२०७२ सालको साउन १९ गते खाना खाइवरी म घर अगाडिको चोकको पसलमा कान्तिपुर पत्रिका पढिरहेको थिएँ । खल्तिमा रहेको मोबाइलमा कसैको फोन आयो । उठाएँ ।
“सर म लेखनाथ न्यौपाने, सञ्चै हुनुहुन्छ ?”
“अँ, मैले चिनिसकें, सञ्चै छु ।”
“अनि ज्ञवाली सरको फोन आयो ?”
“खै के हो छैन ।” मेरो जवाफ थियो ।
“हामी लिपु लेक जाने भयौँ । सञ्चो र फुर्सद भए जाउँ न त ।”
लेखनाथको आग्रह ।
म घुम्न मन पराउने मान्छे कुनै बेला खल्तिमा एउटा कविता बोकेर काँकडभिट्टासम्म पुगेको छु र कविता वाचन नगरी, फिर्ता भएको छु । त्यसैगरी एउटा कविता बोकेर दाङको घोराहीसम्म पुगेको छु । त्योभन्दा पर जाने अवसर खोजिरहेको बेला, नयाँ स्थलको प्रस्ताव आएपछि उत्साहित भएर सोधें – “खर्चपर्च के हो ?”

“बसको व्यवस्था गरिएको छ । पकेट खर्च खोज्नुस्न ।” लेखनाथले भने र कहाँ कहिलेको निक्र्योल गरेँ । योजना रहेछ २०७२ साउन २३ गते काठमाडौंबाट दार्चुला जाने । नाम रहेछ –“काठमाडौं दार्चुला अभियान ।”
म दार्चुला जाने भएँ ।
मन फुरफुर हुन थाल्यो ।
साँझ कान्छी छोरीलाई भनेँ ‘पर्सि म दार्चुला जान्छु’ ।
उ पिरिई – ‘घुँडा दुख्छ, रोगी मान्छे ….।’

“बसमा जाने हो म जान्छु ।” मेरो अठोट जारी भयो । जाने त जाने भइयो तर २३ गते तीनवटा कार्यक्रम जुध्यो । एउटा त्यही दिन जगतदाइ कि श्रीमतीको शोकसभा थियो । शोकसभापछि जनसांस्कृतिक महासङ्घको जिल्ला भेला अनि शारदा घर दैलोको निम्ता । तीनवटै विषयलाई मैले ओझेलमा पारेँ र यात्रामा जान तम्सिएँ ।

साउन २३ गते बिहान नौ बजेतिर खाना खाईवरी निस्कने तयारी गरेँ । बुढीया हिजैदेखि बेखुसी थिइन । कान्छी छोरी पनि अँध्यारी भई ।नारायणगढको पुल्चोकमा पुग्दा दिनको ११ बजिसकेको थियो । म सरासर जगत दाइकोमा पसेँ । कोरा बसेको घरमा झिनो चहल पहल बाहेक अरू केही छैन । रहँदा पर्खदा दिनको १२ बजे काठमाडौंबाट हिँडेको टोली नारायणगढ आइपुग्यो । सेता टोपीको पालीमा– ‘लिपुलेक हाम्रो हो, अखिल (क्रान्तिकारी)’, लेखिएको नारा सहित सयौँ युवा चोकमा उभिए । चितवन जिल्ला पार्टीले अविर र खादाले स्वागत ग¥यो । कोणसभा र बिहानीको खानापछि पश्चिमी यात्राको सुरुवात भयो । लम्जुङ्बाट आउनु भएका मोहनहरि पौडेल र म एउटै सिटमा बस्यौँ । अभियानका लागि ल्याइएका दुबै बस खचाखच थिए हामी हिड्यौँ । बसभित्र सबैजसो युवाहरू छन् । दाह«ी फूलेको एकजना म र तिलचामले मोहन बाहेक सबै तन्देरी । अझ नवलपरासीमा बस गुडिरहँदा अभियानका एक भाइले मुखै फोरे – “के तपाईंहरू बुटवल जाने हो ?” सोध्नुको तात्पर्य बसमा सिटको अभाव थियो । हामीले भन्यौँ– “होइन हामी यो अभियानमा सँगै हो ।” सेतै फुलेको कपाल देखेर सायद भाइहरूलाई अनौठो लाग्यो होला ।

सवा २ मा नारायणगढबाट गुडेको गाडी साढे चारमा बुटवल पुग्यो । छोटो कोणसभापछि गाडी फेरि अघि बढ्यो । यो अभियानको मूल उद्देश्य नेपाली भु–भागमाथि हुने विदेशी हस्तक्षेपको बिरुद्ध जनचेतना जगाउनु थियो । नेपाली भूमिमाथि भारतीय हस्तक्षेपको पीडा त छँदै थियो । अझ जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ समकक्षीबीच भएको सम्झौतामा लिपु भञ्ज्याङ्लाई व्यापरिक नाका बनाउने निर्णयले चिनियाँ पक्ष पनि नेपालप्रति इमान्दार छैन भन्ने बुझाउनु थियो र अभियान मार्फत् लिपुमा नेपाली झण्डा फहराउनु थियो । आफ्नो मुलुकमाथि असैह्य पीडा परेको बेला कुनै पनि देशभक्त चुप लाग्नु हुन्न भन्ने मान्यताले म पनि पछि लागेको थिएँ । बुटवल बजारको अस्पताल अगाडिको चोकमा छोटो कोणसभा भयो । सभामा अखिल क्रान्तिकारीका उपाध्यक्ष शेवन्त भण्डारीले अभियानको उद्देश्यबारे छोटो मन्तव्य दिए ।

साँझको ६ बजेपछि गाडी पश्चिम तर्फ गुडे । रूपन्देहीको पश्चिमी भु–भाग कटेपछि धर्तिमा अँध्यारो बाक्लियो । हाम्रो बसभित्रका साथीहरूबीच अन्ताक्षरी गीत, गजल र मुक्तक बाचनको सिलसिला चल्यो । कुचुक्क दोब्रिएका मोहन र म घरी हाँस्छौं, घरी इतिहासका दुर्दिन तिर पुग्छौं ।

मोहनहरि पौडेल जतिबेला गोरखा जिल्लाको सदरमुकामतिर पार्टीको जिम्मेवारी बोकेर आएका थिए म सदरमुकाममा थिएँ । त्यो समय २०५४ को थियो । गोरखा जिल्लाको शिक्षक सङ्गठनमा त्यस समय माओवादी साथीहरूको बाहुल्यता थियो र म शिक्षक सङ्गठनको कार्यालय सचिव थिएँ । हो मोहनहरि र मेरो चिनाजानी र सहकार्य त्यहीँबाट सुरु भयो । अहिले उनी माओवादी आन्दोलनप्रति गद्दारी गर्दै एमालेमा पसेका छन् । म भने पुनः मुसिको भवः भएको छु । म भूँइमान्छे, भूँइमै रमाएको छु ।

रातको नौ बजे हामी लमही पुग्यौँ । राजमार्गका धेरैजसो होटलहरू सेवामुखी भन्दा नाफामुखी हुन्छन् । अझ एकैपटक आइपरेका पाहुनाहरूका लागि दिनुपर्ने आधारभुत सेवा पनि पु¥याउन हम्मे पर्ने हाम्रो टीमका लागि जसोतसो खानाको मेसो मिल्छ । अब हाम्रो अगाडि ओच्छ्यानको समस्या आइलाग्छ । होटेलको सिह«ान तलामा रहेको हलमा सुत्ने प्रबन्ध त छ तर ओच्छ्यान देख्दै दिग्मिग लागेर आउँछ ।

प्रायः सबै मानिसको आधा आयु सुतेर बित्छ । दिनभरको थकाई, तनाव वा मोजमस्ती जे जे भएपनि ओच्छ्यान आरामदायी होस् भन्ने सबैको चाहाना हुन्छ र मेरो पनि छ । मेरी ठूली छोरीको घर दाङकै गोवरडियामा पर्छ । उनका ठूला जेठाजू लमहीमा बस्नुहुन्छ । मैले पनि मौकाको फाइदा लिने दाउमा फोन गरेँ । ल उहाँ त आइहाल्नु भो हामीलाई लिन । साथी मोहन र म लाग्यौँ त्यतातिर ।

भन्न त मान्छेहरू सादा जीवन र उच्च विचार भन्छन् तर हरेक व्यक्तिको जीवनशैली भने उसकै निजत्वमा भर पर्छ । खाने, पिउने वा आराम गर्ने आआफ्नै तरिका हुन्छन् । पाएसम्म मिठो खान पाइयोस्, ढुक्कले सुत्न पाइयोस् । प्राचिन चिनियाँ धर्म गुरु कङ्फुशियसले भन्ने गरेका थिए – ‘ढिडो वा रोटी एक पेट खाएर पाखुराको सिरान हाली सुत्न पाए पुग्छ’, तर हामी त्यो विचार मान्न कहाँ तयार हुन्छौं र ! हामी बेग्ला बेग्लै खाटमा ढुक्कले सुत्यौँ ।

लमही बजारमा बिहानीको घाम एकजूवा माथि चढ्यो । घामसँगै गर्मी चढ्यो । साउन महिना भएर पनि बादलको लस्को कतै देखिंदैन । यसो उसो गर्दा आठ त बजिहाल्यो । सानो कोणसभाको तयारी रहेछ ।

कोणसभामा पूर्व सभाषद् इन्द्रजीत थारुले केही गम्भीर सवाल उठाए । मस्यौदा संविधानमा उत्पीडित वर्गको हक अधिकारप्रति चार दलका नेताले देखाएको उदासिनता विरुद्ध आवाज उठाउनु पर्ने कुरा राखे । कोणसभामा एउटा गीतपछि कविता वाचनका लागि मेरो नाम बोलाइयो । मैले ‘अगस्ति दक्षिणतिर बस्छ’ कविता वाचन गरेँ । अभियानका अभियन्ता रत्न ढकालको सम्बोधनपछि हामी पश्चिम हानियौँ ।

दाङ क्षेत्रभरि बसमा गुडिरहँदा थुप्रै विषयहरूले मन घाइते भयो । दाङ जनयुद्धको उद्गम थलो रोल्पाको बेसी र २०५८ को फौजी कारबाहीको निशाना पनि हो । अझ २०६४ को चुनाव प्रचारमा जुटेका माओवादी युवाहरूको सामुहिक हत्याको घटनाले विक्षिप्त छ । मन भारी भएर आयो । दाङभित्र कति वीरहरूको शहादत भएको छ, त्यसको लेखा विस्तारै विस्मृत बन्दै गएको छ । ती योद्धाहरूको सपना कहिले साकार होला त्यो महाअभियानका अगुवा नै बाटो हगुवा भएपछि यसको जवाफ कहाँ पाउनु ?

अमिलियाबाट केही बेर गुडेपछि बाँके जिल्ला प्रवेश गरिएछ । छिटफुट बस्ती र घना वनको यात्रा गर्दै जाँदा अघिल्लो साँझ भालुवाङ्मा छोडेको राप्ती नदी हाम्रो बाटोसँगै समानान्तर पो बगिरहेछ । बसको झ्यालबाट हात फैलाउँदा पानीसँग मितेरी लगाउन सकिने जस्तै नजिकै बग्दो छ ।जङ्गलको बीचमा सानो बजार रहेछ । कुसुम बजार । त्यहाँ सबै सवारी साधन लामबद्ध छन् । प्रहरीले अघि जान दिएन । सुनियो– ‘हिन्दू अतिवादीले बाँके बन्द गरेका छन् ।’ कुसुम बजार नजिकैको प्रहरी चौकीमा २०५८ सालमा जुम्लाका मोहन भण्डारीको शाहदत भएको रहेछ । अघि बसमा आउँदा हाम्रो पछाडि बसेका उनका भाइ सुकेश भण्डारीले जानकारी दिए । हाम्रो मुलुकमा कयौँ प्रहरी चौकी यस्ता छन् जहाँ उत्खनन् गरियो भने दर्जनौं कङ्काल भेटिन्छन् तर ‘तेल पानी मिल्छ, पिना बाइलो’ भएझैं भएको छ ।

हाम्रो बस कुसुम बजारमा रोकियो । म सँगैको साथी मोहन पौडेल भन्दैछन् ‘दाइ पानी पिउनुस् ।’ तर सार्वजनिक वा रिजर्भ गरिएका सवारी साधनमा यात्रा गर्दा धेरै पानी पिउनु मेरो लागि कष्टकर हुन्छ किनकि त्यो साधन मेरो वशभर हुँदैन ।

कुसुमको चौतारोमा भोको पेटमा चुरोट चुस्दै छु । चौतारो नजिकैको गोठमा पालिएका मोटा मोटा खसी देखेर साथी मोहन भन्नु हुन्छ, ‘दाइ, यस्तो खसीको मासु पेटभर खाने रहर छ । उफ ! पार्टीको एउटा पूर्णकालीन नेताको यस्तो गुनासो ! मैले मेरा पिताज्यूको बाल्यकाल सम्झिएँ । उहाँ भन्नुहुन्थ्यो– ‘हाम्रो लागि मासुभात भनेको दशंैको मात्र हो ।’ एउटा कम्युनिस्ट पार्टीका होनाहार कार्यकर्ता र १९औं शताब्दीका मेरा पिताजीको अवस्थाले नेपालको वर्तमान आर्थिक विषमताको चित्र उतारे जस्तो लाग्यो ।

कुसुम बजारमा अडिएको हाम्रो साधन विना अनुमति अघि बढ्न निषेध थियो । बल्ल बल्ल १ बजेतिर हाम्रो यात्राको सुरक्षार्थ एउटा भ्यान अघि लाग्यो । बाँके जिल्लाको लोकमार्गभरि झैं हामी प्रहरीको निगरानीमा कोहलपुर पुग्यौँ ।

‘अगाडि गाडि जाँदैन ।’
‘बाँके बन्द छ ।’
‘हिन्दूवादीको बन्द हो ।’ बिहानै सुनिएको थियो ।
बसहरू रोकिएपछि हामी सबै ओर्लियौँ ।

कोहलपुर चोकमा पीत बस्त्रधारी महिला पुरुषको विरोध कार्यक्रम रहेछ । हेर्दै जाँदा देखियो पँहेलो कछाड बेरेको पुरुषको कम्मर समातेर केही अर्धनग्न युवतीहरू नाच्दै थिए । ‘यो पनि रामको, त्यो पनि रामको सारा संसार रामको म पनि रामको’ धन्य छन् हाम्रा चेलीहरू सारा संसार रामको हो भने रामराज्यमा किन धर्ना किन जुलुश ?

हामीलाई त्यहाँ बहस गर्नु थिएन । हाम्रो यात्राका सदस्यहरू लामबद्ध भएर नारा घन्कियो । ‘लिपुलेक हाम्रो हो’– “हाम्रो हो । हाम्रो हो ।” ‘भारत चीन होसीयार’ – “होसियार, होसियार ।” बस, हाम्रो टोलीको नारा र शक्ति देखेपछि बाटो खुल्ला भयो । हामी नेपालगञ्ज पुग्यौँ । मैले सुनेको थिएँ, पश्चिम नेपालको तराईमा गर्मी महिनामा तातो हावाले ‘लु’ ल्याउँछ तर हामी साउनको अन्त्यतिर पुगेका छौं । हप्हपी गर्मी नभए पनि शितल चाहिं कतै भेटिएन । बजार पूर्ण बन्द थियो । धम्बोजी चोकमा कोणसभा भयो । वरपर बसेका स्रोताहरू थुप्रै थिए । खाना खाएर पश्चिम लाग्दा दिनको चार बजेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार