद्यमान मजदुर आन्दोलनको संकटबारे चर्चा गर्दै एकताबद्ध मजदुर आन्दोलनले मात्रै यो स्थितिको अन्त्य एवं मजदुरवर्गको राज्य–व्यवस्था स्थापना गर्न सक्ने बताउदै त्यस दिशातर्फ अघि बढ्न जोड गर्नुभयो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष एवं अतिथि वक्ता विनोद थापाले मजदुरवर्गलाई प्रथमत: दलाल पुँजीवादी तथा सामन्तवर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको भ्रमजालबाट मुक्त गर्नुपर्ने आवश्यकता माथि जोड दिँदै क्रान्तिकारी विचारको आलोकमा मजदुर आन्दोलनलाई एकताबद्ध गर्न लाग्नुपर्ने बताउनुभयो ।  अन्तरक्रियामा बोल्दै वैज्ञानिक समाजवादी ट्रेड युनियनका संयोजक डिबि सर्वश्रेष्ठले  बहुराष्ट्रिय कम्पनीको कारण राष्ट्रिय उद्योग तहसनहस हुँदै गएको वस्तुगत अवस्था माथि ध्यान दिँदै राष्ट्रिय उद्योगको रक्षा मजदुरवर्गले मात्रै गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य उद्दव गुरुङले स्वागत एवं बालकृष्ण सिटौलाले मजदुर आन्दोलनका आगामी चुनौती र सम्भावनाबारे टिप्पणी राख्नुभएको थियो ।

महासंघले १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जस अनुसार वैशाख १८ अर्थात १३३ औं मई दिवसको दिन काठमाडौको माइतीघर मण्डलाबाट विशाल प्रदर्शन तथा मजदुर सभा र प्रदेशस्तरमा विभिन्न प्रदर्शन–सभाको कार्यक्रम घोषणा गरेको छ ।