“राष्ट्रिय स्वाधीनताका लागि सशक्त राष्ट्रिय प्रतिराेध संघर्षकाे तयारी गराैं” : ८ दलका शीर्ष नेताहरु

“राष्ट्रिय स्वाधीनताका लागि सशक्त राष्ट्रिय प्रतिराेध संघर्षकाे तयारी गराैं” : ८ दलका शीर्ष नेताहरु

काठमाडौँ । राष्ट्रघाती एमसीसी सम्झाैता पारित विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको घाेषित संघर्षकाे कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौंमा विशाल विराेधसभा सम्पन्न भएकाे छ । विराेधसभालाई सम्बाेधन गर्दै शीर्ष नेताहरुले देशकाे स्वाधीनता र सार्वभाैमिकताकाे रक्षाका लागि राष्ट्रिय प्रतिराेध युद्धकाे आवश्यकता पर्न सक्ने बताउनु भएकाे छ ।
विराेधसभाकाे अध्यक्षता गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एमसीसीविरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘एमसीसी राष्ट्रघाती छ । नेपालमा एउटा राष्ट्रघात थप भएको छ । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ । यसका विरुद्ध प्रतिराेध संघर्ष विकसित गरेर लैजान आवश्यक छ । आवश्यक परे राष्ट्रिय प्रतिराेध युद्ध लड्न तयार हुनुपर्छ ।’

उहाँले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिस्ट आवरणमा संसद र सत्तामा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताउनु भयाे । उहाँले सच्चा देशभक्तहरु, वामपन्थीहरु, कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, सच्चा क्रान्तिकारीहरु एक भएर अमेरिकी साम्राज्यवादको मिसनमा आधारित एमसीसी सम्झौता खारेज गरेरै छाड्नुपर्ने बताउनु भयाे ।

त्यस्तै देशभक्त जागणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीमा चीन समेत गासिएकाे चर्चा गर्दै युक्रेन मामलामा देउवा सरकारले असंलग्न परराष्ट्र नीतिकाे गम्भीर उलंघन गरेकाे बताउनु भयाे। उहाँले यसलाई एमसीसीकाे प्रभावकाे अर्थमा विश्लेषण गर्नु भयाे ।
देशभक्त र क्रान्तिकारीहरुकाे आन्दाेलनमाथि फासिवादी दमन गरेर जबर्जस्ती एमसीसी पास गरेपछि देश अब युद्धमा जाने दाबी गर्नुभयाे । र, भन्नुभयाे, “हिजाे हामी झिल्का रुपमा थियाै, अब राँकाे बनेर आएका छाैं । याे राँकाेले  ठूलाे डढेलाे लगाउन सक्छ ।”

उहाँले प्रचण्ड र माधवकाे राष्ट्रघातकाे भारी नबाेक्न सत्तारुढ दल माके र एसमाजवादीभित्रका देशभक्तहरुलाई साँचाे राष्ट्रवादी शाे भने विद्राेह गरेर आउन आव्हान गर्नुभयाे ।

अब संसदकाे आैचित्य सकिएकाे विश्लेषण गर्दै उहाँले अब राष्ट्रिय स्वाधीनताकाे आन्दमेलनलाई संसदीय व्यवस्था विरुद्धको आन्दाेलनसँग जाेडेर लैजानुपर्ने आवश्यकता आैल्याउनु भयाे । एमसीसी प्रकरणमा देशभक्त क्रान्तिकारी र राष्ट्रघाती दलालहरुकाे कित्ता छुट्टिएकाे र ध्रुवीकरण बढेकाे चर्चा गर्दै राष्ट्रिय स्वाधीनताका लागि यस्ताे ध्रुवीकरण अझ बढ्नुपर्ने बताउनु भयाे । उहाँले भन्नुभयाे, “राष्ट्रिय प्रतिराेध युद्धको निम्ति अझ ठुलाे ध्रुविकरणकाे खाँचाे छ ।”

त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले दलाल संसदवादीहरुले देशलाई संसदबाट बेचिरहेकाे चर्चा गर्दै फागुन १५ कालाे दिनकाे रुपमा परिणत भएकाे बताउनु भयाे ।

एमसीसी भुमण्डलीकृत पुँजीवाद/साम्राज्यवादकाे नयाँ रुप भएकाे चर्चा गर्दै उहाँले एमसीसी नेपाललाई उपनिवेशमा बदल्ने नीति भएकाे पनि प्रष्ट पार्नु भयाे । अब देशकाे स्वाधीनता बचाउनका निम्ति राष्ट्रिय प्रतिराेध युद्धकाे रुपमा एमसीसी युद्ध हुने दाबी गर्दै देशकाे स्वाधीनता कम्युनिस्ट क्रान्तिकारीहरुले मात्रै बचाउन सक्ने बताउनु भयाे ।

६ कम्युनिस्ट पार्टी र २ माेर्चा रहुन्जेल याे देशकाे स्वाधीनता कसैले समाप्त पार्न नसक्ने भन्दै सेना, प्रहरी र कर्मचारीहरुले समेत याे देश बचाउने संघर्षमा देशभक्त क्रान्तिकारीहरुलाई साथ दिनुपर्ने बताउनु भयाे ।

देशलाई दुर्घटनामा पारेर दुर्घटनाबाट बचाए भन्ने प्रचण्डले जनतामा नाङ्गाे झुट बाेलेर ठुलाे भ्रम छरेकाे बताउँदै सत्ता र पैसाका लागि उनले देश बेचेकाे दाबी गर्नुभयाे ।

राष्ट्रिय जनमाेर्चाकाअध्यक्ष चित्रबहादुर केसीले दलाल संसदवादीहरुले देशकाे स्वाधीनता र सार्वभाैमिकता बेचेर देशमा शासन गरिहेकाे चर्चा गर्दै संसदीय व्यवस्थाका सबै अंगकाे आैचित्य समाप्त भएकाे प्रष्ट पार्नुभयाे ।

नेपाललाई प्रयाेग नगरी चीनलाई ठेगान लगाउन सकिन्न भनेर अमेरिका एमसीसी बाेकेर नेपाल आएकाे चर्चा गर्दै उहाँले राष्ट्र अस्तित्वमाथि अहिले गम्भीर खतरा उत्पन्न हुन पुगेकाे बताउनु भयाे ।

एमसीसी पारितै नगरी संसदवादी दलहरुले साढे चार अर्ब खाइसकेकाे खुलासा गर्दै अध्यक्ष केसीले नेपालकाे भन्दा एमसीसीकाे कानुन माथि पारेर एमसीसी पास गरेपछि नेपाल अब अफगानिस्तान, सिरिया, युक्रेनकाे अवस्था पुग्ने र नेपालकाे प्राकृतिक र मानवीय स्राेतसाधन अमेरिकाकाे कब्जामा पुग्ने पनि दावी गर्नु भयाे ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयाेजक विश्वभक्त दुलाल आहुतिले एमसीसी पास गरेर राष्ट्रघाती दलालहरुले नेपाली जनतालाई चुनाैती दिएकाे चर्चा गर्दै त्यसकाे सामना गर्ने संकल्पका लागि विराेधसभाकाे आयाेजना गरिएकाे बताउनु भयाे । उहाँले एमसीसी अनुदान नभएर लगानी भएकाे, प्रचण्डले दावी गरे अनुसार भियना कन्भेन्सनमा त्यस्ताे केही उल्लेख नभएकाे र नाङ्गाे झुट बाेलेकाे भन्दै प्रचण्डले छरेकाे भ्रमकाे सैद्धान्तिक र प्रामाणिक रुपमा खण्डन गर्न जरुरी रहेकाे बताउनु भयाे ।

संसदबाट राष्ट्रघाती सम्झाैता पारित भएपछि दलाल पुँजीवादी व्यवस्थाबाट देशकाे स्वाधीनताकाे रक्षा सम्भव नहुने पुष्टि भएकाे विश्लेषण गर्दै उहाँले सच्चा राष्ट्रवादी हाे भने नारायणकाजीहरुलाई प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर आउन चुनाैती दिनु भयाे । र,  संसदवादी राजनीतिबारे पुनर्विचार गर्नु पनि सुझाब दिनु भयाे ।

उहाँले अब राष्ट्रिय मुक्ति आन्दाेलनकाे चक्र चलाउनु पर्नेमा जाेड दिदै अबकाे राष्ट्रिय मुक्ति आन्दाेलन विश्व साम्राज्यवादविराेधी आन्दाेलनकाे एक अंगकाे रुपका विकास गरेर लैजानुपर्ने धारणा राख्नुभयाे ।

उहाँले भन्नुभयाे, “दुश्मन सम्पुर्ण रुपमा हाम्रा विरुद्ध आइसकेकाे छ । साम्राज्यवादविराेधी संयुक्त माेर्चा संगठन बनाएर संघर्ष चर्काउनु पर्छ ।”
नेकपाका अध्यक्ष ऋषि कट्टेलले अमेरिका युद्ध निर्यात गर्ने देश भएकाेले अब राष्ट्रिय युद्धको तयारी गर्नुपर्ने बताउनु भयाे । उहाँले भन्नुभयाे, “एमसीसी नयाँ नेटाे हाे । अब संघर्षकाे तयारी गर्नुपर्छ ।”

त्यसैगरी नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी र नेकपा (माके समाजवादी)का संयाेजक कर्णजीत बुढाथाेकीले पनि एमसीसी सम्झाैता खारेजीका लागि खुट्टा नकमाइकन राष्ट्रिय प्रतिराेध युद्धको तयारीमा अगाडि बढ्नुपर्ने कुरा बताउनु भएकाे थियाे ।

कार्यक्रममा जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदीले राष्ट्रघातीहरुलाई देशबाट खेद्नुपर्ने बताउनु भयाे ।
विराेधसभाकाे सञ्चालन नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्नुभएकाेथियाे ।