संवेदनहीन सत्तालाई केहिले छुँदैन
दशगजामा रक्त मुछेल भै ढलेका गोबिन्दहरू
नदी तर्दा तुइनबाटै बेपत्ता धामीहरू
तिलाठीमा लडिरहेका देवहरू
नागरिकता सिरानिमा राखेर
भालेको डाकोसङ्गै बिउँझदा देशै गुमाएकाहरू
गणनामै नअटेका टिङ्करका बस्तिहरू
अहँ ! यति स–साना घटनाले
उसलाई कत्ति छुँदैन ।
माने भञ्ज्याङ्, लिपुलेक, कालापानी
सुस्ताका केही बस्ती मात्र लुटिएको न हो
छपकैया, सोमेश्वर, मेचीकालीका
जङ्गे पिल्लर हराएको मात्र न हो
विकासकै लागि अलि अलि
रिण थपेको मात्र त हो
परनिर्भर मात्र कहाँ हुनु
परचक्री लुटलाई मानेको मात्र त हो
अहँ ! यति सामान्य अन्तरले उसलाई केही हुँदैन ।
सीमित उधोगहरू डुबेका त हुन्
वैदेशिक रोजगार खोलिएकै छ
सपना बोकेर उडेकाहरू
अस्तु बनी फर्किएका छन्
श्रम हैन शरीर बेचिएर चित्कारसङ्गै
गुमनाम चेलीहरू मारिएर के भो र
रेमिटेन्सको मुल फुटेकै छ
केही सामन्य परिवार रोएको त हो
अहँ ! यति सानो कुरा यो निर्लज्ज सत्ताले पटक्कै देख्दैन ।
कृषिप्रधान देश निर्यात सून्य छ
चामलसङ्ग पिठो साटेर
गुन्द्रुक र कोदो आयत भएको मात्र न हो
उर्वर भूमि बन्जर भए, युवाहरू अलपत्र छन्
अपमान, तिरस्कारको पहाडले
किचिएका महिला र दलितहरू
लडखडाउँदै आफ्नै देशमा
पहिचान खोज्न हिँडेकाहरू
जन्मदै टाउकोमा रिणको बोझ बोकेर
हातमुख जोर्न मुस्किल बस्तीहरू
अहँ ! यस्ता कुराले उसलाई केही फरक पर्दैन ।
माघे झरीमा पसिनाको मूल्य भिखझैँ
माग्नुपर्ने उखु किसानका
आँशुले किञ्चित पोल्दैन
पुषको ठिहिरोमा नकुन्निहरूको न्याय
माग्न लडिरहेका रुबीहरू कापिरहेको देख्दै देख्दैन
रेमिटेन्सले किनेको सामानमा उसैसङ्ग
कर उठाउनु कत्ती बढी भएकै लाग्दैन
हत्या, बलात्कार, कमिसन अन्याय देख्दैन
सत्ता स्वार्थको निम्ति स्वाभिमान बन्दक राखेर
बिदेशीको नाङ्गो नाच
अहँ ! दलाल सत्ताले यी कुरा देख्दै देख्दैन ।
पहिचान बिहीन पारिएका
किनाराहरूमा रहेको देशभक्ति
निरन्कुश शासकको ढाँेगी रास्ट्रवादले बुझ्नै सक्दैन
त्यसैले आउनुहोस्
संवेदनाहीन शासकले
देख्ने सुन्नेगरी घन ठोक्न उठौ
जूम्रा, उडुसझँै हाम्रै शरीरको रगत
चुस्ने चुसाहा शासक विरुद्ध
दवानलको झिल्को झोस्न जुटौँ ।































