काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी, नेपाल परित्याग गरी दर्जनौ नेता कार्यकर्ताहरु मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत हुनुभएको छ । क्रान्तिकारी माओवादीको पार्टी कार्यालय ललितपुरको कुपण्डोलमा भएको एक कार्यक्रममा ध्रुवीकृत हुनु भएको हो । उहाँहरुलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले खादा ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
विप्लव नेतृत्वको पार्टीका युवा नेता तथा रेडियो मिर्मिरेका सञ्चालक घनश्याम श्रेष्ठ पुस्कर, तारा थापा, केदार खतिवडा, जीपी चौलागाई, ज्ञानेन्द्र बुढाथोकी, रामबहादुर तिरुवा, प्रभात भट्टराई, हिरा शाही, युवराज पराजुली, शिवहरी घिमिरे, मेलम योञ्जन र माओवादी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य विमल निरौला, केन्द्रीय सदस्यहरु प्रकाश राई, अप्सरा बानियाँ र गणेश निरौला क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुनु भएको हो ।
उहाँहरुले नेत्रविक्रम चन्द विप्लवले क्रान्तिकारी कार्यदिशा छोडेर सुधारवादी कार्यदिशा (जनमत संग्रहबाट वैज्ञानिक समाजवादको स्थापना गर्ने कार्यदिशा) समातेको र गोपाल किरातीले विपश्वनालाई पार्टीको कार्यदिशा बनाएर शुन्यवादी कार्यदिशा समात्न पुगेकोले क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुन आइपुगेको बताउनु भयो । उहाँहरुले कम्युनिस्ट पार्टीको आवरणमा अवसरवादी कार्यदिशा अँगाल्न पुगेको नेतृत्वका विरुद्ध विचारधारात्मक संघर्ष सञ्चालन गर्दै जाँदा आफूहरुलाई नेपाली विशिष्टतामा आधारित आम सशस्त्र जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने मोहन वैद्य किरण नेतृत्वको पार्टीको कार्यदिशा नै सही, वैज्ञानिक र क्रान्तिकारी लागेकोले अहिलेको दलाल संसदीय व्यवस्था बदल्ने संकल्पसहित क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुन आइपुगेको पनि बताउनु भयो ।
कार्यक्रममा विप्लव नेकपा परित्याग गरेर आएको टिमको नेतृत्व गर्दै पुस्कर श्रेष्ठ र किराती नेतृत्वको पार्टी परित्याग गरेर आएको टिमको नेतृत्व गर्दै विमल निरौलाले मन्तव्य राख्नुभएको थियो । उहाँहरुले ती पार्टी परित्याग गर्दै क्रान्तिकारी माओवादीमा आवद्ध हुन पुग्नुको कारणसमेत स्पष्ट पार्दै प्रेस विज्ञप्ति समेत जारी गर्नुभएको छ ।
उहाँहरुलाई पार्टीमा स्वागत गर्दै क्रान्तिकारी माओवादीका महासचिव किरणले मोहनविक्रम सिंह र विप्लव नेतृत्वको पार्टीसँग पार्टी एकताका लागि धेरै पटक प्रयास गरेपनि उनीहरुले खासै जाँगर नदेखाएको खुलासा गर्नुभयो । र, अब एकता र ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताउनु भयो । क्रान्तिकारी र अवसरवादीहरुको कित्ता छुट्टिदै गएको बताउनु हुँदै अब क्रान्तिकारी माओवादी छलाङ हान्दै अगाडि बढ्ने पनि उद्घोष गर्नुभयो । क्रान्तिका लागि क्रान्तिकारीहरुको एकता र ध्रुवीकरण अपरिहार्य रहेको कुरामा उहाँले जोड दिनुभयो ।
पुनर्मिलन नाम दिइएको कार्यक्रमको अध्यक्षता क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले गर्नुभएको थियो भने सञ्चालन तारा थापाले गर्नुभएको थियो ।