काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले नेपाल सरकार र नेपाल आयल निगमले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड–१९ बाट ग्रसित नेपाली जनतालाई आहात दिने काम गरिरहेको उल्लेख गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न जोडदार माग गरेको छ ।

वक्तव्यमा भनिएको छ, “शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड–१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ । उक्त कार्यको हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ, जसले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ, जसकारण पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र नेपाल आयल निगमसँग जोडदार माग गर्दछौं ।”

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको वक्तव्यमा यही माघ ५ गते चक्रवर्ती हवि इन्टरनेसनल कलेजमा बी.ए.एल.एल.बी. चौथो समेस्टरका परीक्षार्थीहरुले कान्तिपुर इन्टरनेसनल कलेज, बुद्धनगरमा परीक्षा दिने सवालमा कोभिड–१९ सङ्क्रमित भएका र नभएकाहरुलाई एकै ठाउँमा नराखी छुट्टाछुट्टै राखेर परीक्षा सञ्चालन गर्नुपर्छ भन्दा उल्टै परीक्षार्थीहरुलाई अन्धाधुन्द प्रहरी प्रशासनमार्फत् लाठी प्रहार गरी घाइतेसमेत बनाइएकोमा हाम्रो सङ्गठन उक्त कार्यको घोर निन्दा र भत्सर्ना समेत गरिएको छ ।

त्यसैगरी वक्तव्यमा हिमालयन ह्वाइट हाउसलगायत कलेजहरुमा समेत यस्ता गतिविधिहरु भएको हुँदा अविलम्ब त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत सबै विश्वविद्यालय मातहतका कलेजहरुमा सञ्चालन गरिने परीक्षाहरुमा कोभिड र ननकोभिडका परीक्षार्थीहरुलाई छुट्टाछुट्टै स्थानमा राखी स्वास्थ्य मापदण्ड पालना गराई परीक्षा दिने र असक्त बिरामी परी परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरुको सवालमा पुनः परीक्षाको व्यवस्था मिलाउनसमेत जोडदार आग्रह गरिएको छ ।

वक्तव्यको अन्तमा भनिएको छ, “ अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाल अत्यन्तै जटिल र गम्भीर बन्दै गइरहेको छ । लिपुलेक क्षेत्रमा खुल्लमखुलासडक विस्तार गरिएको कुरा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताइरहँदा नेपाल सरकार निरीह देखिन्छ । यसले आफ्नो सीमाको रक्षा गर्न नेपाल सरकार असक्षम भएको प्रष्ट हुन्छ । अझै शेरबहादुर देउवा नेतृत्वको सरकार राष्ट्रघाती एम.सी.सी. सम्झौता संसद्बाट अनुमोदन गराउन मरिहत्ते गरेर लागिरहेको छ । जताततै लुट, भ्रष्टाचार, महँगी, तस्करी, बलात्कार, हत्या, हिंसालगायत समस्याहरु विकराल बनिरहँदा पनि नेपाल सरकार निकम्मा बनिरहेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा दलालीकरण र माफियाकरण हावी हुँदै गइरहेको छ तर सरकार र सम्बन्धित निकाय तिनै दलाल र माफियाहरुको चङ्गुलमा फस्न पुगेका छन् । अहिलेका यी समग्र परिस्थितिबाट यो पुष्टि हुन्छ कि वर्तमान सरकार, सत्ता र व्यवस्था पूर्णरुपमा असफलसिद्ध भइसकेको छ । जनताको सशस्त्र विद्रोहमार्फत् अब नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरी वैज्ञानिक समाजवादमा अघि बढ्नुपर्ने अपरिहार्यता छ । यसका लागि तयार रहन आम विद्यार्थी, शिक्षक, युवा, मजदूर, किसान, अभिभावकलगायत सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर