१.
भित्तामा बिज्ञापन टाँगियो
धुपमा ननिक्लनुहोला
वा देहायको लोसन
अप्लाई गर्नु होला
त्वचा
सहिसलामत रहला
नजिकै गरिबी निबाकरणको
पोष्टर पनि सँगै थियो
टन्टलापुर घाममा
बगरमा गिट्टी कुटिरहेका
दुधे बालकलाई काखमा च्यापेका
आमाहरूको फोटो सहित ।

२.
भुलभुलैयामा
चम्पाकली आकाश चढिन्
सरररर् बाकसमा बसेर
र साततला पुगिन्
मिटिङ्गमा भागलिइन्
भोजन गरिन अनेक परिकारको
नेपकिनले वा टिसुपेपरले
आँखीभौ पोछिन्
चिसोमा तातो
तातोमा चिसो पानी पिइन्
दाताको मिटिङ्ग सकियो
चम्पाकली घर फर्किइन्
र छोरीलाई कम्लरी पठाइन् ।

३.
हाम्रो टोलमा नि मन्दिर छ
भक्तको भिड तछाडमछमड हुन्छ
श्रमदान मैले नि गरेँ
निर्माणको बेला
मुठ्ठीदान गरेँ मन खोलेर
उद्घाटन वाचक श्रीसन्तबाट भयो
टोलवासी सबैलाई बोलाए
बोलाएनन् वा सायद भुलभो निम्ता गर्न
तर पनि म भिडमा सामेल भएँ ।

४.
मन्दिरमा पुजारीले
सुशासन र पापपुण्यको कुरो गरे
गिर्जाघरमा
विश्वासीले पबित्रताको कुरो गरे
मस्जिदमा
मुल्लाहले जन्नतको कुरो गरे
चौराहमा नेताले
समानता र स्वभिमानको कुरो गरे
यी सबको भपाई मैले
जग्गा किन्दा अमिनलाई
लालपुर्जा लिँदा सेवकलाई
ऋण लिँदा रोक्का फाँटलाई
बिमारी हुँदा डाक्टरलाई
पासपोर्ट किन्दा दलाललाई
रासन किन्दा मिलावटलाई
धर्म गर्दा दान पेटिकालाई
धत्
कतिको नाम लिनु ?
समग्रमा
जनही सबैलाई
दान गरेर मुक्ति प्राप्त गरेँ ।

५.
जीवनको किस्सा
जीवनको भोगाई
बडो बिचित्रको छ
जहाँ जाला जीवन
वा
जसरी नि चल्ला भनेर नचल्दो रहेछ
नपाएसी मनको मान्छे
जस्ले देखाओस् घामको उज्यालो
अन्धकार हट्न समय लाग्दो रहेछ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार