काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै दश हजार २५८ जना कोरोना संक्रमित थपिएका छन् । २२ हजार ८२८ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट १७ हजार ८७२ जनामा परीक्षण गर्दा आठ हजार ७३० जना तथा एन्टिजेन विधिबाट चार हजार ९५६ जनामा परीक्षण गर्दा एक हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा एक संक्रमितको मृत्यु भएको मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ । यसैगरी, ५६२ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । आज नेपालमा दुई लाख १३ हजार १४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
यसैबीच, सरकारले काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा–सम्मेलन, आमभेलाजस्ता एकै ठाउँमा धेरै मानिसको उपस्थिति रहने गतिविधिमा रोक लगाएको छ । मंगलबार मध्यरातदेखि लागू हुने गरी उपत्यकाका तीनवटै जिल्ला प्रशासनले स्मार्ट लकडाउनलाई कडाइ गर्दै यस्तो आदेश जारी गरेका हुन् ।
प्रशासनले गोष्ठी, भेला, सेमिनार, बैठक, समीक्षाजस्ता कार्यक्रम तथा क्रियाकलापहरू पनि नगर्न निर्देशन जारी गरेको छ। यस्ता कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्न प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
मंगलबार जारी आदेशमा भौतिक रूपमा कुनै कार्यक्रम तथा गतिविधि गर्नुपरेमा २५ जनाभन्दा बढीलाई सहभागी नगराउन र स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न प्रशासनले निर्देशन दिएको छ ।
यसबाहेक माघ १५ गतेसम्मका लागि विद्यालय, सिनेमा हल, दोहोरी साँझ, डान्सबार, नाचघर, क्लब, जिमखानाजस्ता ठाउँहरू प्रशासनले बन्द गर्न आदेश दिएको छ । धार्मिक कार्यक्रम गर्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताइएको छ । प्रशासनले यसअघि नै माघ ७ गतेदेखि सार्वजनिक स्थलमा अनिवार्य खोप कार्ड देखाउनुपर्ने नियम जारी गरिसकेको छ ।