
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समितिका सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापाले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरुद्धमा भएकोले यसको खारेजै गर्नुपर्नेमा जोड दिनुभयो । अमेरिकी सहायकमन्त्री डानाल्ड लूको नेपाल भ्रमणको विरोधमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले एमसीसी सम्झौता खारेज गर्नुपर्ने बताउनु भएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल तथा जबस मोर्चाको संयुक्त आयोजनामा गरिएको विरोध प्रदर्शन तथा सभालाई सम्बोधन गर्दै महासचिव थापाले एमसीसी विशद्ध विकास परियोजना नभएर अमेरिका जापान लगायतले चीनलाई घेर्ने रणनीति बमोजिम आएको पनि बताउनु भयो ।
उहाँले एमसीसी पास भए त्यो कानुन सरह हुने र नेपाली नागरिकको मृत्यु भएपनि कानुन नलाग्ने स्थिति हुने पनि दाबी गर्नुभयो ।
उहाँले संसदवादी दलका नेताहरुले नेपाललाई मगन्ते देशको हालतमा पु¥याएको चर्चा गर्दै मुलुकको सार्वभौमिकताको रक्षा र समृद्धिका लागि अब संघीय जनगणतन्त्रको स्थापना अपरिहार्य बनेको पनि बताउनु भयो ।
अहिलेको देउवा सरकारले ओलीले पनि ल्याउन नसकेको कानुन ल्याएर कालो धनलाई लगानी गर्न सक्ने बनाएको प्रसंग कोट्याउँदै अब संसदवादीहरुबाट देशको बर्बादी भन्दा अरु केही नहुने बताउनु भयो ।
विरोध कार्यक्रम माइतीघर मण्डलामा सम्पन्न भएको थियो ।




























