
काठमाडौं । नेपालका शासकहरुले पटक पटक आफ्नो प्रोटोकल बिर्सेर विस्तारवादी तथा साम्राज्यवादी तत्वहरुको भद्दा दलाली गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतीय विस्तारवादी शासकका खुफिया एजेन्सी प्रमुख सामन्त गोयलसँग मध्येरातमा बालुवाटारमा गरेको भेट होस् वा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा एमसीसीको मुख्यालयलाई लेखेको चिठी होस् र अहिले भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा पुगेको विषय होस्, यी सबै घटनाक्रममा नेपालका शासकहरुले एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत गिराउने र स्वाभिमानी नेपाली नागरिकको शीर निहुर्याउने काम गर्दै आएका छन् । यी सबै घटना प्रवृत्ति विस्तारवादी र साम्राज्यवादी श िक्तहरुको भद्दा दलालीभन्दा बाहेक अरु केही होइन ।
भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री प्रतिनिधिमण्डलसहित पार्टी कार्यालयमै पुगेको यो पहिलो पटक हो । यसको अहिले राजनीतिक तथा कुटनीतिक वृतमा व्यापक आलोचना भइरहेको छ । विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरुको दलबलसहित भारतीय जनता पार्टी मुख्यालय जानुलाई अशोभनीय र कुटनीतिक मर्यादाविपरीत भएको भनेर आलोचना गरेका छन् ।
परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल डा. निरन्जनमान सिंह बस्नेतले भने, ‘अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्री भारतका पार्टी विशेषको कार्यालयमा पुगेको रेकर्ड छैन । प्रधानमन्त्री देउवा भाजपा मुख्यालय जानुभएको हो भने त्यो कुटनीतिक मर्यादा विपरीत हो ।’
विगतमा त्यहाँका सत्तापक्ष र विपक्षी दलका नेता नेपाली दूतावास वा नेपालका प्रधानमन्त्री बसेका होटलमै आएर भेट्ने गर्थे । भारतका केही सञ्चारमाध्यमहरुले पनि कुनै पनि विदेशी सरकार प्रमुखहरुले भाजपाको मुख्यालय भ्रमण नगरेको भन्दै समाचार प्रकाशित गरेका छन् ।
देउवालाई भाजपा मुख्यालयमा विशेष स्वागत गरिएको छ । भाजपा अध्यक्ष जेपी नड्डा र भाजपा नेताहरुले देउवासँग भेटवार्ता गरेका छन् । देउवाका साथमा पत्नी आरजु देउवा र भ्रमण दलमा सहभागी परराष्ट्रमन्त्री नारायण खड्का, कृषिमन्त्री महेन्द्र राय यादव, उर्जामन्त्री पम्फा भुषाल र स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि त्यस अवसरमा सहभागी थिए ।
कांग्रेस निकट मानिने भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्री देउवा भाजपाको मुख्यालयमा जानुलाई ‘आउट अफ प्रोटोकल’ को संज्ञा दिएका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जारी गरेको देउवाको औपचारिक भ्रमणमा भाजपाको कार्यालय जानेबारे उल्लेख नै छैन ।
देउवाले आफू सत्तामा आएपछि १४ औं महाधिवेशनको मुखमा असोज २१ देखि २५ सम्म पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय (उदयशमशेर राणा र अजयकुमार चौरसिया) टोलीलाई भारत पठाए । चौथाइवालेको निमन्त्रणामा गएको उक्त टोलीले नयाँदिल्लीमा भाजपाका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै वनारसको भ्रमणसमेत गरेको थियो र उत्तर प्रदेशका मुख्यमन्त्री एवम् भाजपा नेता योगी आदित्यनाथलाई भेट्न लखनउसमेत पुगेको थियो । प्रधानमन्त्री देउवा पनि आइतबार वनारसकै काशी विश्वनाथको दर्शन गरेर नेपाल फर्कने कार्यक्रम छ ।
मोदी नेतृत्वको विस्तारवादी शासकले नेपालको भूमि नै आफ्नो नक्सामा पारेर लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा कब्जा जमाइरहेको, मेचीदेखि महाकाली क्षेत्रसम्म सीमा क्षेत्रमा एकतर्फी पक्की सडक लगायतका भौतिक संरचना खडा गरेर नेपाली भुभाग डुबानमा पारेको, अन्य दर्जनौ स्थानमा सीमा मिचिएको, सन् पचास लगायत भारतसँग गरिएका असमान सन्धि सम्झौताहरु र इपिजी प्रतिवेदन मोदीले बुझ्न नमानेको लगायतका नेपालको स्वाधीनतासँग जोडिएका दर्जनौ विषयहरुमा कुरा हुने र अतिक्रमित भूमि फिर्ता गराउन पहल गर्ने जनअपेक्षामाथि भद्दा उपहास गर्दै प्रधानमन्त्री देउवा सत्तारुढ विस्तारवादी शासकहरुको पार्टी भाजपाको मुख्यालयमै पुगेर आफ्नो राष्ट्रिय आत्मसमर्पणवादी चरित्र प्रदर्शन गरेका छन् ।
देश र जनताको लागि प्रधानमन्त्री देउवाको भ्रमण फेरि पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात् जस्तै भएको छ । नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध सुदृढ बनाउनेमै देउवाको भ्रमण सकिने विश्लेषण गरिएको छ । कांग्रेसको सभापति बनाउन भारतले लगाएको गुण तिर्न र धन्यवाद दिन भारत भ्रमणमा आउन लागेको भारतीय प्रोफेसर एसडि मुनिले गरेको ट्वीटलाई पुष्टि गरेको एक कुटनीतिज्ञले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । देउवाले हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन् । त्यसअघि देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ ।
भेटपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ भने मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आजै दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ । त्यसपछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।