काठमाडौँ । नेकपा माओवादी केन्द्रका तीन नेताहरुले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे तल्लो कमिटी छलफल लैजानुपर्ने माग गर्दै ’नोट अफ डिसेन्ट’ लेखेका छन् । कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव राख्दै तल्लो तहसम्म छलफल लैजानु पर्ने माग गरेका हुन् ।

उनीहरुको प्रस्तावमा व्याख्यात्मक घोषणाको प्रस्ताव पार्टी विधिअनुसार नआएको, एमसीसी राष्ट्रिय हितविपरीत भएको, इन्डो–प्यासिफिक स्ट्राटेजीको अंग भएको दाबी छ ।

शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । दाहालले बाध्यात्मक अवस्थामा एमसीसी अनुमोदन गर्नु परेको बताएका थिए । श्रेष्ठले एमसीसीमा आफ्नो फरकमत रहेको तर पार्टीलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताएका थिए ।

अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन पार्टीको लाइन र म्याण्डेट विपरीत ‘राष्ट्रघाती कदम’ चालेपछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा भाँडभैलो उत्पन्न भएको थियो । व्याख्यात्मक टिप्पणी घोषणाको नाममा आफ्नो हद दर्जाको दलाल तथा अवसरवादी चरित्र देखाएको र पार्टीको नीति र म्याण्डेटलाई लत्याएर आफूखुशी निर्णय गरेभन्दै प्रचण्डको घोर विरोध भइरहेको छ । र, पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ ।

माओवादी केन्द्रको केही समयअघि सम्पन्न महाधिवेशन र संसदीय दलको बैठकले बिना संशोधन एमसीसी पास नगर्ने लाइन लिएको थियो । तर पार्टीका नेता र कार्यकर्ताहरुलाई बेवकुफ बनाउँदै प्रचण्डले कथित व्याख्यात्मक घोषणाको नाटक रचेर एमसीसी हुबहु पारित गरेपछि माओवादी केन्द्रभित्र राष्ट्रघाती दलालहरु र देशभक्त क्रान्तिकारीहरुको दुईधार (दुई लाइन) देखिएको शुक्रबारबाट जारी केन्द्रिय समितिको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर