बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा इण्डियाले फेरि नेपाली भूभाग डुबानमा पर्ने गरी सडक निर्माण थालेको छ । सुस्ता क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गरी चारवटा गाउँपालिकाको दक्षिणी भूभाग डुबान हुने गरी इण्डियाले करिब २७ किलोमिटर लामो सडक बनाउन थालेको हो ।

इण्डियाले दशगजादेखि २५ मिटरको दूरीभित्रै आफ्नै भूमिमा सडक बनाउन थालेको छ । तर यो सडकको ठाउँ ठाउँमा कल्भर्ट वा ह्युमपाइप नराख्दा पानीको प्राकृतिक बहाव थुनिने र वर्षायाममा नेपाली भूभाग डुबानमा पर्ने डरले सुस्ता क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।

इण्डियन पक्षले ६ फिट अग्लो र ३० मिटर चौडा सडक बनाउन अहिले माटो फिलिङ गरिरहेको छ । पानीको बहावको निकास नराखी सडक बनाउन थालेपछि सुस्ता क्षेत्रका चार वटै गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

निर्माणाधीन सडकमा प्रत्येक दुई सयदेखि पाँचसय मिटरको दूरीमा पानीको निकासका लागि ठूला कल्भर्ट वा ह्युमपाइप नराख्ने हो भने वर्षयाममा चारै गाउँपालिकाको दक्षिणी क्षेत्रको वस्ती डुवानमा पर्ने बताइएको छ ।

विगतको इण्डियन व्यवहार हेर्दा उच्च राजनीतिक तहबाट प्रभावकारी पहल नगर्ने हो भने इण्डियन पक्षले पानीको निकासका लागि कल्भर्ट वा ह्युमपाइप राख्ने वा पुल बनाउने स्थिति नरहेको पाण्डे बताउँछन् ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि इण्डियन पक्षले बनाइरहेको सडकका कारण नेपाली भूभाग डुबानमा पर्ने अवस्था देखिएको स्वीकार गरेका छन् ।

सीमा क्षेत्रमा इण्डियन सडकले हुने डुबान समस्या एउटा जिल्लाको मात्र नभएको र समग्र तराईका जिल्लाको साझा समस्या भएकाले संघीय सरकारले भारत सरकारसंग कुटनीतिक पहल गरेर समाधान गर्नुपर्ने प्रजिअ मिश्रको भनाइ छ ।

इण्डियन पक्षले सुस्तामा १४ हजार हेक्टर जमिन अतिक्रमण गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर