बैशाख ६ विराटनगर ।
शान्तिपुर्ण चुनाव बहिष्कारमा होमिएको नेकपा(क्रान्तिकारी माओवादी) निर्वाचन बहिष्कारको अर्थ बुझाउन जनताको घरघरमा पुगेको छ । पचार्, पोष्टर सहित गाउँगाउँमा पुगेको क्रान्तिकारी माओवादीले नागरिकले किन निर्वाचन बहिष्कार गर्ने भन्ने विषय जनतालाई बुझाएको हो । प्रतिक्रियावादी निर्वाचान बहिष्कारको अर्थ बुझाउन प्रदेश नम्बर १ का सबै जिल्लामा प्रचारप्रसार अभियानलाई तिब्रता दिएको नेकपा(क्रान्तिकारी माओवादी)का प्रदेश सेक्रेटरी उदयले जानकारी दिनु भयो ।

उहाँले प्रतिक्रियावादी ,अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाएर गरिने निर्वाचनको अर्थ नरहेको भन्दै जनता सामू पुगेर स्पष्ट पार्ने काम भैरहेको बताउनु भयो । यसरी क्रान्तिकारी माओवादीले प्रतिक्रियावादी निर्वाचन बहिष्कार गरौँ भन्दै जनताका घर दैलोमा पुग्दा नागरिकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरुले आश्वासन मात्र बाँड्दै भोट माग्न आउनेहरु भन्दा खर्चिलो निर्वाचन बहिष्कार गरौँ भन्दै आउनेहरुसँग खुसी लागेको बताएका छन् । मोरङ रंगेलीका लिलबहादुर राईले पँुजीवादी निर्वाचन बहिष्कारको पोष्टर टाँस्ने, पर्चा वितरण गर्ने काम उपयुक्त भएको बताए । उनले भोट माग्न आउनेका कुरा सुन्न दिक्दार लाग्ने र आक्रोश उत्पन्न हुने भन्दै क्रान्तिकारी पार्टीले चलाएको अभियानमा आफ्नो समर्थन रहेको भनाई राखे । देउवा सरकारले तोकेको स्थानियतहको निर्वाचनको मिति नजिकिदै गएपनि गाउँघर तथा शहरबजारमा निर्वाचनको माहोल देखिदैन ।

दलाल संसदीय व्यवस्थाबाट दिक्दार भएका नागरिहरुले निर्वाचनमा उत्साह देखाएका छैनन् । निर्वाचन हुनुभन्दा दुई महिना अघिदेखिनै नागरिकका घरघरमा पुगेर आश्वासन बाँड्ने संसदवादीहरुले पनि यस निर्वाचनमा सक्रिय सहभागीता जनाउन सकेका छैनन् । मजदुर ,किसान ,महिला ,दलित ,सुकुम्बासी , आदिवासी ,जनजाति ,मधेशी मुस्लिम र पिछडिएको क्षेत्रका जनताका जनतान्त्रिक हक अधिकार र जनजीविकाका समस्याहरुको समाधनतर्फ कुनै ध्यान दिन नसक्ने दलाल संसदीय व्यवस्थाका विरुद्ध नागरिकहरु गोलबद्ध हुदै गएको क्रान्तिकारी माओवादीका मोरङ इन्चार्ज विद्रोहीले बताउनु भयो । उहाँले मोरङ जिल्लामा मात्र लाखौँ जनतालाई प्रत्यक्ष भेटेर निर्वाचन बहिष्कार गर्नुको अर्थ बुझाउने अभियान सहित मोरङका सबै स्थानीयतहमा पर्चा वितरण गर्ने ,पोष्टर टाँसने र जनतासँग बसेर भलाकुसारी गर्ने अभियानमा जुटेको जानकारी दिनु भयो ।


यसरी नै ताप्लेजुङ जिल्लामा पनि प्रचारप्रशारको काम लाई तिब्रता दिएको क्रान्तिकारी माओवादीका ताप्लेजुङ इन्चार्ज तारा थापाले बताउनु भयो । उहाँले निर्वाचनमा खासै सक्रियता नदेखाएका ताप्लेजुङवासीले बहिष्कारको अभियानलाई सकारात्मक रुपमा लिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार