काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी, नेपाल परित्याग गरी पुनर्मिलनमा आएका दर्जनौ नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले अब क्रान्तिकारी माओवादी छलाङ हान्दै अगाडि बढ्ने बताउनु भएको छ । पार्टी ध्रुवीकरणमा आएका नेता कार्यकर्ताहरुप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले कम्युनिस्टको खोल ओढेर बसेको अवसरवादले कम्युनिस्ट पार्टी, मालेमावादी र क्रान्तिलाई प्रदुषित तुल्याएको चर्चा गर्दै त्यो अवसरवादलाई पराजित गरेर मात्र क्रान्तिलाई विजयसम्म पु¥याउन सकिने बताउनु भयो ।


छरिएर रहेका क्रान्तिकारीहरुले अवरवादका विरुद्ध संघर्ष गरिरहेको र अब सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको ध्रुवीकरणको प्रक्रिया सुरु भएको पनि उहाँले बताउनु भयो ।

उहाँले मोहनविक्रम सिंह नेतृत्वको मसाल र विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताका लागि पटक पटक पहल गरेपनि सफल हुन नसकेको चर्चा गर्दै ती पार्टीहरुमा एक्लेवीर नेतृत्व हावी रहेको टिप्पणी गर्नुभयो ।

उहाँले शान्तिपूर्ण रुपमा चुनावबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्ने प्रचण्डको लाइन र जनमत संग्रहबाट वैज्ञानिक समाजवाद ल्याउने भन्ने विप्लवको लाइनमा कुनै फरक नरहेको भन्दै यी दुवै कार्यदिशालाई संशोधनवादी र अवसरवादी कार्यदिशाको संज्ञा दिनुभयो । अवसरवाद नांगिदै जाँदा क्रान्तिकारीहरुलाई फाइदा पुग्ने विषयमा प्रकाश पार्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा जमेर बसेको अवसरवादका विरुद्धको संघर्षलाई निर्मम रुपमा अगाडि बढाउनु पर्नेमा समेत जोड दिनुभयो ।

उहाँले अहिले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याहरु निकै भयावह रहेको र जनतामा अहिलेको सत्ता र व्यवस्थाप्रति तीव्र घृणा र आक्रोश बढेर गएको चर्चा गर्दै क्रान्तिका लागि वस्तुगत परिस्थिति एकदमै अनुकूल बन्दै गएको बताउनु भयो । वस्तुगत अवस्थाको सापेक्षतामा क्रान्तिका लागि क्रान्तिकारीहरुको आत्मगत स्थिति कमजोर रहेको तर अब हुने एकता र ध्रुवीकरणको प्रक्रियासँगै आत्मगत अवस्था सुदृढ भएर जाने कुरामा पनि विश्वास दिलाउनु भयो ।

पुनर्मिलन कार्यक्रमको अध्यक्षता नेता सीपी गजुरेलले गर्नुभएको थियो भने सञ्चालन तारा थापाले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका प्रवक्ता हरिभक्त कँडेल, स्थायी समिति सदस्य रामसिंह श्रीस लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विप्लव नेतृत्वको पार्टीका युवा नेता तथा रेडियो मिर्मिरेका सञ्चालक घनश्याम श्रेष्ठ पुस्कर, तारा थापा, केदार खतिवडा, जीपी चौलागाई, ज्ञानेन्द्र बुढाथोकी, रामबहादुर तिरुवा, प्रभात भट्टराई, हिरा शाही, युवराज पराजुली, शिवहरी घिमिरे, मेलम योञ्जन र माओवादी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य विमल निरौला, केन्द्रीय सदस्यहरु प्रकाश राई, अप्सरा बानियाँ र गणेश निरौला क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुनु भएको थियो । उहाँहरुलाई महासचिव किरणले खादाको माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

उहाँहरुले नेत्रविक्रम चन्द विप्लवले क्रान्तिकारी कार्यदिशा छोडेर सुधारवादी कार्यदिशा (जनमत संग्रहबाट वैज्ञानिक समाजवादको स्थापना गर्ने कार्यदिशा) समातेको र गोपाल किरातीले विपश्वनालाई पार्टीको कार्यदिशा बनाएर शुन्यवादी कार्यदिशा समात्न पुगेकोले क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुन आइपुगेको बताउनु भयो । उहाँहरुले कम्युनिस्ट पार्टीको आवरणमा अवसरवादी कार्यदिशा अँगाल्न पुगेको नेतृत्वका विरुद्ध विचारधारात्मक संघर्ष सञ्चालन गर्दै जाँदा आफूहरुलाई नेपाली विशिष्टतामा आधारित आम सशस्त्र जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने मोहन वैद्य किरण नेतृत्वको पार्टीको कार्यदिशा नै सही, वैज्ञानिक र क्रान्तिकारी लागेकोले अहिलेको दलाल संसदीय व्यवस्था बदल्ने संकल्पसहित क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुन आइपुगेको पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर