निबन्ध

हिजो आज दैनिक पत्रिकाका पृष्ठहरू महिला हिंसाका घिनलाग्दा खबरहरूले ढाकिएका छन् । खबर पढ्दा लाग्छ हरेक घर, समाजमा महिलाका शत्रुहरू लुकेका छन् र अवसर पाउनासाथ तिनीहरू पाटे बाघ बन्छन् अनि महिलामाथि झम्टन्छन् । आखिर यस्तो किन भइरहेछ, यो गम्भीर विषय बनेको छ । के हाम्रो सिङ्गो समाज यसको दोष बोक्न तयार छ वा विदु्रप वा कुरूप मानसिकता बोकेको पुरुष पात्रलाई दोष दिएर हामी उम्कने चेष्टा गर्छौं । कि कडा कानुनको माग गर्छौं जसका कारण यस्ता घटनाहरू निदान होउन् ।

हरेक दिन महिला हिंसाका खबरहरू टाढाका हुँदैनन् । यस्ता खबरका केन्द्रहरू नेपाल र भारतमा बढी छन् । यस्तो हुनुमा कोही कानुनलाई दोष देखाएर उम्कने चेष्टा गर्छौं । कोही बालबालिकालाई यौन शिक्षाको आवश्यकता भनेर उम्कन्छौं । कोही आधुनिक प्रविधि वा महिलाहरूका पहिरनलाई दोष दिएर उम्कन्छौं । केही वर्ष अघि बारा की ६ वर्षिया पूजा शाहको बलात्कारपछि हत्या गरियो । त्यसपछि बराली अभिभावकहरूले बेटी बचाउ अभियान नै शुरु गरे । कति दु:ख लाग्दो स्थिति ! यस्तो खबर पढेर हामी सचेत भनिएका पुरुष मनभित्र पीडा जन्माउने रहेछ । अझ ती अभिभावकहरू कति पीडित वा आक्रोशित छन् छोरी जन्माएकोमा हीनताबोध गरिरहेछन् । यस्को निदान कसैत्राट पनि सोचिएको छैन ।

दङ्गाका बेला वा युद्धका बुेला महिलामाथि हुने यौन हिंसाका बिबरणहरू पढिन्थ्यो, सुनिन्थ्यो । महिला हिंसा हाम्रो आम संस्कृति बनिसकेको छ । हामी हिन्दू सम्प्रदाय धेरैको आस्था बनेको पौराणिक धर्मग्रन्थहरू अध्ययन गर्दा यो स्थिति बुझिन्छ । यस्ता बिरलै घटनाहरू हुन्थे विजयले मातेको शक्तिले कमजोर शक्तिमाथि यस्तो दुव्र्यवहार गरेको हुन्थ्यो, तर होइन शान्त सुखमय अवस्थामा पनि महिला हिंसाका डरलाग्दा खबर वा प्रमाणहरूको हाम्रा अखबारहरूले साविती दिइरहेछन् ।

हाम्रा पौराणिक कथाअनुसार माझीकी छोरी मत्स्यगन्धा पराशर ऋषिबाट बलात्कृत भइन् । मेनकालाई विश्वामित्रले बलात्कार गरे । मत्स्यगन्धाबाट जन्मिएका व्यासले विधवा भाइबुहारी (अम्बा, अम्बालिका)लाई बलात्कार गरे । मेनकाकी पुत्री शकुन्तला, दुश्यन्तकी रखौटी बनिन् । कुन्तिलाई सूर्यले बलात्कार गरे । यी पूराणमा उल्लेखित केही प्रतिनिधि घटना हुन् । महिलालाई मात्र तोकिएको धार्मिक व्रत स्वस्थानी पढ्ने वा सुन्ने जो कोहीले पनि भन्न सक्छ सतीदेवी, वृन्दा र गोमा सबै महिला भगवान वा कर्मको नाममा बलात्कृत थिए । त्यसो त एउटा मान्यता यस्तो पनि थियो । “यत्र नार्यस्तु पुज्यन्ते रम्यन्ते तत्र देवता ।” यस्ता मन्त्र फलाक्ने पराशर वा विश्वामित्रहरू किन व्यभिचारी भए ? पूराणमा यसको जवाफ भेटिँदैन । “अहिले द्रौपदी, तारा, कुन्ति, मन्दोदरी तथा…..। यी पाँच महिला पात्रहरूलाई कन्या भनिएको छ । कतै हिंश्रक मनोवृत्ति भएका धर्मको व्याख्या गर्ने पाखण्ड पण्डितले यो प्रपञ्च रचेका त होइनन् ?

कन्या या बालिकामाथि हुने यौन दुव्र्यवहार अहिले अलिकति सतहमा आएका छन् । यसले आउँदा दिनमा बालिकाहरू सुरक्षित हुन नसके पनि दोषीले दण्ड पाउँछन् भनेर ढुक्क हुने ठाउँ बनेको छैन । अहिले यौन हिंश्रकहरू पक्राउ गर्न प्रहरीको सक्रियता केही बढेको त छ तर न्याय व्यवस्था ढिलो र सङ्कुचित छ । केही वर्ष अघि पूजा बेहोराको मुद्दामा देखिएको नौटङ्की यो विषयको साक्षी हो । हाम्रो कानुनी प्रकृया एकातिर झन्झटिलो छँदै छ अर्कोतिर सत्यतथ्य खोज्ने नाममा न्याय सम्पादनमा खटिएका कारिन्दाहरूको अनुसन्धान त्यसै बिध्न अप्ठेरो छ । कहाँ कसरी कतिबेला जस्ता सवुदी प्रकृया खोज्दै गएर भित्री लुगा कसरी खोलियो कहाँ राख्यो जस्ता विषयको प्रश्नले पीडितलाई झन्झटिलो र लाजमर्दो बनाइन्छ । कतिपय व्यहोरा बयानमा बाझिएकोले पीडक किटान गर्न भन्दा उन्मुक्ति दिनतर्फ प्रेरित गर्दछ । अर्कोतिर विद्यालयमा पढ्दै गरेका किशोेरीहरू आफ्नै गुरुहरूबाट हिंश्रृत बनेका खबरहरूले मन पोल्छ । बालबालिकामा यौन शिक्षा अनिवार्य छ तर फेरी शिक्षा दिने शिक्षक नै दुराचारी भए भने के गर्ने ?

अविवाहित किशोरी वा बालबालिका मात्र होइन वैवाहिक महिलाहरूले पनि यौन हिंसा खपेका छन् । हाम्रो समाजमा केही दशक अघिसम्म अत्याधिक बाल विवाहको प्रचलन थियो । केही दिन अघि म छिमेकी महिलाको अन्त्यष्टीमा देवघाट पुगेको थिएँ । दागवत्ति दिनु अघि उनको जीवनीबारे केही कुराहरू आए । उनको नौ वर्षको उमेरमा विवाह भएको रहेछ । त्यो बिबरण सुनेपछि मैले हाम्री मृत्यु भएकी आमा सम्झिएँ । बुबा अठ्ठाइस वर्ष र आमा आठ वर्षकी बिच लगन गाँठो बाँधिएको थियो । अस्ति मृत्यु हुने महिला या हाम्री आमा वैवाहिक बलात्कारका शिकार भएनन् भनेर कसरी मान्न सकिन्छ ? अहिले पनि महिलालाई भोग्याको रूपमा बुझिने आम चलन छ । विवाहपछि आफ्नो हक भोगमा आएकी महिलामाथि यौनिक दुव्र्यवहार नभएको ठोकुवा कसले गर्न सक्छ ?

“आठै वर्ष महा हुनेछ गउरी नौ वर्षकी रोहीणी
कन्या नाम हुनेछ दश वरषमा भन्छन् ती धौम्यमुनि
यी तीन् वर्षमहा विहे गरिदिए मिल्नेछ फलुधेर अति
दशमा नाध्न गइ भने रजवती हुनेछ त्यसको गति
एघारै जब वर्षकी रजवती देख्यो भने दिन्दिन्
आमा बाबु र दाजु घोर नरकमा जान्छनि तिन्का तिन”

कुनै पण्डितले यस्तो ठोकुवा गरिदिए । त्यसकारण वालविवाहको संस्कार मौलायो । बालविवाह मात्र होइन, अनमेल विवाहमा पनि यौन हिंसा जीवितै हुन्थ्यो । यौन दासीका रूपमा बहुविवाह गरिन्थ्यो र बहुविवाहलाई बहादुरी ठानिन्थ्यो । यसबाट ‘मर्दका दशौटी’ भन्ने उखान जन्माइयो । इतिहासदेखि नै बल्झिँदै आएको यस्तो दुषित संस्कृति भत्काउन स्वयम् महिला जागरूप हुनु पर्दछ । तर हाम्रो धर्म संस्कृति यति जड छ कि महिलाहरूलाई उपभोग्य ठान्ने पुराण वा धार्मिक अनुष्ठानमा अधिकांश महिलाहरूकै भीड देखिन्छ । स्वस्थानी व्रत बस्ने र कथा सुन्ने महिलाहरू नै हुन्छन् । अशिक्षा वा न्यून चेतना भएका महिलाहरूबाट यस्ता कर्ममा आफैं ठगिइरहनु युक्ति संगत होइन ।

हाम्रो हिन्दू वर्ण व्यवस्थामा महिला हिंसामा बढी दोषी छ । समाज विकासको भौतिकवादी चिन्तनले व्याख्या गरेको मातृतन्त्रको कतै पनि प्रयोग भएको पाइँदैन । एकाध जनजातिहरूमा देखिएको मातृतन्त्री अवशेषभित्र पनि राक्षसी विवाह जस्तो प्रवृति कहीँ कतै पाइन्छ । राक्षसी विवाहलाई निषेध गर्ने हो र ती जनजातीहरूको संस्कृति जर्गेना गर्ने हो भने थोरै भएपनि राहत मिल्छ ।

महिला हिंसा निम्त्याउने निहुँमा हाम्रो कला साहित्य पनि जिम्मेवार देखिन्छ । मन्दिरका टुँडालमा प्रयुक्त यौन भङ्गिमाका चित्रले परम्परागत समाजको चरित्रको बारेमा केही विषय बोल्छ तर जुन पुुस्तकमा कला, गीत, कथा वा उपन्यासमा प्रयुक्त महिला पात्रहरूको चित्रणमा, कुच, नितब्व वा ओष्ठाइको कामुक विवरण लेखेर पाठकलाई रोमान्चित र उत्तेजित गरिन्छ तीनै पुस्तकहरूका पाठकहरू बढी छन् । यस्ता कृतिहरूबाट प्रकाशकहरूले बढी नाफा लिइरहेछन् । महिला हिंसा मौलाउने अर्को मूलकारण नाफामुखी बजार हो । शहरका महङ्गा रेष्टुरेण्टहरूमा रातभरि अर्धनग्न पोसाकमा नृत्य गर्न वाध्यतावश जागिर खाने चेलीहरू वा रोजगारी वा अर्थ सङ्कलनको निहुँमा देश काटेर मुग्लान पुग्ने महिलाहरू नै छन् । वास्तवमा पूँजीवाद नै महिला हिंसाको जिम्मेवार चिन्तन हो ।

समाजमा यसरी मौलाएको महिला हिंसाको अन्त्य गराउन जागरुक वर्गले अभियान शुरु गर्न आवश्यक बहस चलाउन ढिला भइसकेको छ । महिला हिंसालाई निरुत्साहित र निषेध गर्न समाजिक अगुवाहरूको विशेष पहलको जरुरी छ । लैङ्गिक हिंसा निषेधका लागि महिलाहरूको प्रयासले मात्र सम्भव हुँदैन । महिला पुरुष दुवैको सहभागिताका लागि राज्यले दायित्व लिनु आवश्यक छ ।
रत्ननगर– ३, चितवन

प्रतिक्रिया

सम्बन्धित खवर