
काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिइयोस् !’ शीर्षकमा एक वक्तव्य जारी गर्दै विगतमा समेत गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न जोडदार माग गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, “ असीमित मूल्यवृद्धिको शिकार भइरहेका नेपाली जनतामाथि महँगीको अर्को बोकिनसक्नुको भार थप्नु अन्यायपूर्ण काम भएकाले अहिले वृद्धि गरिएको मूल्य फिर्ता लिनुका साथै विगतमा भएको मूल्यसमेत घटाउन हामी जोडदार माग गर्दछौं ।”
वक्तव्यमा भनिएको छ, “सरकारले अन्यायपूर्ण किसिमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर महँगीलाई चरमरुपमा बढाउने काम गर्दै आएको छ र त्यसको विरोधमा समाजका विभिन्न वर्ग र तप्काका जनताहरु विभिन्न प्रकारका सङ्घर्षमा उत्रिँदै आएका छन् । पुरानै मूल्यवृद्धिलाई घटाउन सञ्चालन गरिएका सङ्घर्ष र उचित मागहरुको उपहास गर्दै सरकारले आधारातदेखि लागु हुने गरी झन् पेट्रोल र डिजेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको छ । असीमित मूल्यवृद्धिको शिकार भइरहेका नेपाली जनतामाथि महँगीको अर्को बोकिनसक्नुको भार थप्नु अन्यायपूर्ण काम भएकाले अहिले वृद्धि गरिएको मूल्य फिर्ता लिनुका साथै विगतमा भएको मूल्यसमेत घटाउन हामी जोडदार माग गर्दछौं ।”