काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीका केन्द्रीय समितिका सल्लाहकार कुलराज ज्ञवाली (कमरेड गम्भीर)को निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “यस दुःखद घडीमा हाम्रो पार्टी क. गम्भीरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।”
वक्तव्यमा भनिएको छ, “यही २०७८ चैत्र २२ गते आकस्मिक निधन भएको छ । विहान करिब ११ बजेतिर आफ्नै घरमा बेहोस भएर ढले पछि अस्पताल लैजाने क्रममा बीच बाटोमै उहाँको निधन भएको हो । उहाँ उच्च मधुमेह र मुटुको रोगले पीडित हुनुहुन्थ्यो । प्युठानमा २००३ मा जन्म भई २०२९ सालमा कैलाली थापापुर गाविस बसाइँ सर्नु भएका उहाँ २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्य भएदेखि सधै क्रान्तिकारी कित्तामा उभिएर देश र जनताको सेवामा खट्नु भयो । उहाँ पश्चिम नेपालको एकजना मूर्धन्य क्रान्तिकारी नेता हुनु हुन्थ्यो । उहाँको निधनले नेपालको कम्युनिस्ट आन्दोलन र मुख्यतः पश्चिमको कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको छ । उहाँको कान्छो छोरा शिवराज ज्ञवाली (क. यात्री) जनयुद्धका क्रममा २०६२ भदौ १६ गते सहिद हुनु भएको हो । उहाँका एक श्रीमति, एक छोरा दुई बुहारी, तीन छोरी, तीन ज्वाइँ, चार नाति र तीन नातिनी हुनु हुन्छ । यस दुःखद घडीमा हाम्रो पार्टी क. गम्भीरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।”































